
जुम्ला । खष भाषा साहित्य र नेपाली सभ्यताको उद्गम स्थल जुम्लाको सिञ्जा क्षेत्रलाई विशेष पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने भएको छ । आईतबार कर्णाली प्रदेश सरकारले सार्वजानिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा खष भाषाको उद्गम स्थल सिञ्जालाई विशेष पर्यटकिय स्थलका रुपमा विकास गरिने उल्लेख गरिएको हो ।
प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमको बुदाँ नं. २९ मा खष राज्यको प्रवर्तक नागराजको प्रतिमा स्थापना गरी खष राजधानी सिञ्जालाई विशेष पर्यटकिय स्थलका रुपमा दरबार क्षेत्रको विकास गर्ने व्यवस्था मिलाईने उल्लेख छ ।
एक वर्षमा १० हजार यूवालाई रोजगारी दिने,कर्णालीमा उत्पादीत वस्तुको ब्राण्डिङ,लेवलिङ प्याकेजिङ सहित बजारीकरण गर्ने,साक्षर प्रदेश घोषणा गर्ने,एक जिल्ला एक औधोगिक ग्राम देखी नमुना विद्यालय स्थापना गर्ने लगायतका विषयलाई नीति तथा कार्यक्रममा प्रथामिकता दिईएको छ ।
१७ पेजको १११ बुदाँको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले केहि पुराना नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । भने केहि नयाँ नीतिलाई समेटेको छ । समृद्ध कर्णाली,खुसी कर्णालीको नारालाई सफल बनाउन कर्णालीको जल,जमिन,जडिबुडि,कृषि,जंगलको परिचालन र तथा प्रशोधन गर्ने नीतिलाई समेत प्रथामिकता दिईएको छ ।
कृषि तथा पशु प्रविधिलाई कृषकलाई कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणा अनुसार मूल्यवान लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ, र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमको निरन्तरता दिइएको छ ।
यस्तै उत्पादनमुखी कृषकलाई प्रोत्साहन भन्ने मूल्यका साथ परिणाम तथा नतिजामा आधारित उत्पादन, सङ्कलन, ढुवानी र बजारीकरणमा सहयोग गरिनेछ । उद्योग स्थापनाका लागि लागत र परिणामको आधारमा स्थानीय तह, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
माछा, मासु, दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषि तथा पशुपक्षी बीमालाई थप प्रभावकारी बनाइने छ भने बैङ्क तथा वित्तीय संस्थाबाट दिएको कर्जालाई भूमिहीन, सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख परियारले बताए । ।