सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकले ‘कर्णाली प्रदेशसभा सञ्चालन नियमावली–२०७४’ संशोधनसहित पारित गरेको छ । नियमावली पारित भएपछि अन्तरिम कार्यविधिका भरमा काम गर्दै आइहरको प्रदेशसभा अब नियमावली बमोजिम विभिन्न कामकाजहरु सञ्चालन हुने भएको छ ।
मस्यौदा समितिका संयोजक सांसद सीता नेपालीले गएको शुक्रबारको बैठकमा नियमावली छलफलका लागि संसदमा पेश गरेकी थिइन् । मंगलबार बसेको बैठकमा सांसदहरु गुलाबजंग शाह, पद्मा खड्का, देवी ओली, विन्दमान विष्टले नियमावली माथिका केही वुदाहरु संशोधन गर्न सुझाएका थिए । सांसद खड्का र ओलीले नियमावली लैंगिकमैत्री बन्न नसकेको बताउदै समितिका सभापति हटाएर अध्यक्ष राख्न प्रस्ताव समेत गरेका थिए ।
सांसदहरुको सुझाव अनुसार संसदीय समितिका सभापतिलाई अब अध्यक्ष भनिनेछ । त्यस्तै, संशोधन प्रस्तावको समय ७२ घण्टा कायम गरिएको छ । मस्यौदा समितिका संयोजक सांसद नेपालीले पेश गरेको उक्त प्रस्ताव ध्वनी मतले पारित गरिएको थियो ।
यता, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पेश गरेको कर्णाली प्रदेशको आर्थिक कार्य्विधि विधेयक–२०७४’ माथि सैद्धान्तिक छलफल मंगलबार नै सकिएको छ ।
बैठकमा सांसदहरु चन्द्रबहादुर शाही, कुर्मराज शाही, दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, देवी ओलीले विधेयकमाथिको छलफलमा सहभागी भए । भने भोलीको बैठकले आर्थिक कार्यविधिलाई पारित गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा अनिवार्य सबै सांसदहरुलाई उपस्थिती हुन समेत आग्रह गरिएको छ । अन्य प्रदेश भन्दा कर्णाली प्रदेशले चैत्र अन्त्य तिरै बजेट ल्याउने उद्देश्य अनुसार काम भईरहेको छ ।