रारामा पूर्वाधार अभाव मुख्य चुनौती, कर्णाली रारा पर्यटन वर्ष – २०७५


मुगु — प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली रारा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेकै बेला यहाँको प्रमुख पर्यटकीय गन्तव्य रारामा भने पूर्वाधार अभावले चुनौती देखिएको छ ।
पर्यटकका लागि स्तरीय होटेल, सडक, विद्युत्, सञ्चार लगायतका पूर्वाधारको अभाव छ ।

रारामा पर्याप्त पूर्वाधार नहुँदा पर्यटकलाई लामो समय राख्न नसकिएको पर्यटन व्यवसायीले बताएका छन् । रारा तालको किनारमा पर्यटकको सुविधाका लागि डाँफे गेस्ट हाउस र भिलेज हेरिटेज रिसोर्ट सञ्चालनमा आएको भए पनि पर्याप्त छैनन् । दुई होटलमा दैनिक एक सय पर्यटक अट्ने क्षमता छ । माँझघट्ट र लामाचौरमा दुई दर्जन बढी होटेल सञ्चालन गरिएको भएपनि स्तरीय नहुँदा पर्यटकको रोजाईमा पर्न सकेका छैनन् । माझघट्टमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याए पनि मुस्किलले एक दर्जनमात्र पर्यटक अट्न सक्छन् ।

दैनिक एक सय बढी पर्यटक आए खानपिन र बास बसाउन समस्या हुने गरेको भिलेज हेरिटेज रिसोर्टका म्यानेजर दीपक रावतले बताए । ‘कोठामा नअटेका पर्यटकहरूलाई चौरमा टेन्ट राखेर सुताउनुपर्ने अवस्था छ,’ उनले भने, ‘राराताल आसपास सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई शौच गर्नै समस्या छ । मुर्माटप जाने र चुचुमार लेकमा जाने बाटो राम्रो र फराकिलो नहुँदा पर्यटकलाई आउजाउमा समेत सास्ती छ ।’ उनले विद्युत् र इन्टरनेटको समस्या समेत रहेको जनाए । ‘सोलार’ बाट मोबाइल र क्यामराको ब्याट्री चार्ज गर्नुपर्ने समस्या रहेको उनको भनाइ छ ।

रारामा पूर्वाधार निर्माण नभएकाले घुम्न आएका पर्यटकहरू दुई दिनभन्दा बढी राख्न नसकिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । उनका अनुसार रारामा तीनवटा मात्र रबरको डुंगा छन् । तालमा रमाउन पर्यटकले पालो कुर्नुपर्ने अवस्था रहेको रोकायाले जनाए । पर्यटकलाई सुविधायुक्त होटलको वयवस्था गर्न नसक्नु सबैभन्दा ठूलो समस्या रहेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । तीन डुंगा रारा राष्ट्रिय निकुञ्जको कार्यालय सञ्चालन गर्दै आएको छ ।

रारा आउने मार्ग
रारा आउनका लागि हवाई र सडक यातायात दुवैको व्यवस्था भए पनि भरपर्दो छैन । नेपालगन्जदेखि मुगु विमानस्थलसम्म आउन ३५ मिनेटको हवाई दूरी छ । विमानस्थलबाट रारासम्म गाडीबाट आधा घण्टा र पैदल दुई घण्टा लाग्ने गरेको छ । त्यस्तै कर्णाली राजमार्ग हुँदै सडक मार्गबाट डेढ दिन लाग्ने यातायात व्यावसायी बताउँछन् । सवारी साधनमार्फत नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला नाग्मा सिंजा हँुदै रारा पुग्न सकिन्छ । सडक मार्गबाट आउने पर्यटकहरूले बाटोमा राम्रो होटेलको व्यबस्था नभएको गुनासो गर्दै आइरहेका छन् । हवाई मार्गबाट नेपालगन्ज हुँदै रारा आउजाउ गर्न र दुई दिनसम्म घुम्न करिब २५ हजार खर्च हुने गरेको छ । विमान कम्पनीहरूले नेपालगन्जदेखि रारा आउने हवाई भाडा ८ हजार ५ सय र फर्किंदा ५ हजार तोकेका छन् । नेपालगन्ज–सुर्खेत हुँदै गाडीमार्फत रारा पुग्न एकतर्फी भाडा २ हजार ५ सय छ । भिजिट कर्णाली र रारा एडभेन्चर प्रालिले रारा भ्रमणमा आउने पर्यटकका लागि नेपालगन्जबाट व्यवस्थापनको काम गर्दै आइरहेका छन् ।

पर्यटकलाई रारासम्म आउजाउका लागि हवाई सेवा, गाडी र जिपको व्यवस्था गरिएको भिजिट कर्णालीका कार्यप्रबन्धक राजु कार्कीले बताए । त्यस्तै सुदूरपश्चिमबाट पनि पैदल मार्ग हुँदै रारा पुग्न सकिन्छ । साँफेबगर–बाजुरा–मार्तडी–परेखे लेक हँुदै बाजुरा र कोल्टीबाट रारा आउन एक साता लाग्ने गरेको छ ।

राराको आकर्षण
रारा ताल समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइमा छ । यसको गहिराइ १ सय ६७ मिटर छ । त्यस्तै रारा १० दशमलव ८ वर्ग्किलोमिटर क्षेत्रमा फैलिएको छ ।

२०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तीन प्रकारका हिमाली असला माछा, दुई सय २४ प्रकारका वनस्पति र २ सय ७२ प्रकारका चरा पाइन्छन् ।

प्राकृतिक सौन्दर्य, जडीबुटी, वन्यजन्तु, चरा, असला माछा लगायतले राराको गौरव बढाएको निकुञ्जका अधिकृत चन्द्रशेखर चौधरीले बताए । निकुञ्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपान्डा पाइन्छ । गुच्ची च्याउ, पाँचऔंले कुटकी, सुगन्धवाल लगायत विभिन्न प्रकारका जडीबुटीसहित कोणधारी जंगल निकुञ्जको आकर्षण रहेको उनले जनाए ।

सम्भावना
रारामा पर्यटकीय सम्भावनाका साथै खेलकुद र धार्मिक तीर्थस्थलको सम्भाव्यता रहेको जानकारहरू बताउँछन् । रारा ताल वरिपरि म्याराथुन लगायतका प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । मुर्माटप चुचुमारेदेखि मिलीचौरसम्म प्याराग्लाइडिङ गर्न सकिने उनीहरूको भनाइ छ । ‘रारामा विभिन्न खेलकुद गर्न सकिने सम्भावना छ । सरकारको नजर नपुग्दा ओझेलमा परेको देखिन्छ,’ अन्तर्रा्ष्ट्रिय म्याराथुन धावक हरिबहादुर रोकायाले भने, ‘रारामा हरेक महिना एउटा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सके पर्यटकको ओइरो लाग्छ ।’

त्यस्तै रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा होमस्टे सञ्चालन, फलफूल र जडीबुटी खेती गर्नसके स्थानीयको आयस्रोतमा वृद्धि हुने सम्भावना छ । माटो सुहाउँदो अन्नबाली र फलफूलको अर्गा्निक खेतीमा जोड दिनुपर्ने मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहनीले बताए ।

यसैगरी रारा ताल वरपर करिब ७ बढी धार्मिक मठमन्दिरहरू छन् । ठाकुरज्यूको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलेवता मन्दिर भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । रारा आएका पर्यटकलाई धार्मिक स्थलसम्म पुर्‍याउन सके पर्यटकीय र धार्मिक महत्त्वसमेत बढ्ने मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए । रारालाई धार्मिकस्थलको रूपमा विकास गर्न सके भारतीय पर्यटकको ओइरो लाग्ने उनले बताए ।

पर्यटकको संख्या बढ्दै
दुई वर्षयता रारा भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष १२ हजार बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । त्यस्तै डेढसय पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म करिब ८ हजार बढी पर्यटकले राराको भ्रमण गरिसकेका छन् । पूर्वाधारको समस्यका कारण बाह्य पर्यटकको आकर्षण बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

आन्तरिक पर्यटकको संख्यामा बर्से्नि वृद्धि भइरहेको निकुञ्जका संरक्षण अधिकृत चौधरीको भनाइ छ । आन्तरिक पर्यटकबाट प्रवेश शुल्क लिने गरिएको छैन । विदेशी न्यून आउने गरेकाले राजस्वमा वृद्धि हुन नसकेको उनको भनाइ छ ।

आर्थिक समृद्धिका लागि पर्यटन वर्ष
आर्थिक समृद्धिका लागि रारा कर्णाली पर्यटन वर्ष मनाउन लागिएको कर्णाली प्रदेशका मन्त्रीहरूले बताएका छन् । मंगलबार बिहान पर्यटकीय गन्तव्य रारा तालको किनारमा आयोजित पत्रकार सम्मेलनमा राज्यबाट पछि परेको, गरिबी र भोकमरीले पीडित बन्दै आएको कर्णाली क्षेत्रको समृद्धिलाई पर्यटनबर्षसंग जोडिएको उनीहरूले बताए ।

रारा कर्णाली पर्यटन बर्षमा ५ लाख पर्यटक कर्णाली भित्र्याउने लक्ष्य रहेको कर्णाली प्रदेशका वन तथा पर्यटन मन्त्री नन्दसिह बुढाले बताए । उनले यसबाट आर्थिक रुपले फाइदा लिनसके मुगु र कर्णाली प्रदेशको हित हुने बताए । उनले रारामा पर्यटक भित्रन थालेपछि मुगुको स्थानीय उत्पादन बिक्री हुने, लगानीकर्ता आउने र युवाहरूले रोजगार पाउने बताए । ‘पर्यटनले गर्दा बिदेशी मुलुक आर्थिक समृद्धीमा लम्किएका हुन्,’ उनले भने, ‘निजी लगानीबाट निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा होमस्टे संचालन गर्न जरुरी छ ।’ रारामा आन्तरिक तथा बाह्य पर्यटक रमाउने खालको पूर्बाधार निर्माणको लागि प्रदेश सरकारले ५ बर्षे गुरुयोजना तयार गरेको उनको भनाइ छ ।

वैशाख १ गते रारा पर्यटन वर्ष उद्घाटनको क्रममा सञ्चार क्षेत्रमा पहुँच पुर्‍याउन फ्रि वाइफाई जडान गरिने तयारी छ ।

लुम्बिनी हुँदै डोल्पा शे–फोक्सुन्डोदेखि रारासम्म र त्यहाँबाट मानसरोवरसम्म पर्यटकीय मार्ग निर्माण गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । ‘जुम्लाको सिंजा, मुगुको रारा ताल, डोल्पामा से–फोक्सुन्डो, कालीकोटको नाङ्जा छहरा र हुम्लाको हिल्सालाई प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ,’ उनले भने, ‘विगतका वर्षहरूमा रारामा धेरै सम्मेलन र महोत्सवको आयोजना गरिएको भए पनि फलदायी हुन सकेन । त्यसैले प्रदेश सरकारले आफै अभियानको सुरु गर्न थालेको हो ।’ रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले अर्गा्निक तरकारी र फलफूल उत्पादनलाई जोड दिनुपर्ने उनको सुझाव छ । रारा पर्यटन वर्ष सुरु भएको केही महिनामै रारामा विद्युत् पुर्‍याउन प्रदेश सरकारले पहल गर्ने उनले जनाए ।

 

कान्तीपुरबाट

तपाईको प्रतिक्रिया