प्रधानमन्त्री ओली दिल्लीमा, एयरपोर्टमा स्वागत गर्न पुगे राजनाथ


नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणकालागि आज दिल्ली आइपुगेका छन् । नेपाल एयरलायन्सको विमानबाट बिहान १०.४५ मा आइपुगेका ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरे ।

ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तिय राज्य मन्त्री शिवप्रताप शुक्ल र नेपाली दूतावासका तर्फबाट कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरेको छ ।

विमानस्थलबाट ओली सिधा राष्ट्रपति भवन पुगेर केही बेरको आरामपछि धौलाकुँवा स्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समयतालिका फेरबदल नभएमा प्रधानमन्त्री ओलीलाई भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवनमा आजै भेटने कार्यक्रम रहेको बुझिएको छ । त्यसैगरी भारतीय जनता पार्टीको नेताहरुले ओलीसँग अनौपचारिक भेटघाट गर्ने बुझिएको छ ।

त्यसैगरी साँझ नेपाली दूतावासको प्राँगनमा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै साँझ नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना आयोजना गर्ने रात्रीभोजमा सहभागी पछि प्रधानमन्त्री ओलीको आजको कार्यक्रम सकिने छ । ५४ सदस्यको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा आएका ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादब लगायत सहभागी छन् ।

तपाईको प्रतिक्रिया