कवाडीवालीको फोर्ब्सयात्रा


विशालनगर बस्ने मुकेशकुमार यादव बिहानै उठेर आफ्नो साइकलमा खालीसिसी र पुराना कागज बटुल्न हिँड्छन्। उनी घुम्ने जक्सन हो, चक्रपथ, बालाजु, कलंकी, हात्तीसारलगायतका स्थान। त्यहाँ पुगेर कवाडीका सामान खोज्छन् उनी। भारत बिहारस्थित मोतीहारीका मुकेशले कवाडीको काम गर्न थालेका १८ वर्ष बित्यो।

खालीसिसी डट कमसँग आबद्ध भएर काम गर्न थालेपछि उनलाई सहज भएको छ। उनको दैनिक कमाइ पनि बढेको छ। दिनमा प्रायः आठ, नौ सयको व्यापार हुन्छ। कहिलेकाहीँ त १२, १३ सयसम्म पनि पुग्ने उनले बताए। यसरी खालीसिसीमार्फत काम गर्दा आफ्नो कमाइमा मासिक तीनदेखि चार हजारसम्म वृद्धि भएको उनको भनाइ छ।

हिजोआज मुकेशजस्तै करिब एक सय ५० जना खालीसिसी र पुराना कागजलगायतका कवाडीमा काम गर्ने व्यक्तिहरू खालीसिसी व्यवस्थापन प्रालिसँग आबद्ध भएर काम गरिरहेका छन्। कम्पनीले सञ्चालन गरेको खालीसिसी डट कममार्फत उनीहरूले रिङरोडभित्रका क्षेत्रमा कहाँ कस्ता फोहोरहरू छन् भन्ने जानकारी मोबाइलको एप्समार्फत थाहा पाउँछन् र आफूलाई पायक पर्ने ठाउँमा पुगेर संकलन गर्छन्।

फोहोरमा सरकारीदेखि गैरसरकारी र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संघसंस्थाले धेरै लगानी गरिरहे पनि काठमाडौंको फोहोर रत्तिभर कम भएको छैन। त्यसैले यस अव्यवस्थित क्षेत्रलाई व्यवस्थित बनाएर व्यवसायकै रूपमा लैजान काठमाडौंकी आयुषी केसीले खालीसिसी डटकम सुरु गरेकी हुन्। उनको यही नौलो सोचका कारण हालै उनी विश्व प्रसिद्ध पत्रिका फोर्ब्सको ‘३० मुनिका ३०’ अन्तर्गतको सामाजिक उद्यमीमा पर्न सफल भएकी छिन्।

खालीसिसी दर्ता गर्न जाँदा कार्यालयका कर्मचारीले ‘कवाडीवाला’ भनेर दर्ता गरिदिए।

जोसँग फोहोर छ उसैसँग खालीसिसी बटुल्ने व्यक्तिहरूलाई पुर्‍याउन आफूले डिजिटल प्लाटफर्म मात्रै प्रधान गरेको आयुषीले बताइन्। फोहोर कोसँग हुँदैन र, त्यसैगरी हिजोआज व्यस्त नहुने पनि को होला र ? यस्तो अवस्थामा ‘म यो दिन खाली हुन्छु’ भनेर कसैले खालीसिसीमा सम्पर्क गरे खालीसिसीका दाइहरू त्यहाँ गएर फोहोर संकलन गर्ने गर्छन्। कतिपयलाई खालीसिसीले कमिसन लिने हुनाले यसको मूल्य अलि कम होला कि भन्ने भ्रम हुन्छ। तर नभई, फोहोरको मूल्य बजारको भाउअनुसार नै हुने आयुषीले प्रष्ट्याइन्।

सुरुमा उनको घरवरिपरि दुईतीन जना खालीसिसी बटुल्ने व्यक्तिहरू हिँड्ने गर्थे। त्यसैगरी जावलाखेलमा एक र न्युरोडमा एक गरी उनले व्यवसाय सुरु गरेकी हुन्। सुरुमा उनी आफैं पनि ती कवाडी बटुल्ने दाइहरूसँगै हिँड्ने गर्थिन्। ‘चिच्याएर नै त हिँड्ने होइन, तर मोनिटर त गर्नुपर्‍यो नि। के के फोहोर निस्कन्छ। उहाँहरूको साइकोलोजी के छ, दाइहरूको साइकोलोजी के छ, एक ठाउँबाट अर्को ठाउँमा जान कति लाग्छलगायतका सानो सानो डिटेल्स बुझ्नलाई म आफैं हिँड्ने गर्थें’ उनले भनिन्।

सुरुमा उनको कार्यालय घरको छानोमुनि थियो। उनकी सासूले छुट्टै अफिस बनाइदिन्छु समेत भनेकी थिइन्। त्यसपछि अर्को ठूलो अफिससँग सानो अफिस बाँडेर पनि उनले केही समय काम चलाइन्। फोहोरमा काम गर्ने भनेपछि कोठा दिन पनि हिचकिचाउने हुनाले आफ्नो कार्यालयको लागि कोठा खोज्न उनलाई निकै गाह्रो पर्‍यो। दुई महिना फोनकै भरमा काम गरिन्। कहिलेकाहीँ रेस्टुरेन्टमा भेटेरै पनि काम हुन्थ्यो। अहिले पाँच जना स्टाफ र चण्डोलमा एउटा फ्ल्याट लिएर काम सुरु गरेकी छिन्।

बथगकजष्

पहिले आफ्नै चिने जानेको साथीभाइबाट सुरु भएको संकलन कार्यको दायरा हाल फराकिलो भएको छ। खालीसिसीको आईडी कार्ड लिएर हिँड्नेहरूले बेलायती, फ्रान्सेलीलगायतका दूतावास, तुसारा, अक्टेभलगायतका रेस्टुरा, गोर्खा ब्रुअरी, ट्रेडिसनल कम्फर्ट होटेल आदिमा छिरेर फोहोर किन्न थालिसकेका छन्। सरकारी कार्यालयको कुरा गर्ने हो भने हालै स्वास्थ्य मन्त्रालयबाट पनि खालीसिसीले फोहोर उठाइसकेको छ। धेरै अपार्टमेन्ट र विद्यालयहरूसँग पनि कम्पनीले काम गर्दै आएको छ।

‘नजिक नजा भैयाको छेउमा, बोरामा हालेर लैजाला’ पहिले कवाडीवालाहरूप्रति केटाकेटीलाई यस्तो डर देखाइन्थ्यो। अहिले बालबालिकाले विश्वभर भएका प्रविधिका विकास जाने पनि आफ्नै देशका समस्या बुझेका हुँदैनन्। उनीहरूलाई फोहोर के हो र ल्यान्डफिल्ड के हो भन्ने थाहा छैन। त्यसैले उक्त कम्पनीले स्कुल टु स्क्र्यापयार्ड भन्ने कार्यक्रम चलाउँदै आएको छ। यसमा बालबालिकालाई सीधै खालीसिसी दाइहरूसँग सम्पर्क गराइदिने काम गरिन्छ।

बच्चाले रुचिपूर्वक यस्ता धेरै प्रश्नहरू गर्छन्, ‘यो किन रिसाइकल हुँदैन, त्यो कसरी रिसाइकल हुन्छ, दिनमा कति फोहोर बोक्न सक्नुहुन्छ ? ’ यसरी विद्यार्थीले जिज्ञासा राख्दा मसँग पनि केही छ है सिकाउन भनेर खालीसिसी दाइहरू पनि निकै उत्साहित हुने गरेका आयुषीले बताइन्। कक्षा तीनदेखि १० सम्मका बालबालिका यो कार्यक्रममा संलग्न हुने गरेका छन्।

गर्मीका फोहोरमा धेरै सिसाका बोतलहरू हुन्छन्। अहिले विद्यालयको अर्को सेसन सुरु हुने बेला भएकाले कागजको फोहोर पनि त्यत्तिकै हुन्छ। साथै कतै घर भत्काउँदै छन् भने कवाडीका सामान पनि धेरै हुन्छन्। यसरी फोहोर भएका ठाउँका बारेमा फोन वा एप्समार्फत जानकारी दिएमा जो नजिक हुन्छन् तिनै जाने गर्छन्। यदि उनीहरूलाई फुर्सद छैन भने अर्कोलाई पठाइन्छ।

खालीसिसी दाइहरूमध्ये धेरैजसोसँग स्मार्टफोन त के सामान्य फोन पनि नभएकाले काम गर्न अलि कठिनाइ परेको छ आयुषीलाई। भर्खरै उनीहरूलाई गुगल म्याप हेर्न सिकाएकी आयुषी प्रविधिको दुनियाँमा कसरी उनीहरूलाई अगाडि बढाउने भन्नेमा पनि लागेकी छिन्।

खालीसिसीसँग आबद्ध भएर काम गर्न थालेपछि खालीसिसी दाइहरूका जीवनस्तरमा पनि निकै सुधार भएको छ। उनीहरूको करिब ३० देखि ३२ प्रतिशत आम्दानी बढेको छ। त्यसैगरी विद्यालयका बालबालिकाबीच कार्यक्रम चलाउँदा उनीहरूलाई आफ्नो कामप्रति मनोवैज्ञानिक रूपमा हौसला पनि मिलेको पाइन्छ। पहिले मिटिङ हुँदा जिस्क्याएर अर्को अफिसको मानिसले ‘ऊ आयो मिटिङको लागि आयुषीको भैया’ भन्थे।

तर अहिले भैयाबाट मुकेश, सुरेश, सुरेन्द्रमा उनीहरूको परिचय बदलिएको छ। फेसबुकमा फोटो हालिन थालेपछि उनीहरूलाई धेरैले चिन्न थालेका छन् भने कम्पनीले बनाइदिएको आईडी कार्डले उनीहरूले कूटनीतिक नियोगको कार्यालयदेखि ठूल्ठूला होटेलमा पनि सजिलै प्रवेश पाउने गरेका छन्।

दिनमा २० रुपैयाँदेखि लाखौं लाखसम्मको पनि कारोबार पनि गर्छ। पूरै घर भत्काउने काम आयो भने २०, २५ लाखको कारोबारसमेत हुने आयुषी बताउँछिन्। खालीसिसी दाइहरूले कम्पनीसँग पार्टनरको रूपमै काम गर्ने भएकाले उनीहरूले आफ्नो कमाइको केही प्रतिशतमात्रै कम्पनीलाई दिने व्यवस्था छ। यदि कसैले फोहोरको दान दियो भने त्यसबापतको नगद बराबरको दस प्रतिशत रकमले उनीहरूकै समुदायका बालबालिकालाई छात्रवृत्ति दिने व्यवस्था गरिएको छ।

काठमाडौंबाट मात्रै दैनिक पाँच लाख किलो फोहोर निस्कन्छ। कम्पनीले हाल रिङरोड र वरिपरि मात्रै काम गरिरहेकोको निकट भविष्यमा नै राष्ट्रिय रूपमा जाने योजना बनाएको छ। साथै आगामी ६ महिनाभित्र अर्गा्निक फोहोरमा पनि काम गर्ने सोच उनको छ।

आयुषीले मार्के्टिङ विषयमा स्नातक पास गरेकी हुन्। पढाइ सकाएर एफएनसीसीआई, गोर्खा ब्रुअरी, यूएसएडलगायतमा काम गरिसकेकी आयुषी पहिलेदेखि वातावरणको क्षेत्रमा काम गर्न इच्छुक थिइन्। फोहोरमा काम गर्न धेरैसँग सल्लाह गर्दा एनजीओ र आईएनजीओको विचार मात्रै दिए, यसलाई व्यापारको रूपमा लैजान कसैले सिकाएन।

त्यसैले उनी आफैंले सुरु गरिन् खालीसिसी। अहिलेसम्म उनले आफ्नै खल्तीकै पैसाले अफिस सञ्चालन गरिरहेकी छिन्। तर पनि अब मार्केटमा पैसा उठाउँदा उठ्छ र फोहोरलाई व्यापारको रूपमा लैजान सकिन्छ भन्नेमा उनी विश्वस्त छिन्। यही ‘प्रुफ अफ कन्सेप्ट’ ले आफूलाई व्यापार विस्तार गर्न सहज हुने उनले बताइन्।

हिजोआज धेरैले सरकारले काम गरेन भनेर दोष लगाउने गर्छन्। तर आयुषीका अनुसार सरकार कहाँ जाँदा कुनै ठोस योजना लिएर गरेको कामलाई कसरी दिगो बनाउने भनेर गृहकार्य गरेर जानुपर्छ। सरकार पनि विश्वमा आइरहेका नयाँ प्रविधिमा आफू अपडेट हुनुपर्ने उनले बताइन्। उनले खालीसिसी दर्ता गर्न जाँदा कार्यालयका कर्मचारीले ‘कवाडीवाला’ भनेर दर्ता गरिदिए।

फुर्सदमा दुनियाँमा के भइरहको छ भनेर नयाँ प्रविधिको बारेमा पढ्न उनलाई मन लाग्छ। हाल ‘गुट टु ग्रेट’ नामक किताब पढिरहेकी आयुषी राम्रोबाट अझै राम्रो कसरी बन्ने भन्ने यही किताबबाट सिक्न चाहन्छिन्। हिजोआज धेरै युवाले आमाबाबुले यो गर्न दिएनन्, त्यो गर्न दिएनन् भनेर बहाना बनाउने गरेकाले यस्तो बहानाबाजी छाड्न सुझाब दिन्छिन्। आफ्नो क्षमताभन्दा धेरै कम मात्रामा काम गरिरहेका त्यस्ता युवालाई आयुषी यसो भन्छिन्, ‘अहिले काम चालीस पछि मात्रै आराम।’

फोर्ब्सको सूचीमा आफू परौंला भन्ने उनले सोचेको पनि थिइनन्। पहिले फर्म भरेपछि उनीसँग कम्पनीको पूरै विवरण मागिएको थियो। यही क्रममा इमेलको आदानप्रदान महिनौंसम्म भएको थियो। तर अब महिलाले नेतृत्व गरेको नेपालको एक कम्पनी पनि अन्तर्रा्ष्ट्रिय जगत्मा परिचित भयो भन्दा उनलाई निकै खुसी लागेको छ।

काठमाडौंभरि करिब १३ हजार खालीसिसी दाइहरू छन्। उनीहरूलाई कम्पनीको नेटवर्किङमा कसरी ल्याउने भन्नेमा उनी लागेकी छिन्। हाल फोहोरको व्यवस्थापनमात्रै गरिरहेको कम्पनी रिसाइकिङमा जाने हो नजाने भन्नेमा पनि उनी सोचिरहेकी छिन्। ‘इन्ट्रेस्टिङ छ यो फोहोरको दुनियाँ’ उत्साहित हुँदै आयुषीले भनिन्।

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया