बढ्दै छ कलाको बजार


बुधबार, १७ माघ २०७४

नारायणगढ स् नेपाली समाजमा चित्र किन्ने बानीको विकास भएको छैन। कलाकारले दुःख गरेर बनाएका चित्र बिक्री नहुँदा कलाप्रति कलाकारको वितृष्णा जाग्ने गरेको छ। नेपाली कलाको व्यावसायिक बजार विकास हुन सकेको छैन। तर, केही वर्षयता कला बिक्न थालेको बताउँछन् गैंडाकोटका चित्रकार भीमप्रसाद शर्मा। शर्माले गत भदौमा १० लाख रुपैयाँको चित्र बिक्री गरे।

उनले एउटा चित्रलाई ७५ हजारसम्ममा बिक्री गरे। नेचर आर्टस् फेस्टिभलमा उनले आफ्ना चित्र बिक्री गरेका हुन्। गत वर्ष पनि उनले काठमा कोरिएका करिब चार सय चित्र बिक्री गरेका थिए। अझै पाँच सय चित्रको माग आएको उनले बताए। कुनै बेला एउटा पनि चित्र नबिक्दा निराश भएका शर्मा केही वर्षयता चित्र बिक्न थालेपछि उत्साहित भएका छन्।

‘पहिला विदेशी पर्यटकले मात्र चित्र किन्थे। अहिले नेपालीले पनि किन्न थाले’, शर्माले भने, ‘अहिले उत्साहित छु’। उनले सातवटा एकल चित्रकला प्रदर्शनी गरिसकेका छन्। चारवटा प्रदर्शनी विदेशमा पनि गरे। आफैंले कलावती आर्टस् सेन्टर स्थापना गरेका छन्। क्यानडामा गरिएको प्रदर्शनीमा नेपाली डेढ लाखमा एउटा चित्र बिक्री भएको उनले बताए।

उनको जीवनका ३५ वर्ष चित्र बनाएर बित्यो। सरकारी विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएर चित्र बनाउन लागेका हुन् उनी। उनले अहिलेसम्म करिब सात हजार चित्र बनाए। तीमध्ये कमै मात्र चित्र बिक्री भएका छन्।

नारायणगढका कलाकार प्रकाश थापा ‘प्रथा’ ले नेपाली कलाले बजार पाउन नसकेको गुनासो गरे। २९ वर्षदेखि कलाकारितामा लागेका उनले थुप्रै चित्र बनाए। बालुवाको चित्र बनाउन सिपालु थापा चितवनमा कहलिएका चित्रकार हुन्। ‘घर सजाउन चित्र राख्नुपर्छ भन्ने मानिस देखिन थालेका छन्’, उनले भने, ‘चित्रमा भएको लगानीका हिसाबले मूल्य राख्न पाएका छैनौं।’ उनले ३५ हजारसम्मको चित्र बिक्री गरेका छन्।

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी भने राज्यस्तरबाटै चित्र किन्ने नीति बनाउनुपर्ने सुझाव दिन्छन्। ‘प्रत्येक घरमा चित्र राख्ने अभियान थाल्नुपर्छ’, विनोदीले भने, ‘कोठाकोठामा प्रकृतिको विम्ब देखिनु जरुरी छ।’ वास्तुविद्ले पनि घरको वास्तुअनुसारको चित्रको महत्व बुझाए हरेक घरमा कला भित्रिने उनको सुझाव छ। उनी पनि कुशल चित्रकारको रूपमा चिनिन्छन्।

चितवन र नवलपरासीमा चित्र बनाउने कलाकार थुप्रै छन्। कलाकारिता राम्रो भए पनि आम मानिसमा कलाको महत्व बुझाउन सकिएको छैन।

तपाईको प्रतिक्रिया