जुवा, यस सम्वन्धी कानुन र कार्यान्वयनको पक्ष


अधिवक्ता पदमबहादुर शाही
केन्द्रिय सदस्य, नेपाल वार एशोसिएशन

भनिन्छ “जुवाको हार मिठो तमाखुको खार मिठो” । यस भनाईले जुवा जति हा¥यो त्यत्ति नै खेल्न मन लाग्ने र तमाखु पनि जव सकिंदै जान्छ अन्तिमको भाग (खार) त्यति नै स्वादिलो हुन्छ भन्ने अर्थ लाग्दछ । जुवालाई कसैले खेलको रुपमा अर्थ लगाउँछन् भने कसैले लत (नशा) हो पनि भन्दछन् । हुनतः यो श्रृष्टिका सवै चिजमा केही न केही नशा हुन्छ, त्यसैले प्राय मानिसहरु कुनै न कुनै कुराको लतमा फसेका हुन्छन् । कोही मादक पदार्थ लागु औषध सेवन गर्ने, कोही क्यारेमबोर्ड, कोही पुल स्नुकर खेल्ने, कोही डिस्को बारमा जाने लतमा त कोही सिनेमा सिरियल हेर्ने, कोही पुस्तक पत्रपत्रिका अध्ययन गर्ने, कोही झुण्डमा बसेर अरुका कुरा काट्दै बस्ने लगायत यस्तै यस्तै थुप्रै कुराको लतमा लागेका हुन्छन् । तर सवै लतहरु अपराध हुँदैनन् जुन लत वा नशाले व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई हानी नोक्सानी पु¥याउँदछ त्यस्ता कार्यलाई कुलत या अपराधिक कार्य मानेर राज्यले कानुन बनाई नियन्त्रण गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनद्धारा दण्डनीय बनाउँदछ । जुवा एक सामाजिक अपराध हो, यो सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर हो । त्यसैले राज्यले यसलाई नियन्त्रण गर्न कानुन बनाएर कडाईका साथ लागु गर्दै आएको छ ।

प्राचिन युगमा समेत जुवा खेल्ने गरिएका दृष्ट्रान्त छन् । महाभारत कालमा पाण्डव र कौरब बीच पनि जुवा खेलिएको र सो जुवामा पाण्डवहरुले आफ्नो सम्पुर्ण चल अचल सम्पति, शस्त्र अस्त्र, पदवी र अन्तमा आफ्नी श्रीमति द्रौपति (पांचाली)लाई समेत जुवाको दाउमा थापेर हारेको कथा सुन्न पाईन्छ । शायद त्यसैको सिको गरेर होला हाम्रै गाउँ समाजमा समेत कसै कसैले आफ्नो नगद, घडी, औंठी, सिक्रि, जग्गा जमिन, जौं गौं का भल्का (खात), दाउराका खात, जोत्न लिएका हलगोरु, दुहुना (लैनो) भैंसी त्यतिमात्र हैन आफ्नी श्रीमति समेत जुवाको दाउमा राखेर हारेका भन्ने घटनाहरु सुनिन्छन् । त्यति मात्र हैन कुनै जुवा खेल्ने मानिसको बाबु बिरामी हुँदा समेत घर नगएको र उपचार नपाई बाबुको मृत्यु भई सक्यो आउनु प¥यो भन्ने खवर आउँदा समेत मशानघाटमा लिंदै गर्नु म मशानघाट मै आउँछु भनेर जुवा खेल्दै गरेको कहानी जुवाको कुरा उठ्दा प्रायजसो मानिसहरुले भन्ने गरी आएको पाईन्छ ।
जुवा खेल्नु कुनै पनि दृष्ट्रिबाट राम्रो मान्न सकिदैंन किनकि यो एउटा कुलत हो । यसले व्यक्तिको स्वास्थ्य, मान प्रतिष्ठा र आर्थिक अवस्थामा समेत नकारात्मक असर पारेको हुन्छ । जुवा खेल्दा खाना र निन्द्राको ठेगान हुँदैन, दिशा पिशाव रोकेर लामो समय एकै ठाउँमा बसिन्छ । जसको कारण ग्याष्ट्रिक, अनिन्द्रा, मृगौला खराव हुने, ढाड दुख्ने, उचित रक्त संचार हुन नसकी नसामा समस्या आउने र डिप्रेशन हुने र आत्म हत्या गर्ने सम्मका तमाम समस्याहरु सृजना हुन्छन्, घरपरिवार र समाजमा मनमुटाव, झैझगडा र अशान्ति हुन्छ, साथीभाईहरुसंग पनि तिक्तता ल्याउछ । जुवा खेल्नेले अन्ततः कहिल्यै जित्दैन भन्ने कुरा जुवाडेलाई थाहा नभएको हैन तर पनि यस प्रकारको कुलतमा समाजका सामान्य व्यक्तिहरु मात्र हैन पढेलेखेका, लव्ध प्रतिष्ठित, गन्यमान्य, आर्थिक रुपले सम्पन्न र उच्च पदस्त व्यक्तिहरु समेत फसेका देखिन्छन् ।

जुवा भन्ने वित्तिकै मानिसले सामान्यतयाः तास खेललाई बुझ्दछन् । जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले सम्पति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्छ भन्ने उल्लेख छ । यसबाट सम्पति हार्ने वा जित्ने गरी खेलिएका तास लगाउत अन्य खेलहरु जस्तैः क्यारेमबोर्ड, गुर्जा, पुल, पासा, कौडा, चिठ्ठा आदी खेलहरु जुवाको परिभाषा भित्रै पर्दछन् । त्यतिमात्र हैन देश भित्र वा विदेशमा खेलिने फुटवल लगायतका विभिन्न खेलहरुमा यो या त्यो टिमले जित्छ भन्ने आधारमा लाखौं लाख रुपैयाका बाजी थाप्ने कार्य समेत जुवाकै परिभाषा भित्र पर्दछ । तर यो शव्दले नेपाल सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिठ्ठालाई र मनोरञ्जनको लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई जनाउँदैन भन्ने पनि सो ऐनमा उल्लेख भएको छ ।
नेपाली नागरिकहरुको आर्थिक हित एवं सदाचारको निमित्त जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउन आवश्यक एबं बाञ्छनीय भएको महशुस गरी २०२० साल भाद्र १ गते देखि लागुहुने गरी तत्कालिन राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले जुवा ऐन, २०२० आएको देखिन्छ र यस ऐनलाई गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ ले पहिलो पटक केही संशोधन गरे पनि मुलभुत व्यवस्थामा खासै परिवर्तन गरेको छैन । यस ऐनको दफा ३ मा कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन नहुने, जुवा खेलेको ठाउँमा बस्न पनि नहुने त्यस्तै उक्त गर्न नहुने काम भएको वा हुन लागेको देखि जानी सो लुकाउन दवाउन वा त्यस्तो कसुर गर्नको निमित्त अरु कसैलाई कुनै प्रकारको मद्दत वा दुरुत्साहन दिनु हुँदैन भन्ने प्रष्ट उल्लेख गरि सो कार्यलाई दण्डनीय बनाएको छ । जुवा ऐन, २०२० को दफा ३ मा मनाही गरेको काम विपरित जुवा खेलेमा खेल्नेलाई पहिलो पटकलाई रु.२००।– सम्म जरिबाना, दोश्रो पटकलाई १ देखि ३ महिनासम्म कैद र तेश्रो पटक देखिकोलाई १ बर्ष कैदको सजाय हुने व्यवस्था छ भने जुवा खेलाउनेलाई पहिलो पटकलाई रु.३००।– जरिवाना, दोश्रो पटक देखिकोलाई ३ देखि ९ नौ महिना सम्म कैद हुने भन्ने छ र जुवामा सरसापट दिएमा सापट दिनेको थैली भुस गराई सो दिएको थैलीको डेढी बढाई जरिवाना हुने, सो वाहेकको अन्य कुनै काम गरे गराएमा पनि रु.५०।– जरिवाना हुने र जुवामा लगिएका वा राखिएका सवै नगद जिन्सी जफत गरिनेछ भन्ने व्यवस्था छ ।
जुवा खेलेको कुनै मानिसले आफु पक्राउ हुनु भन्दा अगावै सो कुरा मुद्दा चलाउने अधिकारी समक्ष जाहेरी गरी आफु साक्षी हुन मन्जुर गरेमा त्यस्तो व्यक्तिलाई सजाय नहुने र जुवाको जाहेरी दिने व्यक्तिलाई कसुरदारहरुबाट उपर भएको जरिवानाको सयकडा ३० प्रतिशत पुरुस्कार दिईने समेत उक्त जुवा ऐनले व्यवस्था गरेको छ । यसका अलावा सोही ऐनको दफा ८ मा नेपाल सरकारले कुनै खास स्थान वा क्षेत्र तोकी स्वीकृति दिएमा दफा ३ मा लेखिएको काम गरे गराएमा यो ऐन बमोजिम कारवाही नचलाईने र त्यस्तो स्वीकृति दिंदा नेपाल सरकारले आवश्यक शर्त तोक्न सक्नेछ भन्ने ब्यबस्था भएको छ । यस व्यवस्था अनुरुप हाल देशका ठुला शहरहरुमा क्यासिनोहरु सञ्चालित भएका छन् ।
२०२० सालमा रु. २००।– पर्ने सामानको मुल्य आज २०,०००।– भई सक्यो तर हाम्रो त्यसवेलाको जुवा ऐनमा भएको सजाय जस्ताको त्यस्तै छ , २०२० सालमा जुवा सम्बन्धी कानुन बन्दा पुल, स्नुकर जस्ता खेलको सायद परिकल्पना गरिएको थिएन । नेपालको फौजदारी कानुनका मान्यता, संरचना तथा फौजदारी न्याय प्रणालीका कर्ताहरु बीचको सम्बन्ध र सो प्रणालीमा उत्तरदायित्व र जवाफदेहिता कायम गर्ने लगायतका बिषयहरु आधारभुत रुपमा हाल कायम मुलुकी ऐन र जुवा ऐन जस्ता छरिएर रहेका अन्य तमाम ऐनहरुमा भएका संशोधनहरुबाट आजको समयले ल्याएका बहु आयामिक चुनौतीहरुलाई सामना गर्न नसकी जटिलता सृजना भई रहेको अवस्थामा त्यस्ता कानुनहरुलाई समय सापेक्ष बनाईनु पर्ने आवाज न्यायीक क्षेत्रमा उठी रहेको थियो । सोही यथार्ततालाई महसुश गरी फौजदारी कानुन र देवानी कानुन सम्बन्धी छुट्टा छुट्टै संहिता बनाई हाम्रो बिद्यमान कानुन प्रणालीलाई थप सशक्त र जीवन्त बनाउने उद्देश्यले २०७५ साल भदौ १ गते देखि लागुहुने गरी नेपाल सरकारले मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ व्यवस्थापिका–संसदबाट पारित गराई लागु गर्ने अवस्थामा आई पुगेको छ । लामो समय पछि भएका जारी भएका यीं संहिताहरुले नेपालको फौजदारी कानुन प्रणालीलाई युगान्तकारी परिवर्तन गर्दै समाजको आजको आवश्यक्ता परिपुर्ति गर्ने कोशेढुङ्गा सावित हुने विश्वास लिईएको छ ।
यसरी समग्र नेपालको फौजदारी न्याय प्रणालीलाई नै समय अनुकुल बनाउने क्रममा जुवा सम्बन्धी कानुनलाई पनि परिमार्जन गरी मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२५ मा जुवा खेल्न, खेलाउन र सट्टाबाजी गर्न नहुने गरी सो कार्यलाई दण्डनीय मान्दै कसुर गर्ने व्यक्तिलाई पहिलो पटकलाई ३ महिनासम्म कैद वा ३० हजार सम्म जरिवाना, दोश्रो पटकदेखि १ बर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकै पिच्छे थप ३ तिन महिना कैद र १० हजारसम्म जरिवाना हुने उल्लेख छ । यस नयाँ ऐनले “जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल समति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शव्दले आफुले जुवा नखेली अरुको हार वा जितमा आफुले कुनै चल वा अचल सम्पति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखे समेतलाई जनाउँदछ भनिएको छ । यसमा कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी, वा समारोहमा मनोरञ्जनका लागी कुनै सानोतिनो चल सम्पति पाउने वन गुमाउने गरी नेपाल सरकारको स्वीकृती लिई सञ्चालन हुने खेल र अधिकारप्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन गरेको चिठ्ठालाई जुवा मानेको पाईदैन ।
उक्त संहितामा जुवा खेलाउनको लागि आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी साधन जानीजानी उपलव्ध गराई वा जुवा खेल्नको लागि कुनै किसिमको साधन उपलव्ध गराउनेलाई जुवा खेलाउने व्यक्ति सम्झनु पर्छ भन्दै जुवा खेल्ने र खेलाउने सम्बन्धमा प्रष्टता पारेको देखिन्छ । जुवा खेल्न प्रयोग भएको साधन रजुवाबाट प्राप्त सम्पुर्ण चल अचल सम्पति जफत हुने तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफज हुने छैन भन्ने उल्लेख छ । त्यस्तै कसैले कानुन बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल वा अचल सम्पति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा त्यस्तो कार्यलाई सट्टाबाजीको कसुर मानेको छ र सो कसुरमा त्यसमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ बर्षसम्म कैद र १० हजार रुपैयासम्म जरिवाना हुनेछ र अदालतबाट कसुरदार ठहरेको आधारमा पटके कायम गर्नु पर्ने गरी सट्टाबाजी सम्बन्धि नौलो व्यवस्था थप गरेको देखिन्छ ।
हाल प्रहरी प्रशासनको पहल र सक्रियतामा जुम्ला सदरमुकाम आसपासमा जुवा खेल्ने, खेलाउने कार्यमा निकै नियन्त्रण आएको छ । जुवा खेल्ने, खेलाउने कार्यमा पुरुषहरु संलग्न हुने र उनीहरु समयमा घरमा नआउने, जुवामा थुप्रै सम्पति नोक्सान गरी घरमा झैझगडा हुने लगायतका समस्याहरुबाट पीडित महिलाहरुले यसबाट निकै राहत भएको महशुस गरेका छन् । कानुन कार्यान्वयन गर्ने निकाय वा अधिकारीले जुवा नियन्त्रण जस्तो सह््रानीय काम गर्दा स्वेच्छारी ढंगले गर्न हुँदैन, व्यक्तिको मानव अधिकार संरक्षण सम्बन्धमा संविधान र प्रचलित कानुनमा भएको व्यवस्थाहरुको समेत ख्याल राखेर कानुनको कार्यान्वयन गर्नु गराउनु पर्दछ । हाल कायम रहेको जुवा ऐन, २०२० ले पहिलो पटकको कसुरमा कैद नगरी केवल २००।– रुपैयासम्म जरिवाना हुने व्यवस्था गरेको देखिन्छ । कानुन कार्यान्वयन गर्ने प्रहरी अधिकारीले बिधायीकी मनशायलाई समेत ख्याल राख्न जरुरी हुन्छ । जुवा ऐन, २०२० बनाउने अवस्थामा तत्कालिन व्यवस्थापिका संसद (राष्ट्रिय पञ्चायत) ले पहिलो पटक जुवा खेल्ने खेलाउनेलाई कैद नगरी सामान्य जरिवाना मात्र गर्ने मनशाय राखी सो अनुसारको कानुन बनाएको हुनाले प्रहरी अधिकारीले पनि उक्त ऐन अनुसार कसैलाई पक्राउ गर्दा वा मुद्दा चलाउँदा थुनामा नराखी तारेख वा जमानीमा छाडी मुद्दाको कारवाही अगाडी बढाउनु उपयूक्त देखिन्छ ।
चैते दशैंको विदाको दिनमा रमाईलो गर्नलाई तास खेली रहेका र मलामीबाट फर्केर मानिस मरेको घरमा रुंगेर बस्ने क्रममा तास खेलेका मानिसहरुलाई समेत पक्राउ गरिएका घटनाले प्रहरीलाई अलि बढी बिवादित बनायो । चैते दशैंवालाहरुलाई ६ दिनसम्म थुनामा राखी जुम्ला जिल्ला अदालतमा पेश गरियो र अदालतले सोही दिन जनही रु. २००।–नगद धरौटी लिई थुनाबाट छाड्ने आदेश ग¥यो भने मलामीवालाहरुलाई प्रहरीले पक्राउ गरेकै दिनको मध्य रातीमा छाड्यो । नेपालको संविधान भाग–३ अन्तरगत धारा १६ मा प्रत्येक व्यक्तिले सम्मानपुर्वक बाँच्न पाउने हक (Each person shlla have the right to live with dignity) हुनेछ , धारा २० न्याय सम्बन्धी हकको उपधारा (४) मा तत्काल प्रचलित कानुनले सजाय नहुने कुनै काम गरे वापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानुनमा तोकिएको भन्दा बढी सजाय दिईने छैन (No person shlla be punished for an act which was not punishable by law when the act was committed, and no person shlla be subjected to a punishment greater then that prescribed by law at the time of the offence.) भन्ने मौलिक हकको व्यवस्था गरेको छ ।

जुवा ऐनको मौजुदा व्यवस्था अनुसार पहिलो पटकेलाई अदालतबाट मुद्दा फैसला हुँदा समेत कैद नहुने भएकाले चैते दशैं मानी रहेकाहरुलाई प्रहरीद्धारा थुनामा नराखी अदालतमा छिटो पेश गर्नु पर्नेमा स्वेच्छाचारी ढंगले ६÷६ दिनसम्म थुनामा राखियो । लोकप्रियताका नाममा कसैले पनि कानुनको गलत प्रयोग गर्नु लोकतान्त्रिक व्यवस्थामा कदापी सोभनिय कार्य मान्न सकिँदैन र यसले गर्दा उद्देश्य राम्रो भएपनि समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देश पनि प्रवाह भएको छ । समय सापेक्ष जुवा सम्बन्धी कानुनमा संशोधन हुनु पर्ने आवश्यकता अनुरुप बनेको (आगामी भाद्र १ गते देखि लागु हुने) कानुन प्रयोगमा नआउन्जेलसम्म बहाल रहेकै कानुनका आधारमा राज्यका निकायहरुले आफ्ना काम कारवाहीहरु संचालन गर्नु उपयूक्त देखिन्छ ।

तपाईको प्रतिक्रिया