एकता टरेको होइन, सरेको हो


नेपाल एउटा ऐतिहासिक कालखण्डबाट अगाडि बढिरहेको छ । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणपछि देशले राष्ट्रव्यापी, एकीकृत, जनव्यापी, जनतामा आधारित ठूलो कम्युनिस्ट पार्टी प्राप्त गर्नेछ । त्यो कम्युनिस्ट पार्टी नै मुलुकको अग्रगति र विकासको केन्द्रबिन्दु हुनेछ । त्यसैको नेतृत्वमा मुलुकको सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियाले तीव्रता प्राप्त गर्नेछ । हाम्रो मुलुक करिब ७० वर्षदेखिको अस्थिरताबाट पार भएर अगाडि बढेको छ । अब अस्थिरताको अन्त्यसँगै स्थिर विकासतर्फ अगाडि बढ्नेछ । त्यसलाई हासिल गर्न एकीकृत पार्टीलाई बलियो बनाउनेतर्फ सबैले गम्भीर ढंगले सोच्नुपर्छ । सम्पूर्ण जनसमुदाय पनि एकताबद्ध भएर यो प्रक्रियालाई सहयोग गर्नुपर्छ ।

झलनाथ खनाल

गृहकार्य पुगेन
हामीले नेकपा कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर ९ वैशाखका दिन दुई पार्टीलाई एकीकृत गर्ने सोच बनाएका थियौँ । हामीले गठन गरेका दुईवटा कार्यदलले पनि त्यस्तै सुझाब दिएका थिए । पार्टी एकता संयोजन समितिमा पनि त्यही कुरा भएको थियो । तर, परिस्थिति अगाडि बढ्दै आउँदा एकता प्रक्रिया सम्पन्न गर्न जुन गहिराइबाट गृहकार्य गर्नुपर्ने आवश्यकता थियो, त्यो हुन नसकेकाले हामीले पार्टी स्थापनाको दिन एकता गर्न सकेनौँ । यसको अर्थ एकता टरेको होइन, एकताको मिति सरेको मात्रै हो । ठ्याक्कै घडी, पला र दिन तोकेर त भन्न सकिँदैन । तर, नेताहरूले जति चाँडो छलफल गर्न सक्नुहुन्छ, नमिलेका कुरा मिलाउनुहुन्छ, समझदारी निर्माण गर्नुहुन्छ, त्यति नै चाँडो दुई पार्टीबीचको एकता सम्भव छ । त्यसकारण केही साताभित्रमा एकता प्रक्रिया अगाडि बढ्छ । आधार तयार पारेर निकट भविष्यमै दुई पार्टीको एकता घोषणा सभा हुने निश्चित छ ।

खासगरी वैचारिक, राजनीतिक र सांगठनिक पक्ष तथा आज र भोलिका अवस्थाबारे छलफल गरी एउटा समझदारी निर्माण गर्ने काम गर्नु आवश्यक छ । त्यसबारे राम्रोसँग छलफल भइनसकेको हुँदा सबै समस्या समाधान हुन सकेनन् । यद्यपि हामीले प्रतिवेदन बनाइसकेका छौँ । पार्टीको आम कार्य्दिशा, नीति, सिद्धान्त के हो भन्ने विषय टुंगो लगाइसकेका छौँ । हाम्रो अन्तरिम विधान पनि बनिसकेको छ । त्यसले पार्टी कस्तो हुन्छ भन्ने टुंगो लगाइसकेको छ । अब केन्द्रीय कमिटी कसरी गठन गर्ने, अरू कमिटी कसरी निर्माण गर्ने जस्ता विषयमा राम्ररी गृहकार्य नभएको हुनाले ९ वैशाखमा एकता घोषणा सभा गर्न सकिएन । ती विषयमा सबैभन्दा पहिला नेतृत्व (दुई अध्यक्ष) बीच गहिरिएर गृहकार्य हुनुपर्छ भन्ने महसुस भएको छ ।

शंका आवश्यक छैन
दुई पार्टीबीच एकता नै हुँदैन कि भन्ने आशंका पनि देखिन्छ । तर, पार्टी एकता नहुने भन्ने प्रश्न छैन । हामी जुन बाटोबाट आयौँ, जति प्रक्रिया पूरा ग(यौँ, त्यसबाट फर्कने सम्भावना अब छैन । त्यसकारण पार्टी एकता नहुने हो कि भन्ने ढंगले आशंका गर्नुपर्ने आवश्यकता छैन । पार्टी एकता हुन्छ । खालि ढिलोचाँडोको कुरा मात्र हो । जस्तासुकै अप्ठ्यारा र चुनौती नै किन आइनपरून्, पार्टी एकता रोकिन सक्दैन । पार्टी एकता देश र जनताको माग बनिसकेको छ । स्थिरता, विकास निर्माण, रोजगारीको अवसर सिर्जनालगायत तमाम विषयका लागि यो एकता अपरिहार्य छ । पार्टी एकता संयोजन समितिको बैठक सकारात्मक ढंगले अगाडि बढेको छ । कार्यदलले पनि सोही ढंगले प्रतिवेदन तयार पारेर बुझाइसकेका छन् । अहिले दुई पार्टीका अध्यक्षलाई गहन गृहकार्य गर्न जिम्मेवारी दिइएको छ । दुई अध्यक्षबीच गहन छलफल भएपछि एकता समितिको बैठक बसेर एकताको मिति घोषणा हुन्छ र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुन्छ ।

समानता निरपेक्ष हुन्न
निरपेक्ष समानता भन्ने कुरा कहीँ पनि हुन सक्दैन । दुई राजनीतिक पार्टी समान हुन् भन्नेमा दुईमत हुन सक्दैन । हामीले समानताको आधारमा राजनीतिक रूपले एकताबद्ध हुने प्रक्रियामा अगाडि बढ्नुपर्छ । त्यसमा कसैको पनि मतभेद छैन । तर, निरपेक्ष समानता भन्ने कुरा हुँदैन । हरेक कमिटीमा बराबरी भन्ने हुँदैन । आवश्यकताअनुरूप कुनै कमिटीमा कसैको बढी प्रतिनिधित्व हुन सक्छ, कुनै कमिटीमा कसैको बढी उपस्थिति हुन सक्छ । त्यसमा आवश्यकताको सिद्धान्तका आधारमा हामी अगाडि बढ्नुपर्ने हुन्छ ।

समानता भनेको संख्यात्मक बराबरी भन्ने अर्थ लाग्दैन । दुईवटा राजनीतिक पार्टीको राजनीतिक ‘स्टाटस’चाहिँ बराबरी हुन्छ । तर, त्यसको अर्थ बराबरी संख्या भन्ने हुँदैन । माओवादीको उपस्थिति बलियो भएको ठाउँमा माओवादीबाट धेरै आउनु र एमालेको उपस्थिति धेरै भएको ठाउँमा एमालेबाट धेरै आउनु स्वाभाविक हो । त्यसकारण निरपेक्ष समानताको कुरा कसैले पनि खोजेको छैन । त्यो मिडियामा आएको हौवा मात्रै हो । त्यस्तो कुरा छलफल आएको छैन ।

बाहिर–बाहिर चुनाव चिह्नलाई पनि विवादको विषय बनाउने गरिएको छ । तर, चुनाव चिह्नको विषय ठूलो होइन । त्यसबारे हाम्रो पटक–पटक छलफल भइसकेको छ । छलफलका क्रममा चुनाव चिह्नको विषयमा एकरूपता आइसकेको छ । त्यसकारण त्यसमा अनेक ढंगले सोच्न जरुरी छैन । बराबरी हुनुपर्छ भन्ने विषयमा पनि हामीले छलफल गर्दै आएका छौँ । समानताको आधारमा गर्नु र बराबरी गर्नु भन्ने कुरा बेग्लाबेग्लै हो । त्यो कुरालाई ध्यानमा राखेर हामीले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्ने हुन्छ । अन्य कतिपय विषयमा छलफल भइरहेको छ । खासै समस्या देखिएको छैन ।

एकता प्रक्रिया सम्पन्न गर्न जुन गहिराइबाट गृहकार्य गर्नु आवश्यक थियो, त्यो हुन नसकेकाले हामीले पार्टी स्थापनाको दिन एकता गर्न सकेनौँ । यसको अर्थ एकता टरेको होइन, एकताको मिति सरेको मात्रै हो ।

गुटबन्दीप्रति सचेत बनौँ
पार्टी एकता भएपछि कहाँबाट को आयो, के ग¥यो भन्ने कुराको लेखा राख्नुपर्ने जरुरत पनि पर्दैन । वैचारिक, सांगठनिक रूपमा एक ठान्नुपर्ने हुन्छ । अहिले त एकताको घोषणा गरियो तर एकतालाई ‘रियलाइज’ गरिसकिएको छैन । यो एउटा अन्तरविरोधलाई हल गर्ने कुरा मात्रै हो । यो अन्तरविरोध हल गर्ने कुरा त्यति ठूलो भने होइन ।

गुटबन्दी अन्त्य गरेर एकताबद्ध पार्टी बनाउने विषयमा नेतृत्व धेरै सचेत हुनुपर्छ । पार्टी्भित्र गुटबन्दीलाई कसरी अन्त्य गर्ने, पार्टीमा एकमना एकता कसरी कायम गर्ने भन्नेतर्फ ध्यान दिन सकिएन भने हाम्रो आन्दोलन रोकिन सक्छ, आन्दोलनमा धक्का लाग्न सक्छ । खालि पार्टी एकता गरेर मात्र हुँदैन । एकीकरणबाट एउटा शक्ति त प्राप्त हुन्छ, तर त्यसलाई सही ढंगले परिचालन गर्न सकिएन, गुट–उपगुट जन्मिए, घम्साघम्सी सुरु भयो भने त्यो नै पार्टी विनाशको कारण बन्छ । त्यसकारण गुटबन्दी अब पूर्ण रूपमा अन्त्य गर्नैपर्छ । गुटबन्दी हुने कारण पहिल्याएर त्यसमा सुधार ल्याउनुपर्छ । एकीकृत पार्टीलाई झन् बढी एकमना एकताबद्ध बनाउन आवश्यक छ । अनि मात्र हामी अग्रगतितर्फ जान सक्छौँ ।

पार्टीलाई कसरी एकताबद्ध गर्ने, पार्टीलाई कसरी सुदृढ गर्ने, पार्टी्भित्रका सबै शक्तिलाई कसरी समेट्ने भन्नेमा दुई मत हुँदैन । नेतृत्व ती कुरालाई ध्यानमा राखेर चल्नुपर्ने हुन्छ । एकता प्रक्रियामा पनि कुनै प्रकारको विग्रह पैदा नहोस्, आशंका पैदा नहोस् भन्ने हिसाबले चल्नुपर्ने हुन्छ । कतिपय सन्दर्भमा कमी–कमजोरी रहेका भए ती कुरालाई सच्याएर जानुपर्ने हुन्छ । साना, मसिना घटनाक्रमबाट एकता प्रक्रिया रोकिनेवाला छैन ।

(पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता खनाल पार्टी एकता संयोजन समितिका सदस्य हुन्) नयाँपत्रिकाबाट साभार

तपाईको प्रतिक्रिया