घुम्टो खोलेर नेपाल आइडलमा


धरान । सिरहा गोलबजारस्थित जम्दहमुसहर्नीको विपन्न समुदायमा शिक्षाको उज्यालो पुग्न सकेको छैन । त्यही विपन्न समुदायको अँध्यारोभित्र शान्ति सदाको जन्म भयो ।तराई(मधेसको परम्परागत बन्द परिवेशमा हुर्किएकी सदाले एक दिन आधुनिक सहरमा पुगेर धोको फुकाएर गीत गाउँछु भन्ने कल्पनासमेत गरेकी थिइनन् । तर, नेपाल आइडलको दोस्रो सिजनका लागि अडिसन दिन उनी श्रीमान्सहित धरानको विष्णु मेमोरियल उच्च मावि आइपुगिन् । करिब एक हजार प्रतिस्पर्धीसँगै उनले आफ्नो प्रतिभा खुलेर देखाइन्।

‘हाम्रो समुदायमा घरभित्र वा बाहिर सल र साडीको एक छेउले अनुहार छोपेर हिँड्ने चलन छ’, उनले भनिन्, ‘मेरा साथीहरू बजारसम्म पनि जान डराउँछन् तर म घुम्टो खोलेर गाउन हिँडेकी छु ।’

नौ वर्षअघि विवाह भएकी सदाका दुई सन्तान छन् । घरमा गृहिणीका रूपमा सन्तान स्याहारेर बसे पनि उनले मनभित्रको चाहना मारेकी छैनन् । सानै उमेरदेखि घरमा दिदी र आमाको सहयोग पाएर गीत गाउँदै हुर्किएकी सदाले बालक्लबमा आफ्नो क्षमता देखाउँथिन् । ‘हाम्रो समुदायमा केटी मान्छेले नाचगान गर्न सिके नराम्रो दृष्टिले हेरिन्छ’, उनले भनिन, ‘मेरो पनि कुरा काट्ने धेरै थिए, मैले अरूका कुरा वास्ता गरिनँ ।’

एपीवान टेलिभिजनले नेपाल आइडल गराउँदै छ भन्ने अघिल्लै साल सुनेकी हुन् उनले । तर, भर्खर संगीत विद्यालयमा भर्ना भएकी सदाले केही अभ्यासपछि मात्र प्रतिस्पर्धामा भाग लिने निचोड लिइकी थिइन् । गुरुदेव कामतसँग संगीत सिकिरहेकी उनले आफूभित्रको क्षमता निखारेर मात्र धरान आइपुगेको बताइन् । ‘मेरो मुख्य उद्देश्य जित्नु मात्र होइन, हाम्रो समुदायप्रति हेर्ने दृष्टिकोण बदल्नु पनि हो’, उनले भनिन् ।

‘हाम्रो समुदायमा केटी मान्छेले नाचगान गर्न सिके नराम्रो दृष्टिले हेरिन्छ’, उनले भनिन, ‘मेरो पनि कुरा काट्ने धेरै थिए, मैले अरूका कुरा वास्ता गरिनँ ।’

गीतसंगीतमा लाग्न उनलाई श्रीमान्सहित, सासू र देवरको सहयोग छ । उनले आफूलाई परिवारबाट सहयोग भए पनि आफूजस्तै अन्य क्षमतावान् महिला अवसरको पर्खाइमा रहेको बताइन् । उनले नेपाली मिडियाले लुकेको प्रतिभालाई उजागर गर्ने मौका दिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन् । ‘अल्पसंख्यक समुदायको आवाजलाई मञ्च दिनुपर्छ, दलित पिछडिएका समुदायको भावनालाई सम्बोधन गर्न पनि ठूला कार्यक्रमले सहयोग पुर्‍याउँछ’, सदाले भनिन् ।

नेपालमा पहिलोपटक एपीवान टेलिभिजनले आयोजना गरेको नेपाल आइडल, गायन क्षेत्रको विश्वस्तरीय रियालिटी सो हो । दोस्रो भागका लागि नयाँ प्रतिभा खोजी गर्न देशका विभिन्न सहरमा अडिसन भइरहेको छ । अडिसनमा विभिन्न क्षेत्रका फरकफरक समुदायका व्यक्तिको सहभागिता छ । पोखरा र काठमाडौँ अडिसन सकेर पोस्ट प्रडक्सनमा जाने कार्यक्रम साउन १० देखि प्रसारणमा जाने नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया