संघियता हात्तीको देखाउने दाँत्त !


अहिलेका जनप्रतिनिधिहरु सिस्नो रोपेर तुल्सी उम्रेको सपना देख्नु जस्तै भएका छन् ।

लेखक लोकेन्द्रराज गिरी

बैशाख ३१ अर्थात संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको पहिलो स्थानीय तहको निर्वाचन, मुलुकको समृद्धि र बिकासको बिकेन्दिकरण स्वरूप नयाँ ढाँचा अनुसार स्थापित संघीयतालाई सफल पार्ने पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन सम्पन्न भएको दिन करिब १ बर्ष पुग्न लाग्यो ।

जनताले अपेक्षा गरेका कार्ययोजना बिकास तथा नयाँ शैलीको व्यबहार र त्यसको कार्यन्बयन हुन सकेको अबस्था छैन् । हिजो चुनाव लड्दै गर्दा जनता सामु गरेका प्रतिबद्धताहरु चुनावी घोषणापत्र तथा अपिलहरु, जनता सामु प्रस्तुत गरेका कार्ययोजनाहरु अहिले हात्तीका देखाउने दाँत जस्तै भएको जनताले महसुश गरेका छन् ।

जनताका अगाडी गरेका प्रतिबद्धताहरु केवल चुनाव जित्नको लागि मात्रै भएको छर्लङ देखिन थालेको छ । न कतै स्पष्ट योजना छन्,न दिर्घकालिन विकास त्यहि संघियता लाई मागी खाने भाडो बनाउने प्रयासमा हाम्रा जनप्रनितिधिहरु छन् ।

आफू र आफ्ना पक्षधर लाई चुनाव जिताउनै पर्ने र जिताउनका लागि महान दार्शनिक मेकियाबेलिले प्रतिपादन गरेको बिचार राजनितिमा साम दाम दण्ड र भेदको नीति प्रयोग गरेका जनप्रतिनिधि र तिनका पार्टीको यथार्थ रुप आज सतहमा देखिदैछ । हिजो जिताउनै पर्नेका योग्यता क्षमता कृयाशिलता आज देखिएको छ ।

कोहि रक्सी खाएर कार्यलयमा बसेका र खोरमा परेका ,कोहि कृषकका कुखुरा चोरेका , कोहि जुवाडे त कोहि नक्कली परिक्षार्थी भएका कोहि योजनामा कमिशन माग्दै हिडेका, कोहि आफै उप्भोक्ता अध्यक्ष झै काम चलाउने भएका घटना समाचारका पानामा हेर्न र देख्न पाइएको छ । यी प्रतिनिधि घटना मात्र हुन् ।

हिजो निर्वाचनलाई पार्टी हरुले र तिनका समर्थकहरुले ज्यान सङ्ग तुलना गरे । जसरी पनि चुनाव जित्नै पर्छ भन्ने मान्यताले राम्रो बिचार ,राम्रो ब्यक्तिहरुले चुनाबमा जित्न सकेनन । विकसीत देशहरूमा कुन सरकार बन्यो भने कस्को पार्टीले निर्वाचनमा बिजय हासिल गर्यो भने जनताले सुलभ तरिकाले काम भएको महसुस गर्छन् ।

बढी रोजगारीको सृजना हुन्छ भन्ने आकलन गरेर सोही अनुसार भोट दिन्छन तर हाम्रो बिडम्बना त्यसको ठिक उल्टो छ । भईरहेको छ । गुन्डागर्दी गर्ने हरु ,भ्रष्टहरु समाजले तिरस्कार गरेका ब्यक्तिहरु पनि निर्वाचनमा बिजय हुन्छन र बिजय गराउछौ अनि हामी जनताले सिस्नो रोपेर तुल्सी उम्रेको सपना देख्नु कति उपयुक्त होला ।

यहि हो हाम्रो यथार्थता ३६४ दिन सम्म हामी ठिक हुन्छौ तर ३६५ औ दिनमा बिग्रन्छौ यो हाम्रो परम्परा बन्दै आएको छ । अरुले गरेको नमुना कामको अनुसर गर्नु भन्दा उल्टै रिस मान्ने बानीले हाम्रो समृद्धी धकेलिएको हो । सकारात्मक सोचकै अभावले हामीलाई पछौटेपनले नछोडेको हो । देशमा आमुल परिवर्तन हुँदा पनि कर्णाली गरिबको रेखा मुनि परेको अबस्था छ ।

आज हामीले सिंहदरबारको अधिकार गाउँ गाउँमा ल्याएका छौ । आएको छ भनेर खुब प्रसार प्रसार पनि गरिरहेका छौ । के यथार्थ रुपमा आएको छत ? सिंहदबार गाउँमा यदि सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको हो भने सबै जनताको जीवन स्थर उकास्नु पर्छ , सबैको भलो हुनुपर्छ ,सबैलाई गुणस्तरीय जीवन प्राप्त हुनुपर्छ , सबै नागरिकलाई शिक्षा , स्वास्थ्य , खानेपानी ,रोजगार लगायत आदिको पहुँचमा पुग्नु पर्दछ ।

गाउँमै कृषिको बिकास गरिनुपर्छ स्थानीय तहले नै युबा रोजगार जस्ता कार्यक्रम संचालन गर्नुपर्छ । हाम्रो बिड्म्बना काम कुरा एकातिर कुम्लो बोकि ठिमी तिर भने झै आजका सामान्य भन्दा सामान्य जनप्रतिनिधिहरु ४० हजार पर्ने मोबाइल बोक्छन् । उतिकैका ल्यापटप ,मोटरसाइकल ,गाडी किनेका र चढ्ने गरेका छन् ।

दिन दुई गुणा रात चौगुणाका दरले जीवन परिवर्तन भएको पाइन्छ । जुन रफ्तार नेपाली जनताले विकासमा देख्न चाहेको छ । तर यहाँ जनप्रतिनिधिमा भएको देख्दा सिंहदबारले खासै सिंह पठाइएकै हो । भन्ने विज्ञहरुको बुझाई छ । आखिर त्यो जीवन परिबर्तनको माध्यम कसरी बन्यो त्यसको लेखाजोखा अख्तियार ले राख्नुपर्छ ।

पत्रकार,नागरिक समाज,युवाले राख्नु पर्छ । र जनताले पनि विश्लेषण गर्नुपर्छ । हामीले कसलाई जिताउ के भयो ? के होला ? भन्ने विषयमा गम्भीर तरिकाले सोच्न जरुरी छ । त्यसैले कुनै पनि बच्चालाई जन्माउनु मात्र ठुलो कुरा होइन बच्चाले चाहेको मागेको आबश्यकता परिपुर्ति गर्नु चुनौतीको विषय हो ।

संघीयता आउनु र सिंहदरबारको अधिकार गाउँ गाउँमा आउनु ठुलो कुरा होइन त्यसलाई त्यही ढंगले हरेक कामकाजमा सहजता गर्नमा , बिकासको दृष्टिमा, अधिकार प्रत्यायोजनमा कर्तव्यको पालनामा , जनताको जिबनस्थर उकास्नमा र सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नमा भुमिका खेल्यो कि खेलेन त्यो मुख्य कुरा हो ? नारा र भाषणमा भनेझै सहज विकास निमार्णमा हुन आबश्यक देखिन्छ ।

आज पनि जनतालाई सडक , बिधुत , शिक्षा , स्वास्थ्य , खाद्यान्न , यातायात र रोजगार जस्ता असुविधाले पिरोलिरहेको छ । सेवा भावना त अब कुनै सत्य युगको अवस्था थियो भन्ने कल्पना गर्नुपर्ने भएको छ ।

बिकास निर्माण र आर्थिक तथा चेतनामा सबल बनाउन भन्दा, जनतालाई बिकास निर्माण सङ्ग जोड्नु भन्दा आधुनिकिकरण का उपकरण र तिनका मालिक सङ्गको सम्झौता अनुरुपको बिकास निर्माणकार्य बाट धन सम्पत्ति जोड्नका माहिर नबब्यअसो हरुको गतिविधि हरुमा कुनै परिवर्तन देख्न सकिएको छैन् ।

कमिशन, कालोबजारी, भ्रष्टचार, घुसखोरी नेपालमा क्यान्सर रोग जस्तै फैलिसको छ । त्यसको बिकल्प क्यान्सर भएको अङ्ग काट्नु सरह भएको छ । जनतालाई सधै भोट् बैंकका रुपमा सम्झने र केबल भेडाको रूपमा मात्र हेर्ने पुरानो परिपाटी अहिले पनि उस्तै देखिन्छ । त्यसैले नेपालको शासन ब्यबस्थामा बोतल फेरिएको छ त्यसले दिने गन्ध र प्रयोग गर्नेको बानी सुधरिएको छैन ।

दिनको संकेत बिहानिले नै गर्छ भने झै अहिले जनप्रतिनिधिको यस खालको भुमिका हेर्दा भाषण , उद्वघाटन , इभेन्ट जस्ता कार्यक्रममा सहभागी हुने भन्दा खासमा नयाँ पन केही देखिदैन । न खासै प्रभावकारी तथा नमुना योजना छन् । उहि पुराना भत्काउने तथा लगाउने बाहेक अरु केहि छैन् । जो पहिले केन्द्रित विकास पद्धतीमा पनि हुदै आएको थियो ।

काम गर्नेले गल्ती गर्छ काम नगर्नेले गल्ती गर्न सक्दैन ।  धेरै काम गर्नेले धेरै गल्ती गर्नु स्वभाविक कुरा हो । तर, नेपाली राजनीतिमा र स्वयम् जनप्रतिनिधिहरुमा परिश्रम गर्ने भन्दा भाषण बाजि , बक्तब्य बाजि गर्ने पुरानै बानिको बिकास , अनावश्यक रूपमा झगडा गर्ने , कुनै कामको लागि आएको बजेट वा कुनै आम्दानी हुने बजेट , शिर्षक रुपान्तरण गरि बजेट अन्यत्र लगाउने तथा बाडिचुडी खाने , जुन काम जनताका लागि गर्नै पर्ने हो त्यस काममा अनेकौं बाधा र समस्या सृजना गर्ने पुरानै राजनीतिक संस्कारको निरन्तरता अहिले पनि उस्तै छ ।

देशले समाजबाद , साम्यवादमा पुग्ने लक्ष्य राखेको छ ।  सबैका आआफ्नै किसिमका साम्यबाद छन् । जनता अन्यौल छन् । कि कसको साम्यबादलाई आत्मसाथ गर्ने । त्यही कुरा जनतालाई दिनानुदिनका भाषणमा भन्दै आएका छन् ।

अब नेपाल समाजबादमा गैसक्यो हामी समाजबादी ब्यबस्थामा गै सक्यौ भन्ने अर्काेतिर त्यसको ठिक उल्टो भ्रष्टाचारलाई सदाचार ,बिकृतिलाई संस्कृती , अनैतिकता लाई नैतिकता र शक्ति मान्ने आजको अपराधिक राजनीतिक ग्याङ्स्टार तन्त्रको गतिबिधिले देशमा समाजबाद आउदैन राजनितिक सत्ता परिवर्तन हुदैमा स्थानीय तहमा जनप्रतिनिधि र सिंहदरबारको अधिकार दिदैमा बिकास शुसासन हुने होइन भन्ने कुरा आज प्रमाणित हुँदै आएको छ ।

स्थानीय तहको निर्वाचन सङ्गै आज सबै जनप्रतिनिधि हरु नब राजा बन्ने स्थिति सृजना भएको छ । नव राजा बन्ने प्रयास गरिरहेकाहरुले संघियतालाई हात्तीको देखाउने दात्तका रुपमा पहिचान दिन बाँकी छ । ढिलो चाडो त्यो पनि देख्न पाईन्छ । सोही अनुसार आफ्नो आकार अनुसार शासन गरिरहेका छन् ।

सबै राजा बन्ने स्थितिले देशमा संघीयता कार्यन्वयन हुन सक्दैन । र देशले लिएको लक्ष्य साम्यवादमा पुग्ने सपना अधुरै रहन्छ । राजा महेन्द्रले त्यसै भनेका होइनन “साम्यवाद मोटर चढेर आउदैन ,जनताको सेबकहु भन्ने जनप्रतिनिधि मालिक र हैकमवादी बन्ने परिपाटीले देशको बिकास पनि सम्भव देखिदैन् ।

त्यसैले बास्तबमा जनताको लागि उतकृष्ट शासन ब्यबस्था कुनै पनि मोटर चढेर , सुख सयल र राजामहाराजाको जस्तो जिबन पद्धति बाट आउदैन जन प्रतिनिधिहरुको सुख शान्ति र समृद्धिको जीवनयान बाट कुनै पनि देशले संघीयता कार्यन्वयन र समाजबाद हासिल गरेको इतिहास छैन ।

बिचार , बिबेक ,बिकास जनताको जिबनस्थर वृद्धि बाट देशले लिएको लक्ष्य पूरा हुन्छ । तसर्थ ः हाम्रा जनप्रतिनिधिले संघियताको सफल कार्यान्वयनका लागि सुविधा भोगी हुनु भन्दा चुनावका बेला गरेका प्रतिबद्धता पुरा गर्ने तर्फमा सबै लागीयो भने समृद्धी सम्भव छ । होईन भने, संघियतालाई हात्तीको देखाउने दात्तका रुपमा प्रयोग गर्न खोजेमा जनताको आशा अपेक्षाले सराप्ला ।

लोकेन्द्रराज गिरी

तपाईको प्रतिक्रिया