कर्णाली राजमार्गको संघर्ष


दायाँ फर्किंदा कहालीलाग्दो भिर । अगाडि नियाल्दा अजंगको पहाड । जम्माजम्मी बढीमा २ मिटर चौडा सडक । चट्टानका डरलाग्दा पहाडको बीचमा देखिन्छ, परसम्म डोरो झै तानिएको सडक । तल नीलो कर्णाली नदी एक सुरमा बगिरहेको छ ।

कर्णाली दक्षिण बग्दा हामी उत्तरतिर हुइँकिइरहेका थियौँ । घरीघरी लाग्थ्यो, उस्तै बेग छ, कर्णाली र हाम्रो । कर्णाली पार गरेपछि तिला नदी आउँछ । त्यो पनि उही गति, चाल र दृश्यमा । यही दृश्यमा ठोकिन्छ, गतिसँगै घुम्तीहरूमा बजिरहने गाडीको हर्न । हर्नको आवाजसँग सुर मिलाउन उड्छ, सडकको धुलो । धुलो र हर्न छुट्दैन सिंगो यात्रामा ।

हर्न किन बजिरहन्छ भन्ने लाग्नु स्वाभाविक हो । एक लेन सडक त्यो पनि चाउचाउजस्तो बटारिएको बाटो । आउने–जाने गाडी नै देखिन्नन् । अनि बजाउनुपर्छ, वरैबाट हर्न । हर्न सुन्नेबित्तिकै अलिक मिल्ने ठाउँ खोजेर परै साइड दिनुपर्छ । मोडमा जम्काभेट भइहाल्यो भने न अगाडि जान सकिन्छ न पछाडि । आउने गाडीलाई साइड दिन छेउ लागेमा कर्णालीमा खस्ने डर उस्तै ! साइड दिन मिल्ने फराकिलो ठाउँ खोज्न ब्याक गर्दा पनि कर्णालीकै पिर । दैलेखको तल्लो डुंगेश्वर पार गरेपछि सुरु हुन्छ, चाउचाउजस्तो कर्णाली राजमार्ग । कतिले भन्छन्, ‘नागबेली सडक’ ।

मेरो घर कर्णाली त, उनको चाहिँ सुर्खेत
अब भने हप्तैपिच्छे, हुन्छ हाम्रो भेट ।
झल्को लाली ओठको ‘
बाटो खुल्यो मोटर चल्यो, जुम्ला कालिकोटको ।

चितवनका मिलन लामाले सुर्खेतबाट जुम्ला मोटरबाटो चलेपछि गीत नै बनाए । यो गीत जुम्ला गुड्ने गाडीमा मात्र बजेन, देशैभरि चर्चामा आयो । अनि लाग्न थाल्यो, जुम्लाले बल्ल जीवन पायो । सायद लामाले यो गीत गाएका थिएनन् भने कर्णाली राजमार्ग यति चर्चित हुने थिएन होला । लामाको गीत सुन्दा लाग्छ, कर्णाली राजमार्ग रोमाञ्चक यात्रा हुने खण्ड हो । सुर्खेत–जुम्लाको २ सय ३२ किमि सडक साहसिक यात्रा गर्न रुचाउनेका लागि भने आर्कषक गन्तव्य हो । कमजोर मुटु भएकाहरूका लागि मृत्युमार्ग ।

जीर्ण बन्दै सडक
कर्णाली राजमार्ग सञ्चालनमा आएको १० वर्ष पुग्यो । झन्डै ७ वर्ष त कालोपत्रेविनै चल्यो । कालोपत्रे भएको झन्डै तीन वर्ष भयो । सडकको कालोपत्रे असाध्यै पातलो छ । सहजै अनुमान गर्न सकिन्छ कालोपत्रेमा अनियमितता भएको छ । नत्र तीन वर्ष पूरा नहँुदै कालोपत्रे यसरी उप्किने थिएन । कालोपत्रेसँगै सडकको किनाराका ‘सेफ्टी बार’ पनि भत्किएका छन् । कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्लाखण्डको धेरै ठाउँमा अहिले कालोपत्रे उप्किन थालेको छ । २०७२ असार मसान्तमा ओटासिल प्रविधिबाट कर्णाली राजमार्गमा कालोपत्रे भयो । राचुली, खल्लागाड, पिली भिर, मान्माको सुनार खोला, सेरिघाट, दैखोलाल र सुर्खेतको बड्डीचौरदेखि दैलेखको डुंगेश्वरसम्मको ६० किलोमिटर सडकखण्डको कालोपत्रे उक्किएको छ । पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिड्कीज्युलासम्म १ सय ३० किमि र दोस्रो चरणमा खिड्कीज्युुलादेखि जुम्लासम्मको सडकखण्ड कालोपत्रे गरियो ।

पाँच वर्षको अवधिमा कर्णाली राजमार्गमा ३ सय ३० वटा दुर्घटना भए । ती दुर्घटनामा ३ सय ९ जनाले ज्यान गुमाए । ५ सय ५४ जना घाइते भए ।

शुल्कमा अनियमितता
माथिल्लो कर्णालीका स्थानीयको अर्को पीडा पनि छ । पुराना गाडीमा कठिन राजमार्गको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा उनीहरू छन् । जोखिम उच्च भए पनि भाडादर भने चर्को छ । यस राजमार्गमा चल्ने हरेक गाडीको आ–आफ्नै भाडादर छ । हुन त भाडा एकरूपताका लागि जिल्ला प्रशासन कार्यालयले पहल नगरेको होइन । प्रशासनको समन्वयमा भाडा तय पनि भएको हो । तर, गाडीमा लागू हुँदैन ।

यातायात व्यवस्था कार्यालय जुम्लाका अनुसार जुम्ला–सुर्खेत प्रतियात्रु ८ सय १९ रुपैयाँ र नेपालगन्जसम्म १ हजार ६९ रुपैयाँ अनि जुम्ला–काठमाडौँ २ हजार रुपैयाँ भाडा दर छ । तर, यो भाडादर कर्णाली राजमार्गमा सवारीसधान सञ्चालन गर्ने व्यवसायीले मान्दैनन् वा लागू गर्दैनन् । जुम्ला–नेपालगञ्जसम्म साना सवारीसाधनले प्रतियात्रु २ हजार रुपैयाँसम्म लिन्छन् । ठूला सवारीसाधनले १ हजार २ सय रुपैयाँ लिन्छन् । महँगो भाडा, काउन्टरमा टिकट नकाटिनु र क्षमताभन्दा बढी यात्रु बोक्नु यहाँको चलनजस्तै हो ।

समृद्धिका लागि सडक
कर्णाली राजमार्गले जोखिम मात्रै सिर्जना गरेको छैन । नजिक पनि बनाएको छ । जोखिम मोलेरै भए पनि सडकबाटोले मोह जगाएको छ । जुम्ला, मुगु र कालिकोटका गाउँमा उब्जनी भएका अन्न सुर्खेत र नेपालगन्ज हुँदै काठमाडौं पुग्न थालेका छन् । जुम्लाको सिमी र मार्सी चामल त काठमाडौंको बजारमा पाइन थालेको छ ।

एक वर्षपहिला मात्रै कर्णाली विकास आयोगले माथिल्लो कर्णालीको १० वर्षे विकास योजनाको मस्यौदा बनाएको छ । आयोगले स्थानीय सांसदसँग छलफल चलायो । छलफलले कनेक्टिभिटीमा जोड दियो । अहिले प्रदेश सरकार बनेको छ । उसले पनि सडक सञ्जालमै जोड दिन थालेको छ । स्थानीय तहको प्राथमिकतामा पनि सडक विस्तार नै परेको छ । सडकले सम्र्पक मात्रै नभएर सुविधा र समृद्धि पनि दिने हुँदा त्यसो गरिएको हुनुपर्छ । स्रोतको पहिचान गराउँछ । बसाइसराइ रोक्छ । सडकसँग जोडिएकै कारण गत वर्ष मात्रै ६० हजार आन्तरिक पर्यटक रारा पुगे । दुई वर्षपहिला त्यो संख्या २० हजार मात्रै थियो । कर्णाली राजमार्ग नखुलेको भए ६० हजार पर्यटकले रारा टेक्ने थिएनन् ।

यसकारण दुर्घटना
एक लेनको साँघुरो सडक । त्यो पनि ठाँउ–ठाँउमा भत्केको । कति ठाउँमा त कालोपत्रे नै छैन । उकालो र ओरालो त्यस्तै । डोरोजस्तो सडक तेर्सो ठाउँमा पनि डर लाग्दो छ । गाडीमा कोचाकोच यात्रु । भिडसहितको गाडी हुइँक्याउँदा यात्रु झन् आत्तिने । कतिपयको अनुभव छ, त्यसैले खस्छन्, गाडी कर्णाली र तिला नदीमा ।

हामी यात्रारत गाडीका गुरुजीले विगत ६ वर्षको ड्राइभिङ अनुभूति सुनाइरहे । राजमार्ग खुलेदेखि निरन्तर ६ वर्ष सुर्खेत–जुम्ला गाडी हुइँक्याउँदै आएका छन्, चालक सञ्जय चन्द । किन हुन्छ दुर्घटना कर्णाली राजमार्गमा ? सञ्जय भन्छन्, ‘राजमार्गलाई जोड्दैै सयौँ स्थानमा बनाइँदै गरेका नयाँ ग्रामीण कृषि सडक छन् । जो दुर्घटनाका कारक बनेका छन् । सडक जथाभावी काटिएका छन् । नयाँ सडक काट्दा राजमार्गमै माटो र ढुंगा थुपारिएको हुन्छ ।’ कहीँ त सडक नै भत्काइने गरेको पनि उनले अनुभव गरेका छन्, भोगेका छन् । कहीँ रूख ढालेर बाटो छेकिन्छ । अनि यात्रुले चाँडो पु¥याउन दबाब दिन्छन् । जीर्ण बन्दै गरेको सडक । त्यसमाथि साहुहरूको गाडी सञ्चालन गर्ने अस्वस्थ प्रतिस्पर्धा, यी तमाम कारण हुन्, दुर्घटनाका ।

५ वर्षको अवधिमा कर्णाली राजमार्गमा ३ सय ३० वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ३ सय ९ जनाले ज्यान गुमाए । ५ सय ५४ जना घाइते भए । २०६७र०६८ देखि २०७३र०७४ सम्मको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुर बाँकेको तथ्यांकले यस्तो देखाउँछ । दैलेखको साइगाउँदेखि कालिकोटको राचुली छिडेनाबीचमा धेरै दुर्घटना भएका छन् । ठेकेदार र सडक डिभिजनको लापरबाहीले राजमार्गमा बन्दै गरेका करिब दुई दर्जन पक्की पुल अलपत्र छन् । खहरे आउँदा सडक बन्दजस्तै हुन्छ । खोलाछेउमा गाडी तार्न धौधौ पर्छ । अझ कतिपय स्थानमा त बन्दै गरेको पुल नै भाँचिएको देख्न पाइन्छ । ओटासिल गरेको दुई वर्ष नबित्दै सडकको कालोपत्रे उप्किसकेको छ ।

यो लेख नयाँ पत्रिकामा योगेश ढकालेले लेख्नु भएको हो ।

 

 

तपाईको प्रतिक्रिया