नाफामुखि टेलिकमबाट -जुम्लाका सेवाग्राही मारमा


जुम्ला । नेपाल टेलिकम दुरसंचार कार्यालय जुम्लाका सेवाग्राही, उपभोक्ताहरुले आफुहरु ठगिएको बताएका छन् । टेलिकमको कुनै पनि सेवा प्रभावकारी नभएको दावि गर्दै आफुहरु ठगिएको सेवाग्राहीको भनाइ छ । हाल दुरसंचार कार्यालयबाट प्रवाह भैरहेको एडीएसएल ईन्टरनेट सेवा, ल्यानलाईन फोन सेवा र स्काई, नमस्ते प्रिपेड सेवाले राम्रोसँग काम नगर्दा आफुहरु सेवामा ठगिएको उपभोक्ताले बताएका हुन् ।

कुरा नबुझीएर मोबाईलमा रिचार्ज सकिने, ल्यानलाईन फोन र ईन्टरनेट सेवा प्रयोग नगरेरै बिल तिर्नुपर्ने, अधिकांश गाँउ ठाँउमा फोनले नै काम नगर्ने लगाएतका समस्या सेवाग्राहीले भोग्दै आएका छन् । ‘गाँउमा टेलिफोनका टावर जडान गरीएका छन्, तर टेलिफोनले काम गर्दैन । आवाज नसुनिएरै पैसा सकिन्छ, सदरमुकाम केन्द्रीत टेलिकमले हामीलाई मारमा पार्र्यो’ सिंजा गोठिज्युलाका ब्यापारी धन बहादुर बुढाले भने, ‘टेलिकमले जथाभावि सिमकार्ड बितरण गरी सेवाग्राहीको संख्या मात्र बढाएर हुदैन । प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्छ, नत्र हामि ठगिएको पनि जिम्मा लिनुपर्ला’ ।

उनिजस्तै सिंजा क्षेत्रका सबै स्थानियको भनाई एउटै छ । ‘कि टेलिफोन सेवा प्रभावकारी बनाईनु पर्र्यो, होईन भने देखाउने टावर मात्र राखेर हुदैन । करोडौ रकमले जिल्लाको ठाँउ ठाँउमा निर्माण गरीएका टावरले राम्रोसँग काम नगर्दा फोन बुझिदैन, तर पैसा अनिवार्य काटिन्छ, एउटै कुरा सुन्न धेरै पटक फोन गर्नुपर्छ, नराकोटका होटल ब्यवसायी हरीकृष्ण बुढाले भने ।’

नगरपालिकाभित्रै काम गर्दैन टेलिफोन
जिल्लाका ग्रामिण क्षेत्रका सेवाग्राही नागरीकले टेलिफोनले राम्रोसँग काम नगर्दा आफुहरु ठगिएको बताईरहँदा सदरमुकामसँगै जोडिएका केहि बस्तिहरुमा समेत टेलिफोनले काम गर्दैन । सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका भित्रका ८ र ९ नं वडाका अधिकांश बस्तिहरु अँझै टेलिफोनको पहुँजमा समेत पुगेका छैनन् । तलिउम घरभई जुम्ला बसपार्कमा होटल ब्यवसाय संचालन गर्दै आएका कृष्ण बहादुर रावलले गाँउउमा टेलिफोनले काम नगर्दा घरको खबर आदानप्रदान गर्न निकै समस्या भएको बताए ।

‘जवाना नँया आए तर हामि पुरानै अवस्थामा छौ । घरमा महत्वपुर्ण काम परेमा फोनले काम नगर्दा डौडेरै जानुपर्छ, या त घरका मान्छे डाँडाँमा आएर फोन गर्नुपर्छ’ उनले भने, ‘घरमा राखिएका टेलिफोनले काम नगर्दा हामि सेवाबाट बञ्चित भएका छौ ।’ सदरमुकाममै टेलिकमले आफ्नो सेवा विस्तार कार्यमा निकै ढिलासुस्ती गरीरहेको आरोप लगाँउदै यहि रप्तारले गाँउ गाँउमा पुर्ण टेलिकम सेवा छिट्टै नपुग्ने उनले दावि गरे ।

‘बसपार्क क्षेत्रमा टेलिफोनको लाईन लिनुपर्दा ३ सय बढि मिटर तार तान्नुपर्छ, यसमा धेरै रकम खर्च हुने भएकाले हामि सानो ब्यवसायीलाई मारमा पारेको छ’ उनले फेरी थपे ‘यसरी दुरसंचारको टेलिफोन र ईन्टरनेट सेवा प्रयोग गर्न सकिँदैन, टेलिफोनको डिस्टीविसन प्वाईन्ट नजिक हुनुपर्छ, टेलिकमले हाम्रो कुरा सुनुवाई गर्दैन ।’

सेवा विस्तारमा ढिलाई
जिल्लामा दुरसंचारको टेलिफोन र ईन्टरनेट सेवा विस्तारका लागि विभिन्न राजनैतिक दल, नागरीक समाज र समुहहरुद्धारा पटक पटक निबेदनका साथ पहल भएपनि त्यसको सेवा विस्तारमा भने ढिलाई भएको छ । धेरै बर्षदेखि सभा सम्मेलनमा उठ्दै आएको यो कुरा अँझै सुनुवाई भएको छैन । तर दुरसंचारको कार्यालयले भने सेवा विस्तार कार्य तिब्र गतिले भैरहेको बताएको छ । टेलिफोन र ईन्टरनेट सेवाग्राहीको संख्या ह्वातै बढेकाले समस्या देखिएको भन्दै टावरको क्षमता विस्तार कार्य रप्तारमा अघि बढेको कार्यालय प्रमुख श्रिधर अधिकारीले बताए ।

नन्दराम जैसी -कर्णाली पोष्ट दैनिक

तपाईको प्रतिक्रिया