तिला गाउँपालिका एकिकृत दिर्घकालिन योजना ः एक मेगावाट विद्युत उत्पादन देखि मिनी राराताल निर्माण


मानदत्त रावल

जुम्ला ः तिला गाउँपालिकाले एकिकृत दिर्घकालिन योजनाको मस्यौदा तयार पारेको छ । गाउँपालिकाले अहिलेको वर्तमान अवस्था देखि वि.स २०८० सालसम्म कसरी कुन स्थान सम्म पुग्ने भन्ने विषयमा बहुसरोकारवाला व्यक्तिहरुको उपस्थितिमा पञ्च बर्षिय एकिकृत दिर्घकालिन योजनाको खाका तयार पारेको हो । गाउँपालिकाले कार्यपालिका, गाउँसभा सदस्यहरु सम्पूर्ण राजनैतिक दलका नेतृत्वहरु, विषयगत कार्यालयहरु योजना निर्माणसँग सरोकार राख्ने विज्ञहरुको उपस्थितिमा पञ्च बर्षीय एकिकृत योजनाको मस्यौदा तयार पारेको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए ।


गाउँपालिकाले भुगोल जनसंख्या र सम्भावनालाई अधिकतम उपयोग गर्दै प्राकृतिक स्रोत र कृतिम भौतिक पूर्वाधार र कृषि उत्पादन योग्य नमुना गाउँपालिकाको रुपमा विकास गर्ने परिकल्पना गरेको उनले बताए । समृद्ध समुन्नत, सुन्दर भुमि तिला जैविक कृषि पर्यटन र पूर्वाधारको आधारशिला भन्ने दिर्घकालिन दृष्टिकोणको नारा सहित विभिन्न क्षेत्रगत विकास तथा परिर्वतन गर्ने मस्यौदामा उल्लेख गरेको छ ।
एकिकृत दिर्घकालिन योजना मस्यौदामा तिला गाउँपालिकाको वडा १ रारागाउँमा रहेको दुई सय किलोमिटर क्षेत्र दहचौरलाई तिला नदीको कृतिम पानी खसालेर मिनी रारातालको सम्भाव्यता अध्ययन गर्ने, समतामुलक छुईमुक्त, विभेदमुक्त गाउँपालिका निर्माण गर्ने, ११ किलोमिटर रहेको सडकब ५ वर्षमा एक ५० किलोमिटर सडक विस्तार गर्ने, पाँच सय व्यवसायिक उद्यमी उत्पादन गरी आयआर्जन तथा पेशामा बृद्धि गर्ने, एक मेघावाट विद्युत उत्पादन गरी गाउँपालिका सवै घरधुरीमा विजुली विस्तार गर्ने, नदै गुफा र त्रिवेणी धामको पुर्वाधार तयार गर्ने, फापर सिमि र आलु पकेट क्षेत्र तयार गर्ने, प्रशस्त्र स्याउ उत्पादन गरी हरेक वडामा कोल्ड स्टोर निर्माण गरी बेमौसममा विक्री वितरण गरी बढी मुनाफा आर्जन गर्ने लगाएतका विभिन्न योजनाहरु एकिकृत योजना मस्यौदा समेटिएका छन् ।

यसैगरी ५ हेक्टर जमीनमा घास उत्पादन, पशु र पशुजन्य बस्तुको २० प्रतिशत वृद्धि गर्ने, सवै गाउँबस्तीमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने, एक गाउँ एकसय घरधुरीको बस्ती विकासको परिकल्पना गरेको छ , गाईबस्तु बस्ने घर र मानिसहरुको बस्ने फरक घरको परिकल्पना गरिएको छ । यसैगरी संस्थागत विकासमा नेपालको उत्कृष्ट गाउँपालिकामा पुर्याउन प्रयास गर्ने, गाउँपालिका र वडापालिकाबाट एकै पटक एककिृत सेवा दिने, आन्तरिक राजश्व बृद्धि गर्ने लगायतका एकिकृत दिर्घकालिन योजना मस्यौदा तयार गरिएको र गाउँसभा कार्यपालिकाबाट अनुमोदन गरी कार्यन्वयन लैजाने तयारी भएको उपध्यक्ष विष्णुमाया बुढाले बताईन् ।

एकिकृत दिर्घकालिन योजना निर्माणमा दातृनिकायको प्राविधिक सहयोगमा बैशाख १९ देखि २१ गतेसम्म कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । विश्व खाद्य कार्यक्रम, सिडिपी, क्याड नेपाल र प्लान ईन्टरनेश्नल नेपालले एकिकृत दिर्घकालिन योजना निर्माणका लागि प्राविधिक सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया