डोल्पामा सेनाले ब्लास्टिङ गर्दा दुई कामदारको मृत्यु

डोल्पा । डोल्पाको चिप्लेभिरमा नेपाली सेनाले ब्लास्टिङ गर्दा उछिट्टिएका ढुंगा लागेर सडक खनिरहेका दुई कामदारको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मंगलबार दिउँसो ३ः१५ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा सेनाले ब्लास्टिङ गरेको थियो । ब्लास्टिङ गर्दा उछिट्टिएका ढुंगा सडक खनिरहेका कामदारलाई लागेको प्रहरीले जनाएको छ ।

ब्लास्टिङको ढुंगा लागेर रुकुमको आठबिसकोट नगरपालिका–१० का २१ वर्षीय देवबहादुर चन्द र वडा नं. १२ का २९ वर्षीय अमृत रानामगरको मृत्यु भएको हो । दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए । मृतक दुवैजनाको शव आफन्तजनले मंगलबार नै घर लगेको उनले बताए ।

ढुंगा लागेर रुकुमकै आठबिसकोट नगरपालिका–९ का ४१ वर्षीय शक्तिबहादुर शाही गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि रुकुम जिल्ला अस्पताल लगिएको छ ।

ब्लास्टिङको जिम्मा सेनाकै
जाजरकोट–डोल्पा सडकको खदाङ–त्रिपुराकोट सडकखण्डअन्तर्गत चिप्लेभिरमा तीन महिनादेखि काम हुँदै आएको छ । यो सडक निर्माणको ठेक्का सेनाले पाएको थियो ।

सुरक्षाको कारण देखाउँदै देशभरिका सडक निर्माणमा ब्लास्टिङको जिम्मा नेपाली सेनालाई दिइँदै आएको छ । यो सडकमा पनि सेनाले नै ब्लास्टिङ गर्दै आएको छ ।

रुकुम र रोल्पाका कामदार
ब्लास्टिङको ढुंगा लागेर मृत्यु भएका देव र अमृत पाँच महिनादेखि सडक निर्माणको काम गर्दै आएका थिए । चिप्लेभिरलगायतको खदाङ–त्रिपुराकोट सडखकण्डमा रुकुम र रोल्पाका डेढ सय कामदार काम गरिरहेका छन् ।

स्थानीय बासिन्दा भने यो सकड निर्माणमा काम गरिरहेको देखिँदैनन् । डोल्पा र जाजरकोटका बासिन्दा मजदुरीका लागि भारत जाने गरेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस