काठमान्डौ ः प्रधानमन्त्री केपी ओलीले छिमेकीसँग राष्ट्रिय लाभ, हितका लागि सन्तुलित सम्बन्ध कायम गर्ने बताएका छन् ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्र, एक अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नहुने, भौगोलिक अखण्डतालाई सम्मान गर्ने र राष्ट्रिय हितलाई सम्मान गर्दै संयुक्त वक्तव्य आएको बताए ।
उनले भने, ‘कुनैपनि कुरा, एउटा पनि शब्द, एउटा पनि व्यवहार राष्ट्रको सार्वभौम सत्ता, स्वाधिनता, आन्तरिक मामिलामा आफै निर्णय गर्ने कुरा, भौगोलिक अखण्डताको विषयमा हामीले कमजोर हुन दिएका छैनौँ ।’
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो दुश्मनी कोहीसँग छैन । हामी सबैसँग मित्रवत व्यवहार गर्न चाहन्छौँ । यो हाम्रो उद्धेश्य हो । बैरभाव कोहिसँग होइन । सम्बन्धमा तिक्तता हुनुहुन्न । तीन वर्षअघिको सम्बन्ध तनावयुक्त थियो । म प्रम हुँदा नाकाबन्दी नखोली भारत जान्न भनेको थिएँ । नाकाबन्दी खुलेपछि गएँ । सम्बन्ध बराबरीको हैसियतमा हुन्छ, दुई सार्वभौमसत्ता सम्पन्न मुलुकको रुपमा हुन्छ ।
उनले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा छिमेकीसँग व्यवहार गर्ने बताए । उनले भने, ‘यसपटक भारतीय प्रम मोदीको अभिव्यक्तिमा हाम्रो अखण्डता, सार्वैभौमसत्ता ,आवश्यकता र प्राथमिकताको आधारमा अघि बढ्दा आफूलाई चित्त नदुख्ने भन्ने खुलस्त प्रकट भएको छ ।’
प्रधानमन्त्री ओलीले नेपालको अखण्डतामाथि चुनौती गरेर भारतका कतिपय व्यक्तिले अत्यन्तै अनुचित धृष्टता गरको बताए ।
उनले अब नेपाल भारत सम्बन्ध नयाँ स्तरमा उठेको बताए । प्रधानमन्त्री ओलीले यो भ्रमणबाट अहस्तक्षेप, पारस्परिक लाभका आधारमा अघि बढ्ने परिस्थितिको निर्माण भएको दावी गरे ।
उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आएर जुन मित्रता अभिवृद्धिको लागि योगदान गर्नुभएको छ, धन्यवाद । सिमानामा डुबाउछु भन्नु भएन, नबनेका कुरा बनाउने भन्नुभएको छ । म अपेक्षा गर्छु, यी कुराहरुको कार्यान्वयनमा अब हामी रुचिका साथ अघि बढ्नेछौँ ।’
मोदीको भ्रमणलाई उठेका बिरोधलाई सम्बोधन गर्दै उनले भने, ‘सम्बन्ध सुधार्नुपर्छ तर, हेपाई सहनुहुन्न । अन्तराष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्छ । विगतमा तिक्तता थियो । तीन वर्षअघि भारतसँग तनावपूर्ण अवस्था थियो । त्यहि अवस्थामा बस्नुहुन । उत्तर र दक्षिण कोरियाको तनावपूर्ण स्थिति त कम भएको छ । सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, विभिन्न कारणले तलमाथि हुन्छ ।’
उनले राष्ट्रिय हितलाई सिरोधार्य गरिएको बताए । ‘साथीहरु ढुक्क हुनुभए हुन्छ । वक्तव्यहरु सार्वजनिक छन् । हामीले जारी गरेको घोषणापत्र, संयुक्त वक्तव्य सबै सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’
उनले १९५० को सन्धिको अध्यावधिकका लागि चार, चार जनाको प्रवुद्ध समुहको गठन गरेको जानकारी दिए । साथै महाकाली नदिमाथि तीन वटा पुल बनाउने प्रस्तावमा भारत पक्ष सकारात्मक बताए ।
काठमाडौं रक्सौल रेल्वे प्राविधिकहरुको सर्वोच्च कार्यदल बनाएर सम्झौता पत्रमा छिट्टै हस्ताक्षर गर्ने कुरा भएको, भारतको तर्फबाट लगभग कार्यदल बनिसकेको भन्दै आफूहरुको तर्फबाट पनि कार्यदल बन्ने बताए ।
उनले रेल्वे भारतकै खर्चमा सर्भे र निर्माण हुने बताए । नदिमार्फत जलमार्ग अघि बढाउनेबारे आफ्नो भारत भ्रमणमै कुरा अघि बढाइएको भन्दै प्रधानमन्त्री ओलीले प्राविधिकहरुको टोली बनाएर तुरुन्त सर्वे सुरु गर्ने सहमति भएको बताए ।
नेपाल र भारतबिच असाधारण व्यापार असन्तुलन भएको भन्दै कुन–कुन मार्गबाट त्यसलाई घटाउन सकिन्छ आगामी तीन वर्ष्भित्र व्यापार लगानीको मुल्यांकन गर्ने र भारतीय व्यापारमा नेपाली उत्पादन बढाउने बारे सहमति भएको बताए ।
संसदलाई सम्बोधन गर्दै उनले भारतसँग थप चारवटा एयर रुटका लागि प्रताव गरेको जानकारी दिए । दुबै देशका प्राविधिक देशले अध्ययन गरेर २२ सेप्टेम्बरभित्र टुंगो लाग्ने सहमति भएको बताए ।
यस्तै भारतसँग यसअघि भएका उर्जा व्यापार सन्धिहरु कार्यान्वयनका लागि काम अघि बढाउने सहमति भएको बताए । ‘ रोकिएका काम अघि बढाउने सहमति भएको छ । अरुण तेस्रो को शिलान्यास गरियो । चार वर्ष ट्रान्मिसन लाईन तयार गर्न सकिने र आयोजना सम्पन्न गर्न ५ वर्ष लाग्छ । दुवै काम एकैसाथ सकेर ५ वर्ष्भित्र अरुण थर्ड सञ्चालन हुनेछ ।’
सिमानामा बाटो बनाउने नाममा बाँध बाध्ने जस्ता नाममा नेपालको जमिन डुवानमा पर्ने अनुचित काम भएकाले अघिल्ला भ्रमणमा समेत कुरा उठाएको र अहिलेपनि कुरा उठाएको बताए ।