चौधबिसबासीको आयआर्जनको मुख्यस्रोत यार्सा

बच्चा देखि युवासम्म यार्सा टिप्न लेकतिर

जुम्ला ः जुम्लाको पुर्वी भेग पातारासी गाउँपालिका चौधबिस बासीको बर्षदिनको आयआर्जनको मुख्यस्रोत भनेकै बहुमुल्य जडिबुटि यार्सागुम्बा नै हो । यहाँका स्थानीय बासीले बर्षदिन भरिपुग्ने आर्थिकस्रोत यही यार्साबाट जुटाउने भएकाले यो सिजनमा घरको सवै काम छोडेर बच्चा देखि युवासम्म यार्सा संकलन गर्न लेकतिर जाने गर्दछन् । जेठ १ गतेबाट विशेष गरी डोल्पा र मुगु जिल्लाका पाटनमा पाईने बहुमुल्य जडिबुडी यार्सागुम्बा संकलन कार्य भएको छ । आर्थिक आम्दानीको मुख्यस्रोत मानिने यार्सागुम्बा संकलनका लागि ज्यानै जोखिममा राखी कर्णाली युवायुवती साना बच्चाहरु संकलन गर्न जान्छन् ।

यार्सा संकलन गर्नु सिजनल व्यापार जस्तै भएको छ । आर्थिक आम्दानीले फाईदा जनक भएपनि ज्यानको जोखिम पनि उतिकै हुन्छ । तर पनि यार्सा संकलन प्रति कर्णालीका युवायुवतीको मोह घटेको छैन् । यतिबेला गाउँबस्तीनै शुन्य पारेर सबै पाटन तीर लागेका छन् । गाउँनै सुनसान गरी १२ वर्ष देखि माथि ५० वर्ष भन्दा तलका सबै पाटनतिर गएका छन् । गाउँमा कसैलाई सारो गा्रह्रो परे पनि रेखदेख गर्ने मान्छे समेत छैनन् । भने, कोही मर्दा पर्दा मलामी जाने मान्छेहरुको अभाव गाउँमा छ । दुई महिनामै वर्षभरी पुग्ने आम्दानी हुने मोहले अधिंकाश युवायुवतीले विरामी बुढा आमा छोडेर पनि पाटनतिर लागेका छन् । भने, कतिले विद्यालय नै छोडेर हिडेका छन् । पेरेगाउँ जुम्लाको पुर्वीमा पर्ने पातारासी गाउँपालिकाको २ नम्बर वडाको एक गाउँ हो । जो पातारासी हिमालको फेदमा अबस्थित छ । अहिलेसम्म मात्रै त्यहाँका ८ सय बढि युवा युवती, बच्चाहरु यार्सागुम्बा संकलनका लागि मुगुका विभिन्न पाटन तर्फ लागेका छन् । झण्डै ४ सय घरधुरी रहेको पेरे गाउँ अहिले सुनसान छ । कोही विरामी, कोही ६० नाघेका बृद्धबृद्धाहरुकै भरमा गाउँ छ ।

एक घरबाट कम्तीमा पनि दुई जनाका पाटनतिर गएका छन् । यो दर हेर्दा जुम्लाका झण्डै ४२ हजार युवायुवती मध्ये झण्डै ८० प्रतिशत पाटनतिर गएको अनुमान गरिएको छ । तर घरमा जतिनै बच्चा भए, बढि भए छोराछोरी भए त्यहि घरका सबै नै पाटनतिर लागेको ५८ वर्षीय स्थानीय चन्द्रविर कामीले बताए । उनका अनुसार गाउँमा त कोही विरामी पर्दा अस्पताल सम्म लिने मान्छे त परै जावस मर्दा मलामी जाने मान्छेपनि छैनन् पेरे गाउँमा । जुम्ला सहित कर्णालीका अधिंकाश गाउँबस्ती यतिबेला सुनशानै छन् । पेरे गाउँ एक उदाहरण मात्रै हो । जुम्लाका ,छुम,चौर,तल्फी,हुरी महरी लगायतका गाउँ बस्ती मर्दा पर्दा साथ दिने मान्छे छैनन् ।
यार्सा संकलन रहर भन्दा बाध्यता
यार्साटिप्न जानु कसैलाई रहर त कसैलाई बाध्यता भएको छ तर जुम्ला पेरे गाउँका गोपाल कामी यार्सा टिप्नका लागि मुगुको पाटन पुगेका छन् । उमेर भर्खर १३ वर्ष पुगेका उनलाई यार्सा टिप्न जानु रहर भन्दा बाध्यता बन्यो । पारिवारिक अबस्था निकै कमजोर छ । पढ्न पनि पाईन, बुवा आमा वृद्ध अवस्थाका छन् । गाउँमा रोजगारी छैन्, ज्यानकै जोखिम राखेर पनि नातेदारसंग म यार्सा टिप्न लेकतिर गएको उनले बताए । उमेर सानो भएपनि बा आमाको दुखले मलाई देख्न सकिन धेरै नभएपनि अलि घरखर्च चलाउने भएपनि सहज हुने उनको झिनो आशा छ । त्यस्तै अर्का सुर्य विकको पनि पारिवारिक अबस्था निकै कमजोर छ । उनलाई पनि प्रत्येक वर्ष पाटनमा नगई हुदैन । परिवार ठुलो छ आम्दानी कुनै स्रोत छैन । नजाउ ऋण थुप्रिएको छ । घरमा अर्को भरपर्दा मान्छे छैन् । उनले थपे, पाटनबाट नफकुन्जेल परिवारको ज्यानमा केही तल माथि भएपनि पश्चताप गर्ने बाहेक अरु सबै भगवानकै भरोसा गरी जानु पर्ने उनको भनाई छ । त्यस्तै विरामी बा आमा छाडेर पाटनतिर जानु परेको अर्का स्थानीय युवा कन्न कामीले बताए । साना ठुला नभनी खर्चको जोहो गर्ने आशाले पनि चुनौतिलाई पार गर्दै जानु बाध्यता भएको उनले सुनाए । यदि अहिले यार्साटिप्न पाटनतिर नगए चार्डपर्वमा नुन तेल गर्न पनि सकस हुने अबस्था छ । त्यसैले पनि जानु बाध्यता बन्यो । पातारासी गाउँबाट मात्रै ५ हजार बढि यार्सा संकलनका लागि घर छाडेका छन् । तर सबैको एउटै सपना छ दुई महिनामा वर्षभरीको खर्च जुटाउने त्यहि आशाका साथ हामी पाटनमा गएको बताए ।
गाउँमा छैन् रोजगारी
गाउँमै रोजागारी भईदिएको भए जोखिम मोलेर बा आमा छोडेर पाटन तीर जानु कुनै रहर थिएन । पातारासीकै एक युवा हरि बहादुर विकले भने, स्थानिय सरकार आयो । तर युवा बेरोजागरीका दिन फेरिएनन । अघि पछि कमाउने कुनै आधार छैन् । जेठ असारका महिनामा कर्णालीका पाटनमा पाईने यार्सा नटिपे कसरी पेट पाल्ने । त्यहि भएर पनि जान बाँध्य छौ । विकले सुनाए । स्थानिय सरकारले विभिन्न विकास गर्यो, तर युवा उद्यमशिलताका विषयहरु उपेक्षामा परे । न रोजगार न सिप मुलक काम पाईयो अलि पढेका साथी काला पहाड गए । हामी बाँकी साथीहरु यस्तै, सिजन अनुसार पाटनतीर जाने, कसैको घर लगाउने काम गर्छौ उनले सुनाए । सबै युवा युवती भरी पाटन तीर गएपछि गाउँमा भईरहेका केहि विकास निमार्णका कार्यहरु पनि ठप्प भएका छन् ।
युवा उद्यमशिलतामा गम्भीर छौँ
ज्यानको जोखिम राखेर पाटनमा जाने, गाउँका विकास ठप्प हुने क्रम अब धेरै बाँकी छैन् । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले भने, पाटनमा जान नै रोक्न सकिदैन् । तर युवा उद्यमशिलताका विभिन्न कार्यक्रमलाई अघि सारेर रोजगारी सृजना गरिने बताए । युवाहरुलाई साथमा नलिए समृद्धी सम्भव छैन् । त्यसैले आम्दानीका लागि यार्सा टिप्ने समय कुर्नु पर्ने अबस्थाको अन्त्य गरिने समेत उनको भनाई छ । सबै भन्दा पातारासी र गुठिचौर गाउँपालिकाबाट बढि युवायुवती जान्छन् । यसलाई क्रमिक रुपमा घटाउने समेत उनले उल्लखे गरेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस