वर्षौपछि डोजरले खनेर पानी निस्केपछि गाँउमा खुसियाली


पवित्रा विश्वकर्मा

जुम्ला । तातोपानी गाउँपालिका ४ जैतपुर गाउँमा पर्ने रडिखेल्लामा रहेको पानीमुलमा डोजर लगाएर पानी निकालिएको छ । वर्षौ अघि देखी सुकेको पानी डोजरले खनेर निकालिएको हो । जलवायु परिर्वतन र वन फडानी तथा स्थानियले पानीमुलको सरक्षण गर्न नसक्दा रडिखेल्लामा रहेको पानीमुल सुकेको थियो । पानीको मुहानदेखी २ सय मिटर टाढा जमिन खन्दा पानी निस्केको स्थानिय धनंञ्जय कामीले बताए । समुदायको सक्रियतामा ४ लाख रुपैयाको लागतमा डोजर लगाएर पानी निकालिएको उनको भनाइ छ ।

सुकेको पानी वर्षाै पछि खनेर निकाल्दा स्थानियवासी खुसी भएका छन् । पानी निष्कदा जैतपुर र गौतमबाडा गाउँका करिब १ सय २० बढि घरधुरी प्रत्यक्ष लाभान्वीत भएका छन् । गौतमबाडाका हरि बहादुर खत्रीले भने, ‘मुलबाट करीब ८÷१० वटा धारा राख्न मिल्ने पानी निस्कियो । अब पिउन तथा स्याउ खेती र अन्य सिचाई गर्न सहज हुने भयो ।’ उनिजस्तै जैतपुर गाउँका ४० र गौतमबाडाका ८० घरधुरीले वर्षौ पछि सुकेको मुलबाट पानी निस्किएपछि राहातको महुशस गरेका हुन् ।

मुलबाट पानी निस्कीएपछि रडिखेल्ला क्षेत्र आसपासमा वस्तीको विकास गर्नुका साथै स्याउ खेतीको विस्तार गरीने स्थानिय कुलचन्द्र गौतमले बताए । यसअघि त्यहाँका कृषकहरुले रडिखेल्ला आसपास क्षेत्रमा लगाएको स्याउ खेतीमा सिँचाई गर्न निकै सहज हुनेभएको छ । यस अघि गाउँको विभिन्न प्रयोजनका लागि जम्मा गरिएको रुपैयाले सार्वजनिक हितका लागि पानीको मुहान खनिएको हो । सहजै पानी निष्केपछि स्याउ खेतीका लागि सिचाई गर्नुको साथै आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया