अन्तराष्ट्रिय रेफ्री पुर्ण चौँलागाईको सफलताको कथा -भलिबल खेल्दा बुवाको कुटाइ खाइयो


भलिवल नखेली हुर्कनेहरु कमै होलान्। देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने भएर पनि यो खेल लोकप्रिय छ। जुम्लाका पूर्ण चौंलागाईले पनि स्कुले जीवनमा भलिवल खेल्दै अन्तर्रा्ष्ट्रिय रेफ्रीसम्मको यात्रा तय गरे। विकासका दृष्टिले कर्णली अझै दुर्गम छ। त्यही कर्णलीको जुम्लाबाट यो यात्रा तय गर्नु पक्कै पनि सहज थिएन। तर निरन्तरको लगाव र मिहिनेतले उनलाई सफलताको शिखरमा पुर्यायो।

दुर्गम भन्ने वितिक्कै अभाव र विकास नभएको ग्रामिण क्षेत्र भन्ने बुझाई रहन्छ। तर त्यही क्षेत्रबाट सुगमलाई धान्ने प्रतिभा उत्पादन हुन्छन् भन्ने उदाहरण बने चौलागाईं। भलिबललाई प्यासन बनाएका पूर्ण जुम्लाले उत्पादन गरेका खेलाडी हुन्। उनी नेपालका ५ अन्तर्रा्ष्ट्रिय भलिबल रेफ्रीमध्येका एक हुन्। जुम्लाको तातोपानी गाउँपालिका लाम्रामा जन्मिएर भलिबल क्षेत्रमा होमिएका पूर्ण खेलाडी हुँदै क्षेत्रीय, राष्ट्रियस्तर मात्र होइन अन्तर्रा्ष्ट्रिय रेफ्री बन्न सफल भए।

गत वर्ष थाइल्याण्डमा एसियन भलिबल फेडेरेसनको एसियन रेफ्री क्यान्डिडेटकोर्ष गरेपछि पूर्ण अन्तर्रा्ष्ट्रिय भलिबल रेफ्री बनेका हुन्। लेभल वान प्रशिक्षकसमेत रहेका पूर्णसँगै नेपालमा टहलसिंह थापा, गौतमप्रसाद लाछिबा, कुलबहादुर थापामगर र चन्द्रबन्दना राई अन्तर्रा्ष्ट्रिय रेफ्री छन्।

एक वर्षअघि एसियन रेफ्री क्यान्डिडेटकोर्ष गरेका पूर्णले थुप्रै गेमहरु खेलाइसकेका छन्। त्यसमध्येको महत्वपूर्ण गेम हो हङकङ र मकाउसँगको मैत्रीपूर्ण खेल। सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले गत जनवरीमा हङकङ र मकाउको राष्ट्रिय टोलीसँग उनीहरुकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। तुलनात्मक रुपमा बलियो मानिएको हङकङसँगको खेल नेपालले ३–२ सेटले जित्यो। यो खेलको अन्तिमसेट पूर्णले नै खेलाएका थिए।

जुम्लादेखि काठमाडौं यात्रा

सानैदेखि गाउँमा भलिबल खेलिरहने पूर्णले एउटा खेलमा रेफ्रीले पक्षपात गरेपछि उनको मानसपटलमा ठूलो भएपछि भविष्यमा रेफ्री बन्छु भन्ने सपनाको विजारोपण भयो। त्यसपछि उनले निरन्तर भलिबललाई पछ्याए। २०५१–०५२ तिर जुम्ला मात्रै नभई देशभर भलिबलको क्रेज रहेका बेला पूर्ण पढ्न छाडेर भलिबल खेल्न जान्थे। कक्षा ७ मा पढ्दै गर्दा एक दिन पढ्न भनेर हिँडेका पूर्ण भलिबल खेल्न लागे। राति अबेर मात्र घर फर्किएपछि ‘पढ्न छोडेर भलिबल खेल्ने’ भन्दै बुवाको कटाइ पनि खाए। तर, खेल्न छाडेनन्। बरु बुवाको कुटाइपछि कक्षा ८ मा पढ्दै गर्दा त्यतिखेरको वीरेन्द्र रनिङ शिल्ड प्रतियोगितामा भाग लिए।

उनी उच्च शिक्षा अध्ययनका लागि २०५७ सालमा राजधानी काठमाडौं हान्निए। काठमाडौं आएपछि पनि उनको ध्यान पढाईमा कम र भलिबलमै बढी थियो। यही सेरोफेरोमा एकदिन चिडियाखाना हेर्न जावलाखेल पुग्दा जावलाखेल मैदानमा भलिबल खेलिरहेको देखे। करिब एक घण्टा उभिएर खेल हेर्दा मैदानको छेउछाउमा झुन्ड्याएको होडिङबोर्डमा उनको नजर पुग्यो। जहाँ लेखिएको थियो– यहाँ भलिबल प्रशिक्षण गराइन्छ।

भलिबलमा अगाडि बढ्ने उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो यही होडिङबोर्ड। जावलाखेल भलिबल प्रशिक्षण क्लबमा प्रशिक्षणका लागि भर्ना भएपछिको केही दिन त उनी अन्डरह्यान्ड र ओभर ह्यान्ड पासमै सिमित भए। भलिबलका थुप्रै नियमहरु पालना गर्नुपर्ने कारण उनलाई दिकदारी नलागेको होइन, तर निराश भएनन्।

इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता निश्चित छ भन्ने भनाईलाई जुम्लाका पूर्णको ‘जिरो लेभल’देखिको आजसम्मको प्राप्त सफलताले सिद्ध गरेको छ।

बुबा उमाकान्त चौलागाई र आमा पूर्णवती चौलागाईको कान्छो सन्तानको रुपमा जुम्लामा जन्मेका पूर्णलाई अलिकति बुझ्ने भएदेखि नै भलिबल खेलप्रतिको मोहले छाडेन। स्कुल पढ्दादेखि भलिबल खेलप्रति निकै रुची राख्ने उनी गृहजिल्ला जुम्ला र अन्य विभिन्न ठाउँको क्लबको क्याप्टेन भएर कैयौ पटक भलिबल प्रतियोगिता खेलेका छन् र थुप्रै पटक ट्रफी समेत उचालेका छन्।

भलिबल खेलमा माहिर भनेर जिल्लामा राम्रो परिचय बनाइसकेका पूर्णले जावलखेल भलिबल प्रशिक्षण क्लवमा प्रशिक्षण लिएपछि खेलमा थप निखारता मात्रै आएन, त्यसपछि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्न परेन।

जावलाखेलको प्रशिक्षण पश्चात उनले सोही क्लवको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाए। यसका अलवा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै थुप्रै पटक राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए। खेलाडी जीवनमा उनले थुप्रै दुःख र कष्ट ब्यहोरेपनि कहिल्यै हरेस खाएनन। त्यसैकारण त उनलाई नयाँ–नयाँ अवसरहरुले पछ्याइ रह्यो।

राष्ट्रिय खेलकुद परिषद्बाट एनआईएस भलिबल प्रशिक्षक कोर्ष लिएका पूर्णले विसं २०६७ सालमा सम्पन्न छैटौ राष्ट्रिय खेलकुदमा सल्यान जिल्ला खेलकुद विकास समितिको मुख्य प्रशिक्षकको रुपमा सफल भूमिका निर्वाह गरे। त्यस्तै, विसं २०६९ मा इन्टरनेशनल लेबल वान भलिबल प्रशिक्षण कोर्ष, २०६६ सालमा क्षेत्रीय रेफ्री कोर्ष र २०७० सालमा राष्ट्रिय रेफ्री कोर्ष सम्पन्न गरेका छन्।

विसं २०७२ सालमा नेपाल भलिबल संघको सिफारिसमा थाइल्याण्डको बैंककमा सिनियर रेफ्री कोर्ष लिएका उनले २०७३ सालमा सातौं राष्ट्रिय खेलकुदमा मध्यपश्चिमाञ्चल क्षेत्रकै राष्ट्रिय भलिबल रेफ्रीको संयोजकको भूमिका निर्वाह गर्ने मौका पाए। त्यस खेलमा मिलेको सफलताले पनि उनले थप वाहवाही कमाए।

त्यसपछि विसं २०७४ सालको जेठ महिनामा उनले थाइल्याण्डस्थित रामखेङहाङ युनिभर्सि्टिमा एसियन भलिबल फेडेरेसनले आयोजना गरेको एसियन रेफ्री कोर्षमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने सुनौलो मौका उनले पाए। यस कोर्ष सम्पन्न गरेसँगै पूर्ण अब अन्तर्रा्ष्ट्रिय स्तरकै भलिबल खेल खेलाउन सक्षम भएका छन्। अर्थात उनी अन्तर्रा्ष्ट्रिय भलिबल रेफ्री बनेका छन्।

जावलाखेल क्लबमै प्रशिक्षण लिदा गुरुहरुले उनीभित्र केही क्षमता देखिसकेका थिए, त्यही कारण होला उनलाई रेफ्री बन्न गुरुहरुले नै प्रोत्साहन गर्थे। त्यसकै परिणमा आज पूर्ण यो स्थानमा पुगेको उनी बताउँछन्।

कलिलै उमेरमा गाउँमा एउटा खेलमा सहभागी हुँदा रेफ्रीले गरेको पक्षपाती निर्णय मन नपरेर ठूलो भएपछि रेफ्री बन्छु भन्ने सपना बोकेका पूर्णको सपना छिटै साकार भएको छ। उनी भन्छन्– तर जिन्दगीमा त्यस्तो पक्षपाती बन्दिन, हजारौ खेलाडी र दशर्कको मन जित्ने र यस क्षेत्रलाई थप व्यवस्थित बनाउनेतिर लाग्ने छु।’ सरकारले भलिबल खेललाई नेपाल राष्ट्रिय खेलमा समावेश गरेकोमा आफ्नो जिम्मेवारी थप बढेको महसुस पूर्णले गरेका छन्।

तपाईको प्रतिक्रिया