खाडीको चर्को तापक्रमले शुक्रकीटमा ह्रास


काठमाडौं । खाडीको चर्को गर्मीमा काम गरेर स्वदेश फर्केका श्रीमानलाई अघि लगाएर निन्याउरो अनुहार लगाउँदै युवतीहरु अचेल निसन्तान विशेषज्ञ डा. सविना श्रेष्ठ सामु जँचाउन आउँछन्। उनीहरुको प्रायः एउटै दुःखेसो हुन्छ,‘जति यौन सम्पर्क गरेपनि सन्तान बसेन।’

खाडी राष्ट्रमा चर्को गर्मी सहेर काममा तल्लीन भएका युवाहरु स्वदेश फर्केपछि सन्तान नभएकोमा चिन्तित छन्। ‘घर आएको बेला सुरुको दुई महिना कोसिस गर्छन तर गर्भ नबसेपछि विदेश जानेबेला निन्याउरो अनुहार लगाउँदै सन्तान चाहियो भन्दै आउँछन ’ डा. श्रेष्ठको अनुभव छ। कतार,साउदी अरब र मलेसियामा काम गरी फर्केका दम्पतीहरु परामर्श र उपचारका लागि अस्पताल र निसन्तान केन्द्रमा धाउने गरेका छन्।

गर्भ नबस्नुमा पुरुष र महिलाको बराबरी जस्तो भूमिका हुन्छ। तर, पछिल्लो समय खाडी राष्ट्रमा काम गरी फर्केका पुरुषमा शुक्रकीटको संख्यात्मक र गुणात्मक ह्रास आएको परीक्षणबाट पत्ता लागेको छ। डेढ दशकदेखि निसन्तान दम्पतीहरूको उपचारमा संलग्न डा. श्रेष्ठले गरेको एक अध्ययनमा चर्को गर्मीमा काम गरेर फर्केका युवाहरुको शुक्रकीटको संख्यात्मक र गुणात्मकतामा ह्रास पाइएको हो। टेष्टटयूव बेबी उपचार सेवा प्रदान गर्दै आएको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र आफ्नो क्लिनिकमा आएका पुरुषहरुको शुक्रकीट परीक्षण गर्दा सो तथ्य पत्ता लागेको डा. श्रेष्ठले बताइन्। स्वस्थ शुक्रकीट र महिलाको डिम्बबीच मिलन भएमा मात्र गर्भ बस्छ। पुरुषको शुक्रकीट महिलाको डिम्बसँग मिलेमा भ्रुण बन्ने प्रक्रिया सुरू हुन्छ।

विवाह गरेको एक वर्षसम्म परिवार नियोजनको साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गर्दा पनि गर्भ बसेन भने चिकित्सा भाषामा निसन्तान भनिन्छ। तर, वैदेशिक रोजगारीबाट फर्केकाहरु भने एक वर्षसम्म पत्नीसँग सम्सर्ग गर्न पाएका हुँदैनन। करीब १४ प्रतिशत युवाहरु रोजगारीका लागि विभिन्न मुलुक गएका छन्। विवाह गरे लगत्तै यौन सम्बन्ध राखेर कतार गएका एक युवा फर्केर सँगै बस्दा पनि गर्भ नबसेकोमा चिन्तित देखिन्थे। नीजि अस्पतालमा पत्नीसँगै आएका ती युवाले भने, ‘बच्चा जन्माउने भनेर नै तीन वर्षपछि फर्केर घर आएको हुँ।’ कोख रित्तो हुँदा दम्पतीले तनाव लिने गरेको र तनावका कारण पनि गर्भ बस्नमा कठिनाई हुने डा. श्रेष्ठ बताउँछिन्। सात हजार दम्पत्तिको समस्या अध्ययन गरेको उल्लेख गर्दै उनी थप्छिन,‘ खाडी राष्टका विभिन्न मुलुकहरुमा ग्याँस स्टेशन, संरचना निर्माण तथा भान्छामा काम गरेकाहरुमा शुक्रकीटमा असर परेको पाइएको छ। सयजना पुरुषहरुमध्ये पन्ध्रदेखि बीस जनाको शुक्रकीटमा नकारात्मक प्रभाव परेको पाइएको हो।’ एक वर्षसम्म पत्नीसँग नियमित शारीरिक सम्बन्ध नराखेका कारण उनीहरुलाई निःसन्तानको परिभाषाले नसमेटे पनि समस्या भयावह रहेको चिकित्सकहरु बताउछन्।

डा. श्रेष्ठ भन्छिन, ‘वीर्य उत्पादनका लागि टेष्टिजको तापक्रममा भरपर्छ। चर्को गर्मीमा काम गरे फर्केकाहरुको वीर्य उत्पादन र शुक्रकीटको गुणस्तरमा ह्रास आएको छ।’ २६ वर्षदेखि ३५ वर्षका ४७ दशमलव १५ प्रतिशत जनसंख्या प्रजनन योग्य रहेको छ।

यौन सम्बन्धमा पनि कमी
गुणस्तर र संख्यामा पनि कमी
३७ डिग्री भन्दा बढीमा निरन्तर काम गर्दा क्षति
खाडी राष्ट्रबाट फर्केका युवा चिन्तित
चर्को तापक्रममा काम गर्दा शुक्रकीटमा असर
चिन्ता, अनिद्रा र पोषणयुक्त खानपानको कमी
संरचना निर्माण तथा कारखानामा चर्कोमा घाममा काम गर्नेहरु एक(दुई महिनाको छुट्टीमा घर फर्कंदा टेष्टिजको तापक्रम सन्तुलनमा आउन पाउँदैन। पुरुष प्रजनन क्षमता न्यूनिकरणका लागि अत्यधिक तापक्रमले नकारात्मक प्रभाव पारेका हुन्छ। केही महिनाको बसाइपछि पुनः विदेश जाने हतारो हुन्छ। डा. श्रेष्ठ भन्छिन, ‘तापक्रम सन्तुलनमा ल्याउन नै दुईदेखि तीन महिना लाग्छ। त्यतिबेला उनीहरुलाई काममा फर्कन हतारो भइसकेको हुन्छ। त्यस्तो अवस्थामा यौन सम्पर्क गर्दा गर्भ नबस्ने संभावना हुन्छ।’ ३७ डिग्री भन्दाबढी तापक्रममा बसेर निरन्तर काममा खटिंदा शुक्रकीटमा समस्या हुने गरेको छ। घरमा आएपछि बसाई अवधि लम्ब्याउनु पर्ने खाँचा रहेको निसन्तान विशेषज्ञहरुको सुझाव छ।

विश्व स्वास्थ्य संगठनले २० देखि २५ मिलियन पर एमएल भन्दा धेरै शुक्रकीट हुनुपर्ने जनाएको छ। तर, त्यसमा आधा भन्दाबढी जिउँदो हुनुपर्छ। जसमध्ये २५ प्रतिशत सक्रिय भएमात्र पनि गर्भ बस्न सक्छ। औषधि सेवन गरेर र पुरुषको शुक्रकीट निकालेर श्रीमतीको पाठेघरमा राखेर उपचारात्मक पद्धति अपनाउन सकिने चिकित्सकहरुको भनाइ छ।

निसन्तान तथा हर्मोन विशेषज्ञ डा.उमा श्रीवास्तव खाडी राष्टमा काम गर्ने पुरुषहरु शरीरले थाम्न सक्ने भन्दाबढी तापक्रममा काम गर्नुपर्ने र खानपान लगायत अन्य जीवनशैली नमिल्दा शारीरिक दुर्बलता हुने बताउछिन्। उनी भन्छिन,‘दिनहुँ चर्को तापक्रममा काम गर्दा पुरुषहरुको शुक्रकीटमा असर गरेको हुनसक्छ। बढी तापक्रमले शुक्रकीटमा नकारात्मक असर गर्छ।’बच्चा बिरामी भए तेल मालिस गरेर तातो गराउने चलन गलत भएको उनले बताइन।

घरदेखि टाढा बस्दा हुने तनाव, पोषणयुक्त खानेकुराको अभाव, निरन्तर काममा खटिनु पर्ने अवस्था, अनिद्रा, तनाब,शारीरिक दुर्बलता लगायतका कारण पनि शुक्रकीटको उत्पादन र गुणस्तरमा असर पर्ने डा. श्रीवास्तव बताउछिन्। सुर्ती तथा मदिरा सेवनले पनि शुक्रकीटलाई असर पार्ने चिकित्सकहरुको भनाइ छ।

घरमै बसेको वा वैेदेशिक रोजगारीबाट फर्केको अर्को व्यक्तिको फ्याट्ट सन्तान भइदियो भने आफूलाई दोब्बर पीडा थपिने उपचार गर्न आएका दम्पत्ति बताउछन्। वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल पुरुषमा समस्या देखिएपनि दोष चाहिं महिलालाई मात्र दिने संकुचित सोंच रहेकोमा दुःख व्यक्त गर्छन। उनी भन्छन,‘ कोख रित्तो हुने कारणबारे अझैं व्यापक जनचेतना फैलाउनु पर्ने खाँचो छ।’

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया