कर्णाली प्रिमियर लिग – सेमिफाइनल समीकरण पूरा


सुर्खेत । कर्णाली प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा सूमह ‘ए’ बाट रुपन्देही(११ विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । यस्तैसमूह ‘बी’ बाट धनगढी क्रिकेट एकेडेमी विजेता र मध्यपश्चिम क्रिकेट क्लब उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाए ।

रुपन्देही, धनगढी र मध्यपश्चिम यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए भने त्रिभुवन आर्मी क्लबले बिहीबार भेरीगंगा क्रिकेट क्लबलाई आठ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले १२ ओभरमा घटाइएको खेलमा चार विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो । उसका लागि तिलक थापाले सर्वा्धिक २० रन बनाए । आर्मीका जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले एकएक विकेट हात पारे । ६४ रनको सामान्य लक्ष्य आर्मीले ७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ तथा राजु रिजाल र भीम सार्कीले समान १२ रन बनाए । भेरीगंगाका जनादेश चुनाराले दुई विकेट लिए ।

शुक्रबार रुपन्देही(११ र मध्यपश्चिम क्रिकेट क्लब तथा धनगढी क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख नगद र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया