कालिकोटको फोइकोट छाउगोठ मुक्त


कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका (३ फाइकोटलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि उक्त गाउँलाई भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो ।
नगरपालिकाका ११ वटा वडा मध्ये दुईवटा वडा छाउगोठ मुक्त घोषणा भएका छन् । छाउ प्रथा नमान्ने, गोठमा नबस्ने, खान बस्नमा विभेद नगर्ने वडाबासीहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् ।

तिलागुफा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता तथा वडा नं १ का वडा अध्यक्ष दलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सामुहिक प्रतिवद्धता भएको छाउगोठ मुक्त वडा कार्यक्रममा महिलाहरुलाई महिनावारी भएको समयमा सुरक्षित बास र पोषिलो खानेकुरा खुवाउने र घर बाहिर नबसाल्ने सबैले वाचा गरे ।

वडा अध्यक्ष कटुवालले नगरका सबै वडासहित नगरलाई नै छाउगोठ मुक्त नगरका रुपमा घोषणा गर्ने अभियान संचालन गर्ने बताए । उनले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपढी प्रथालाई न्युनिकरण गर्न वडास्तरबाट अभियान चलाउने जानकारी दिए । तिलागुफा नगरपालिकाको वडा नं. ३ मा रहेका ३ सय २१ घरधुरीहरु अब छाउगोठ मुक्त भएको वडाअध्यक्ष शाहीले बताए ।

उनले छाउपढी प्रथाको अन्त्यका लागि आफुबाटै सुरुवात गरेको बताए । उनले भने, ‘परम्परादेखि प्रचलनमा रहेका सकारात्मक कुराहरुरुको संरक्षण र गलत कुराहरुको अन्त्य गर्न युवाहरुले नेतृत्व लिनु आवश्यक छ ।आफ्नो वडामा रहेका सबै सरोकारवालाहरुको सहयोगमा छाउगोठ मुक्त गाउँ बनाउन सहज भएको हो ।’

स्वास्थ्य चौकी फोइकोटकी इन्चार्ज बास्मती शाहीले महिलाहरु आफैले म छुई छु नछुनुस भनेर पुरुषहरुबाट किनारा लाग्दा यो प्रथा न्युनिकरणमा चुनौती रहेको बताइन् । उनले फोइकोटका स्थानीयले यसलाई कुसंस्कारका रुपमा बुझेर छाउगोठ मुक्त वडा बनाउन सफल भएको बताउदै अभियानलाई नगरका सबै वडाहरुमा व्यापकताका साथ चलाइने बताइन् ।

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया