गैरकानुनी रुपमा रुकुम पुर्याएका जुम्लाका बालबालिकाको उद्धार


कर्णाली पोष्ट दैनिक

जुम्ला ः गैरकानुनी रुपमा पश्चिम रुकुम जिल्ला पुर्याएका २४ जना जुम्लाका बालबालिका एक अबैध बालग्रहबाट जेठ १२ गते उद्धार गरिएको छ । महिला तथा बालबालिका कार्यालय, जुम्लाबाट गएका बाल संरक्षक अधिकृत हर्क महतको सहितको टोली ति बालबालिकाको उद्धार गरेको हो । गत बैशाख ५ गतेदेखि १० गतेसम्म चरणबद्ध जुम्ला पातारासी गाँउपालिका १ र २ बाट २४ जना बालबालिका रुकुम पुर्र्याईएको थियो । अभिभावकलाई झुक्याएर वडाको सिफारिसमा आमा, बाबा नभएको झुट्टा कागज बनाई रुकुमको एक बालगृहमा पुगेका ति बालबालिका जोखिम अवस्थामा फेला परेपछि तिनै बालबालिकालाई उद्धार गरिएको हो ।


झुट्टा कागज बनाई अनथालयमा पढाउने भन्दै पातारासी गाउँपालिका वडा नं १ गडीगाउँका २० र वडा नं. २ पेरोगाउँका ४ जना बालबालिकालाई रुकुमको नरसिंह बालगृहमा पुर्याईएपछि ति बालबालिकाको अवस्था जोखिम रहेको खबर महिला तथा बालबालिका कार्यालय रुकुमका बालअधिकार अधिकृत मानविर ओलीले बताएका थिए । त्यसपछि जुम्ला र रुकुुमका सबै सरोकारवाला निकायसँग छलफल र समन्वय गरी बालबालिका फिर्ता ल्याउने कामको पहल भएको थियो । ८ बर्षदेखि १२ बर्ष उमेर समुहका ९ बालिका र १५ जना बालकलाई शनिबार जिल्ला बाल कल्याण समिति र मुसिकोट नगरपालिका रुकुमको पहलमा बालग्रहबाट उद्धार गरी जुम्ला फर्काएको छ । रुकुममा भएको एक औपचारिक कार्यक्रम बिच उद्धार गरिएका सबै बालबालिकालाई पारिवारिक पुर्नस्थापना गराउन जुम्लाका बाल संरक्षण निरिक्षक हर्क महतलाई जिम्मा लगाईएको हो । त्यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाका ९ जना बालबालिकालाई उद्धार गरिएको हो । उनले २ दिनभित्र आफुहरु जुम्ला पुग्ने र त्यसपछि पत्रकार सम्मेलन गरी बालबालिकालाई उनीहरुका आफन्त अभिभावकलाई जिम्मा लगाउने बाल संरक्षक निरिक्षक महत बताए । बालबालिकालाई रुकुमबाट जुम्ला पुर्याउने सबै खर्च महिला तथा बालबालिका कार्यालय जुम्लाले जुटाउने भएको भने रुकुम बालकल्याण समितिले ५ हजार खाजा स्वरुप प्रदान गरेको छ । बालगृह संचालक र बालबालिका ओसारपोसारमा संलग्नमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
को को हुन्, ति बालबालिका


रुकुम पुगेका बालबालिका मध्ये पातारासी गाउँपालिका १ का अमर बुढाकी १२ बर्षिया छोरी सर्मिला बुढा, सुक बहादुर ऐडिकी १० बर्षीया छोरी अम्बिका ऐडि, जयप्रसाद ऐडिको ९ बर्षीय छोरो मनोज ऐडि, रामबहादुर ऐडिको ९ बर्षीय छोरो जयकृष्ण ऐडि, अर्को रामबहादुर ऐडिको १२ बर्षीय छोरो दिपकराज ऐडि, गोवरधन ऐडिको १२ बर्षीय छोरो सुर्य ऐडि, प्रेम बहादुर ऐडिकी १० बर्षिया छोरी निरु ऐडि, तिलकबहादुर ऐडिको ११ बर्षीय छोरो जिबन ऐडि, गोवरधन ऐडिकी ८ बर्षीया छोरी जनिसा ऐडि र १० बर्षीाया छोरी सरिता ऐडि, सिंहबहादुर बुढाको १२ बर्षीय छोरा जयबहादुर बुढा, कालिप्रसाद बुढाकी ८ बर्षीया छोरी समिना बुढा र ९ बर्षीय छोरा कार्चिन बुढा, चाउरा बुढाको १२ बर्षीय छोरा कार्मा बुढा, मिन ऐडिकी ११ बर्षीया छोरी एलिना ऐडि, सिंहबहादुर बुढाको १० बर्षीय छोरो जनक बुढा, बिरबहादुर बुढाको १६ बर्षीय छोरो रंगलाल बुढा, प्रेम बहादुर ऐडिकी १० बर्षीया छोरी सरीता ऐडि, गणेश ऐडिकी ७ बर्षीया छोरी उस्मा ऐडि, छक्क बुढाको ११ बर्षीय छोरो सुनिल बुढा र वडा नं २ का लालबहादुर सार्कीको ७ बर्षीय छोरो विलास ऐडि, भरे सार्कीको १२ बर्षीय छोरो तिर्थराज सार्की, सिंह बहादुर सार्कीको १२ बर्षीय छोेरा बिरेन्द्र सार्की र भिमबहादुर कामीको ७ बर्षीय छोरो मंगल कामी रहेका छन् ।


रुकुम कसरी पुगे बालबालिका
जुम्ला गुठीचौर गाउँपालिका १ मणिसाँघुका पासाङ लामा दुई महिनाअघि उपचारका लागि नेपालगंज पुगेका थिए । त्यहि अवसरमा बालगृह संचालक विबेक बुढासँग उनको भेट भयो । विबेकसँगको उनको कुराकानीपछि विबेकले आफ्नो अनथालय रहेको र त्यहाँ बालबालिकालाई उचित शिक्षा दिने गरेको बताउँदै जुम्लामा त्यस्ता बालबालिका भए पठाउन आग्रह गरे । उपचारबाट फर्किएपछि पासाङले पातारासी १ का चन्द्रमले बुढालाई त्यो बिषयमा खबर गरे र बालगृह संचालक विबेकको फोन नंबर पनि दिए । त्यसपछि चन्द्रमलेले विबेकसँगको कुराकानीपछि गाउँका सबै स्थानीयसँग छलफल गरे । गाउँलेले पनि सहमति जनाएपछि वडापालिकाबाट सिफारिस बनाउँदै चन्द्रमले लगाएत ४ जनाको टोलीले २४ जना बालबालिकालाई बालगृहमा छोडे । सबै बालबालिकाको अभिभावकबाट ३ हजार ५ सय रुपैया भाडा स्वरुप संकलन गरेर अबोध बालबालिकाहरुलाई त्यहाँ पुर्याईएको थियो । त्यहाँ पुगेका बालबालिकालाई उच्चशिक्षासम्म पढाउने मौखिक जिम्मेवारी बालगृह संचालक विबेक बुढाले लिएका थिए ।


अभिभावकको दबाबमा सिफारिस
अविभावकको दबाबमा अनाथ, असाय भनेर पातारासी गाउँपालिका १ र २ वडा कार्यालयले सिफारिस दिएको छ । अविभावकहरुको दबाबका कारण सिफारिस गर्न बाध्य भएको भन्दै उनिहरुलाई अनाथको नाममा सिफारिस नदिएको वडा नम्बर २ का अध्यक्ष कन्न बोहराको दावी छ । सबै गाउँलेले एकमुष्ट आवाज निकालेपछि बालबालिकाको शिक्षामा राम्रो होला भनेर सिफारिस दिएको १ नं वडा अध्यक्ष दत्तबहादुर बुढाको भनाई छ । दुबै वडा अध्यक्षले आफुहरुलाई समेत झुक्याएर गाउँलेले वडाबाट सिफारिस लिएको दावी गरेका छन् ।

 

 

 

 

 

 

 

 

 


बालगृह सञ्चालक पक्राउ
यसैबीच नरसिङ हिमालय अनाथ बालगृहका सञ्चालक विवेक बुढालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाहिरका बालबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारेर ल्याएको, अनाथहरुको नाममा आमाबुवा भएका बालबालिका राखेको, प्रति बालबालिका भर्नाको नाममा २ हजार पाँच सय असुलेको लगायतका विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताए । उनले अनार्थलयको नाममा धर्म परिवर्तनको खेल खेलेको हुन सक्ने भन्दै अनुसन्धान पूरा नहुन्जेल थप केही भन्न नसकिने बताए ।

मापदण्ड पूरा गर्न आनाकानी
नरसिङ हिमालय अनाथ बालगृहले कानूनी प्रक्रिया पूरा गरेता पनि बालगृह सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गरेको छैन । बालगृहले खान, बस्नको राम्रो प्रबन्ध गरेको छैन । बालगृह सञ्चालनका लागि आर्थिक स्रोत पनि देखाउन नसकेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताए । अनुगमनको क्रममा पटक–पटक सुधार तथा मापदण्ड पूरा गर्न दवाव दिए पनि सञ्चालकले आनाकानी गरेको उनको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया