कर्णालीमा कांग्रेसले गर्‍यो संसद अवरुद्ध


सुर्खेत । कर्णाली प्रदेशको संसद बैठक अवरुद्ध भएको छ। विपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरुद्ध गरेको हो। कांग्रेसका सांसदले बजेट पारित भएको लामो समयसम्म पनि रातो किताब नपाएको भन्दै बैठक अवरुद्ध गरेका हुन्।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले रातो किताब तत्काल पाउनुपर्ने माग गरे। उनले रातो किताब र कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा भएको खर्च सार्वजनिक नहुँदासम्म बैठक चल्न नदिने चेतावनी दिए लगत्तै कांग्रेस सांसदले उठेर विरोध गरेका हुन्। सभामुख राजबहादुर शाहीले बारम्बार बस्न आग्रह गर्दासमेत कांग्रेस सांसद नबसेपछि बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ।

बैठकमा बोल्दै सांसद शाहीले भने,‘चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट पारित भएको धेरै भयो, हालसम्म हामीलाई रातो किताब दिइएको छैन। पहिलाका नीति तथा कार्यक्रम अनुसार सरकार अगाडी बढेको छैन, यस्तो अवस्थामा अब नयाँ नीति तथा कार्यक्रम चाहिदैन।’

संसद र कार्यव्यवस्था परामर्श समितिलाई जानकारी नै नदिएर सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको कांग्रेसको आरोप छ। आफ्ना माग पूरा नभएसम्म बैठक चल्न नदिने कांग्रेसको अडान छ। कर्णाली प्रदेशसभा बैठक अवरुद्ध भएको यो पहिलो पटक हो।

तपाईको प्रतिक्रिया