अनुदानको चामल मदिरा उत्पादनमा प्रयोग


नन्दराम जैशी
शुक्रबार, १९ माघ २०७४

जुम्ला ः नेपाल खाद्य संस्थान शाखा कार्यालयले अनुदानमा विक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्नथालेका छन् । संस्थानले अनुदानमा विक्री गर्ने अरुवा मोटो चामल खानामा स्वादिलो नहुने भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्ने गरेका छन् ।

संस्थानबाट चामल खानाको लागी भनेर अनुदानमा लिने तर घरमा पुगेपछि भट्टीमा मदिरा उत्पादन गर्ने गरीएको छ । चामलबाट घरेलु मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने गरेको स्थानीयको अनुभव छ । अहिले उक्र चामल प्रति केजि ४० रुपैयामा उपलब्ध हुन्छ ।
तर कर्णालीका मुगु, हुम्ला, डोल्पा र भेरीको जाजरकोटमा अनुदानको चामल समयमै नपुग्ने र खाद्य संकट भैरहेको समयमा जुम्लामा भने अनुदानको चामल दुरुपयोग हुनु राम्रो नभएको नागरीक अगुवाको भनाइ छ । जुम्लामा संस्थानले प्रति व्यक्ति उपभोक्ता दुई बोरा अर्थात ६० केजी मात्र चामल दिने ब्यवस्था गरेतापनि नियमभन्दा बाठो चालगरेर एकै घरका धेरैजना लाईनमा बस्दै एकमुष्ट १५–२० बोरा लिएर मदिरा उत्पादनमा प्रयोग गरेको पाईएको हो ।

‘अरुवा मोटो चामलबाट घरेलु मदिरा निकै राम्रो उत्पादन हुन्छ, यसबाट बनाएको मदिरा प्रति बोतल सय रुपैयामा विक्री गर्छौ, अनुदानको चामल खानभन्दा मदिरा बनाउँदा फाईदा छ’ पातारासीका स्थानीय धनराज बुढाले भने, ‘मदिराबाटै कमाएको पैसाले बजारमा पाइने महंगो चामल किनेर खान्छौ, बजारको महंगो चामलले मदिरा बनाउन सकिदैन, अनुदानको चामलले फाईदा गर्र्यो’

कतिपय घरेलु मदिरा उत्पादक ब्यापारीहरुले हिउँदे मौषममा बनाएको जाँड, रक्सी चैत्र बैशाखमा यार्सा टिप्न पाटन जाँदा मदिरासँग यार्सा साट्ने गर्दछन् । ‘संस्थानको चामल मात्रै पकाउदा भात स्वादिलो हुँदैन, घरेलु चामलसंग मिसाएर प्रयोग गर्नुपर्छ, हामि ठाँउमा घरेलु चामल उत्पादन हुदैन, त्यसैले अनुदानको सस्तो चामल किनेर मदिरा बनाउर्छौ, बजारको राम्रो र स्वादीलो चामल किनेर भान्सामा प्रयोग गर्छौ’ छुमचौरका स्थानिय तारा बहादुर बोहोराले भने,

‘संस्थानको चामलले गाउँमा मदिरा सस्कृति मौलाउदो छ, संस्थानलाई जसरी पनि चामल बेच्नु छ, स्थानीयलाई मदिरा बनाउनु छ, कसले निगरानी राख्ने ?’ पातारासीका मणिकृष्ण बुढाले भने, सदरमुकामका भोटेसमुदाय तथा पातारासी र गोठिचौर गाउँपालिकाका खसान समुदायहरुले बढिमात्रामा अनुदानको चामल लिएर मदिरा बनाउने गरेका छन् ।

‘संस्थानमा आएर विहे, भोज भतेरका लागि भन्दै चामल लिन्छन, गाउँमा चामलको दुरुपयोग गरेको थाँहा छैन’ संस्थान प्रमुख रणवहादुर ऐरले भने, संस्थानको चामल प्रयोगवारे अहिले सम्म हामिले कुनै अनुसन्धान गरेका छैनौ । मदिरा वनाउन चामल प्रयोग नभएमा संस्थानमा चामल किन्ने संख्यामा निकै कमी आउने अनुमान गरीएको छ । खाद्य संस्थानबाट अहिले अरुवा मोटो चामल प्रतिकेजी ४०, अरुवा मकवानपुर ३९, उसिना चामल ३४, मध्यम ४५ र सोना मन्सुली ४९ रुपैयामा प्रतिकेजी चामल विक्री भैइरहेको छ ।
करछलिमा मदिरा उत्पादक
जुम्लामा अत्यधिक मात्रा घरेलु मदिरा उत्पादन हुने गरेपनि करको दायरामा भने कोहि छैनन् । जिल्लाका १८ हजार घरधुरी मध्ये आधाबढि बहु संख्यक घरधुरीमा घरेलु मदिरा उत्पादन हुन्छ । जिल्ला करदाता सेवा कार्यालयका कर अधिकृत खडानन्द खत्रीले जुम्लामा जति पनि घरेलु मदिरा उत्पादन हुन्छन् ति सबै अबैधानिक रुपमा उत्पादन र विक्री वितरण भईरहेको बताए । ‘घरेलु मदिरा उत्पादक कुनै पनि कर दायरामा छैनन्, गैर कानुनी रुपमा उत्पादन गरिएका घरेलु मदिरा राज्यले बन्देज गर्नु पर्दछ, यसमा सवैको साथ र सहयोगको आवश्यकता छ’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्लामा गैर कानुनी रुपमा घरेलु मदिरा उत्पादन भईरहेको विषयलाई स्वीकार्दै यसको रोगथाम र नियन्त्रणमा प्रहरी प्रशासन लागी परेको बताए । उनले भने, ‘घरेलु मदिरा उत्पादकले बैधानिक रुपमा कर को दायरामा आएर उत्पादन र विक्री वितरण गर्नुपर्छ होइन भने बन्द गर्न लगाइन्छ, भोकमरी नहोस र छाक टार्नका लागि राज्यले अनुदानमा दिएको चामल दुरुपयोग गर्न मिल्दैन’ ।

मदिराले बढ्दो घरेलु हिंसा
अबैधानिक रुपमा अत्यधिक उत्पादीत मदिरा प्रयोगले अधिकांश पुरुषहरुले स्वास्थ्य र धन खर्च गर्नुपरेको छ, भने अर्कोतिर मदिरा सेवनले पारीवारीक सम्बन्धमा फाटो आउनुका साथै घरेलु हिंसा बढ्दै गएका छन् । पहिलो समय मदिरा प्रयोगले बढाएका हिंसाबारे प्रहरीमा उजुरी आउनेक्रम बढेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी जवान शान्ता चौधरीले बताईन् । उनले भनिन् ‘घरेलु हिंसाको मुख्य कारण नै मदिरा सेवन हो’ ।

घरेलु हिंसा पीडित महिलालाई अल्पकालिन आश्रय दिदै आएका महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठले जुम्लामा छाडा मदिरा सेवन घरेलुहिंसाको मुख्य कारकतत्व रहेको बताईन् । अल्पकालिन आश्रयका लागि आउने अधिकांश महिलाले श्रीमानले मदिरा सेवन गरी कुटपिट गर्ने, पालनपोषण नगर्ने लगाएतको हिंसा भोग्नुपरेको बताएकि छन् ।

तपाईको प्रतिक्रिया