
कर्णाली पोष्ट पत्रिका
जुम्ला ः चालू आर्थिक वर्ष सकिने समय नजिकिँदै गर्दा जुम्ला स्थानीय सरकार आगामी आर्थिक वर्षको योजना बनाउन जुटेका छन् । स्थानीय सरकारले प्रत्येक वडास्तरमा योजना बनाउनको लागि टोली परिचालन गरेका छन् । पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोराका अनुसार स्थानीय सरकार आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि योजना बनाउने कार्यमा जुटिसकेको छ । उनले भने, ‘वडास्तरमा छलफल भएर योजना गाउँपालिकामा आइपुगेका छन् । विषयगत कार्यालयको योजना तर्जुमाको छलफल शुरु भइसकेको छ ।’
विषयगत कार्यालयबाट आउने योजना र वडास्तरका योजनाका आधारमा गाउँपालिकाले समग्र गाउँपालिकाको योजना बनाउने भएको छ । वडास्तरबाट खानेपानी, शिक्षा, बाटो, बत्तीको माग आएका छन् ।
महिला तथा बालबालिका, पर्यटन र कृषिलाई समावेश गर्ने गरी योजना वडाबाटै आइपुगेका छन् । तर उपभोक्ता बीचको विवादले काम प्रभावित हुने गरेको गुनासो पोखे । उर्थु देखि धोपा हुँदै चोत्रा जोड्ने ग्रामीण सडक निर्माण र ५८ किलोवाट विद्युतलाई मुख्य प्राथमकितामा राखिएको छ । डिल्लीचौर स्थित निर्माण हुन लागेको विद्युतले गाउँपालिका भरीका वस्तीलाई धान्ने गरी योजना बनाउन लागिएको छ, अध्यक्ष बोहोराले भने ।
पशु विकासतर्फ एक घर एक जर्सी, कृषि तर्फ एक घर एक बगैचा र एक गाउँ एक वस्तुको अभियानलाई जोड दिइएको छ । तर, गतवर्षको भन्दा बजेट घटेर आउदा योजना निर्माण कार्य प्रभावित हुन सक्ने देखिएको छ । पहिलो वर्ष कृषि उत्पादनका लागि माटो परिक्षण गरेर सुहाउदो बाली लगाउने किसानलाई आकर्षित गर्याै, सिचाई, स्याउ काटछाट, उन्नतजातको बालीको बीउ वितरण, छुमचौरमा धान रोप्ने कार्यलाई निरन्तरता दिने जस्ता काम भएको उनले बताए ।
चन्दननाथ नगरपालिकाले वडा स्तरमा पाँच दिन सम्म छलफल गरी योजना छनौट गर्नको लागि काम थालेको छ । प्रदेश सभाको वजेट विनियोजन भइसकेपछि नगरपालिकाको बजेट बन्ने आधार निर्माण हुने बताउँदै मेयर कान्तिका सेजुवालले अहिले वडा र विषयगत कार्यालयको योजना तर्जुमा भइरहेको बताइन् । आगामी आर्थिक वर्षमा एक मेगावाट विद्युतमा केन्द्रित हुने छौँ ।
अहिले नगरबासीले विद्युत लोडसेडिङको मार खेप्दै आएका छौ, उनले भने, नगरपालिकामा बन्दै गरेका घुघुत्ति र ठिन्के विद्युतलाई पूर्णता दिँदै छुट्टै एक मेगावाट विद्युत निर्माणमा प्राथमिकताका साथ लाग्ने देखिएको छ । मेयर सेजुवालले चाइनिज निजी कम्पनीसँग सम्झौता गरेर भएपनि नगरवासीलाई उज्यालो दिने कार्यमा लाग्ने बताइन् । उनले प्रदेश सभाका सांसदसँग समन्वय गरेर भएपनि विद्युत बालेरै देखाउने बताएकी हुन् । पाँच वर्षको कार्यकालमा नगरपालिकालाई लोडसेडिङ मुक्त बनाउने आफुहरूको जोड रहेको सुनाइन् ।
क्रमागत योजनालाई निरन्तरता दिन्छौ, दाता लगानी सम्मेनल गरेर लगानीमैत्री वातावरण निर्माणमा लाग्छौँ । नगरपालिकाको विकास गुरुयोजना बन्दैछ, उनले भनिन, दातालाई लगानी गर्ने वातावरण निर्माणमा जोड दिन्छौ । गुडीचौर गाउँपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माले आगामी आर्थिक वर्षको योजना बनाउनको लागि छलफल भइरहेको बताए । उनले भने, वडास्तरबाट आएका योजना र विषयगत कार्यालयबाट आएका योजनालाई समायोजन गरेर आगामी योजना तर्जुमा हुने छ । पहिलो वर्ष सडक वर्षको रुपमा मनाइसकेको छ । आगामी वर्षलाई विद्युत वर्षका रुपमा स्थापित गर्न चाहान्छौँ ।