माघमा धमाधम रोपाइँ हुँदै


शुक्रबार, १९ माघ २०७४

मोरङ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ। तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ। मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न व्यस्त छन्। सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा व्यस्त भएका हुन्।

रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आएका छन्। केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ।

खेतमा उनले घुटराज धान रोपिरहेका छन्। अहिले रोपेको धान वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको केवरतले बताए। अहिले खेती गर्न धेरै मेहनत गर्नुपर्ने र खर्चसमेत बढीनै गर्नुपर्ने भएको उनले बताए। सो खेतमा ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ।

अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूरसमेत नपाउँदा खेतीपाती गर्न समस्या भएको केवरतले बताए। धान रोपिसके पछि धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्को मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ। रासस

तपाईको प्रतिक्रिया