गर्भवती किशोरी र महिला दुबैकोे ज्यान जोगीयो


नन्दराम जैशी
जुम्ला । प्रसुति ब्यथाले चरम छटपटिमा परेकी हुम्लाकी एक गर्भवति किशोरी र महिलाको ज्यान जोगीएको छ । चारदिन यता प्रसुति ब्यथाले च्यापेपछि मृत्युको मुखमा पुगेकि हुम्ला चंखेली गाउँपालिका ६ कि १९ वर्षीया गर्भवति किशोरी बसन्ती शाही र ताजाकोट गाँउपालिका ३ कि ३५ बर्षिया जुनकला रोकायाको सफल शल्यक्रियापछि ज्यान जोगीएको हो । उनि दुबै जनालाई जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शल्यक्रियाका लागि रेफर गरीएको थियो । किशोरी बसन्ती शाहीलाई आईताबार दिउँसो ४ बजे र महिला जुनकला रोकायालाई सोमबार बिहान ९ बजे छुट्टाछुट्टै हेलिकप्टर मार्फत जुम्ला ल्याईएपछि डाक्टरहरुले उनि दुबै जनाको सफल शल्यक्रिया गरेका हुन् ।

प्रतिष्ठानका अनुसार शल्यक्रियापछि अहिले उनि दुबैजना सुत्केरीलाई थप उपचारका लागि सामान्य कक्षमा राखिएको छ । चिकित्सकहरुले बसन्ती शाहीको ज्यान जोगाउन सफल भएपनि उनको बच्चालाई भने बचाउन सकेका छै्रनन् । त्यस्तै महिला जुनकला रोकाया र उनको बच्चा दुबै बाँच्न सफल भएका छन् । उनको बच्चाले आमाको दुध खान नसकेपछि आईसियुमा राखिएको छ ।

महिला जुनकला रोकाया

प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डाक्टर बिनोद अर्यालसहितको स्वास्थ्यकर्मीको टोलीले दुबै सुत्केरीको सफल शल्यक्रिया गरेर ज्यान जोगाएका हुन् । ‘पहिलो सन्तानका लागि आमा बन्न तयार किशोरी बसन्ती शाहीको प्रतिष्ठानमा पुग्दा अवस्था गम्भीर थियो । बच्चाको हात बाहिर निस्केको थियो । बच्चाको धड्कन थिएन । रगत बगिरहेको थियो । त्यसपछि आमा र बच्चाको अवस्था बुझेर उपचारमा लाग्यौ’ डाक्टर अर्यालले भने, ‘बच्चाको धड्कन नभएपछि कसरी आमाको ज्यान जोगाउन सकिन्छ भन्ने विषयमा हामी चिन्तीत थियौ । बच्चाको भने अस्पताल नपुग्दै ज्यान गैसकेकोले आमालाई मात्र बचाउन सफल भयौ ।’

श्रीमतीको सफल शल्यक्रियापछि बसन्तीका श्रीमान् भैरब शाहीले खुसि ब्यक्त गर्दै भने, ‘मेरो श्रीमतीको यो पुनर्जन्म हो । श्रीमतीलाई बचाउने डाक्टरहरु भगवान हुन् । बेहोस् अवस्थाकि उनि बाँच्छिन भन्ने आशा थिएन । उनि बाँचिन, सन्तान त, फेरी पनि जन्माउन सकिन्छ ।’ हुम्लामै यस्तै सेवा दिने अस्पताल देख्ने ठुलो ईच्छा भएको उनले बताए ।

यसरी भयो उद्धार
चार दिनदेखि लगातार सुत्केरी ब्यथा लागेर घरमै सुत्केरी हुन नसकेपछि बसन्तीको अवस्था जटिल बन्दै गएको थियो । वसन्तीको अवस्था देखेर परिवार सबै आत्तिएका थिए । त्यसपछि विकल्प खोज्दै बसन्तीलाई सदरमुकाम सिमिकोट लैजान गाउँका सबैले सल्लाह दिए । ३ दिनको पैदल यात्रा गरेर बल्ल पुगिने सदरमुकामको जिल्ला स्वास्थ्य कार्यालयमा उनलाई पुर्याउन त्यति सजिलो थिएन । बाटोमै उनको ज्यान तलमाथि हुने जोखिम बढेपछि जिल्ला स्वास्थ्य कार्यालयकै समन्वयमा हेलिकोप्टर बोलाइयो र वसन्तीलाई जिल्ला अस्पताल पुर्याइयो ।

किशोरी बसन्ती शाही

त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुम्ला जिल्ला अस्पतालमै खटाईएका डाक्टर दिल शाहीले बच्चाको हात बाहिर आएको र बच्चा मरिसकेको पत्ता लगाएपछि त्यँहा आफूसँग प्रविधि कम भएका कारण चाँडै रिफर गरेको बताए । उनले रिफरका लागि सुर्खेतभन्दा पनि जुम्लामा प्रविधि र विशेषज्ञ जनशक्ति भएकाले जुम्ला प्रतिष्ठान पठाइएको जानकारी दिए । उनिहरुको उद्धार खर्च कर्णाली प्रदेश सरकारले बेहोर्ने भएको छ ।

एयर एम्बुलेन्समै सुरक्षित छैनन्, गर्भवति
कर्णालीबाट रिफर हुने बिरामी नेपालगञ्ज–काठामाडौंबाट एयर एम्बुलेन्स बोलाएर नेपालगञ्ज–काठामाडौं पठाउने गरिन्छ । तर हेलिकप्टर आँउदा जाँदा घण्टौ समय लाग्ने भएकाले आपतकालिन गर्भवतीको ज्यान जाने गरेको डाक्टरहरु बताउँछन ।

‘वसन्तीलाई पनि नेपालगञ्ज पठाइएको भए भन्न सकिँदैनथ्यो । हुम्लाबाट कुरा गर्दागर्दै १५ मिनेटमा हेलिकोप्टर जुम्ला आइपुग्यो । समयमै उपचार गर्न पाएकोमा ज्यान जोगाउन सकिएको हो, नत्र भने पाठेघर फुट्ने डर हुन्थ्यो । नेपालगञ्ज पुग्न करिब एक घण्टा लाग्थ्यो’ डाक्टर अर्यालले भने, ‘कर्णालीका गर्भवति महिलाको उद्धारमा ढिलो भए एयर एम्बुलेन्समै ज्यान जाने खतरा छ ।’ प्रतिष्ठानका अनुसार यँहा मात्रै बार्षिक ८ सयको हाराहारीमा महिलाहरु सुरक्षित प्रसुति हुने गरेका छन् । भने स्वास्थ्यको पहुँजमा नहुने कर्णालीका ग्रामिण महिलाहरुले समयमै उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रतिष्ठानमा एयर एम्बुलेन्स चाहियो
गर्भवतिले समयमै उपचार नपाएर अकालमा ज्यान नजाओस भन्ने ध्ययले प्रतिष्ठानमा एयर एम्बुलेन्स माग गरीएको छ । कर्णालीका लागि जुम्लामै रहने गरी सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए । त्यसका लागि पहल गरेपनि सुनुवाई नभएको उनको भनाई छ ।

‘हामिले अत्याधुनिक सुुविधासहितको स्वास्थ्य उपचार सेवा दिइरहेका छौ । कर्णालीको जुम्ला भौगोलिक रुपमा पनि केन्द्र हो । यँहाबाट कर्णालीका सबै जिल्लामा १५÷२० मिनेटमै हेलिकोप्टरबाट पुगिन्छ’ उनले भने, ‘अब हामीसँग दक्ष जनशक्ति र प्रविधि छ । अस्पताल समयमा पुर्याए सजिलै उपचार हुन्छ ।’ प्रतिष्ठानमा ३ दर्जनभन्दा बढी विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छन् । जसमा स्त्री रोग विशेषज्ञ ३ जना र स्त्री रोग सम्बन्धीको विशेषज्ञ तालिम लिएर काम गरिरहेका ३ जना नर्सहरु तथा अन्य दक्ष जनशक्ति कार्यरत छ ।

तपाईको प्रतिक्रिया