राहत माग्दै जुम्लाका द्वन्द्वपीडित महिला


नन्दराज जैसी

जुम्ला । २०५९ सालको सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले चन्दननाथ नगरपालिका–३ का रुद्रकली सार्कीका पतिलाई घरबाटै अपहरण गरे । परिवारलाई धम्की दिँदै साँझको समयमा खाना पकाउँदै घरमा बसेका पतिलाई अपहरण गर्दा उनी अत्तालिइन्, रोक्न खोज्ने आँट आएन । तर, साथमा रहेको उनको छोराले बाबालाई रोक्न खोज्दा अपहरणकारीले उल्टै छोरालाई निर्घात कुटपिट गरे । पति अपहरणमा परेपछि छुटाइदिन दिन माग गर्दै पीडामा भौंतारिएकी रुद्रकलीका छट्पटीसँगै पर्खाइका दिन दुई वर्ष बिते, तर कुनै खबर आएन । अन्ततः छिमेकीले पतिको मृत्युको खबर सुनाइदिएपछि उनि एक्कासि बेहोस भइन् ।

उनी भन्छिन्, ‘द्वन्द्वका बेला बिनाकारण श्रीमान्लाई आँखैअगाडि गुमाएँ, बुढेसकालको सहारा एक मात्र छोरालाई समेत अपहरणकारीले निर्घात कुटपिट गरी अपांग बनाइदिए ।’ आँसु पुछ्दै उनले थपिन्, ‘दशकौं बितिसक्दा पनि राज्यले हाम्रो दुखिरहेको घाउमा मलम लगाइदिएन । न श्रीमान्को सास पाएँ, न त राहत नै पाएकी छु । छोराको शिक्षा लालनपालनमा पनि राज्यले केही सहयोग गरेन ।’

तत्कालीन विद्रोही र राज्यपक्षबाट त्रसित जुम्ली महिलाले गुजारेका दिनचर्या हेर्दा अहिले पनि निकै कारुणिक लाग्छ । द्वन्द्वमा दुवै पक्षबाट धेरै मारिए, कैयौं अंगभंग बनाइए । जसमा बिनाकारण कसै न कसैले आफन्त गुमाए ।

दैनिक जीवनमा यस्तै पीडा खेपिरहेका जुम्ली महिला अहिले राहतको माग गर्न थालेका छन् । स्थानीय शान्ति समितिको तथ्यांकअनुसार जिल्लाका १ सय ५० बढी विभिन्न प्रकारका द्वन्द्वपीडित महिलाले अहिलेसम्म राहत पाएका छैनन् ।

तिला गाउँपालिका–५ की पार्वती बुढाले भक्कानिँदै आफ्नो पीडा सुनाइन्, ‘ श्रीमान् नेपाल टेलिकममा काम गर्थे । २०५९ तिर द्वन्द्वकै समयमा कार्यालयमै विद्रोही पक्षको गोली लागी मृत्यु भयो । पति गुमाएपछि परिवारलाई दिइने राहतस्वरूप रकम उनले अहिलेसम्म पाएकी छैन । राहतका लागि धाउनुपर्ने सबै ठाउँ धाइसकेँ, छोराछोरी हुर्काएर बाँकी जीवन जिउन गाह्रो छ ।’

तारा खड्कका ससुरालाई पनि राज्यपक्षबाट ०५८ मा सेनाले अपहरण शैलीमा मारे । त्यतिबेला ताराका पति कालापहाड गएकाले बाँच्न सफल भएका उनले बताइन् । भनिन्, ‘अपहरणलगत्तै ससुराको हत्या गरिए पनि खबर भने ढिलो पायौं । लास भेट्टाउन सकिएन, हामीले अहिलेसम्म राहत पाएका छैनौं ।’ बिनाकसुर देशमा शान्ति ल्याउँछु र जनताको रक्षा गर्छु भन्दै जनताकै रगतमाथि होली खेलेको बदलामा आँसु मात्रै दिएको द्वन्द्वपीडित महिलाहरूले गुनासो गरे । पति गुमाएकी अजौसी बुढा भन्छिन्, ‘अचेल सहिद परिवारले लाखौं राहत पाएको सुन्दा बेपत्ता पारिएका, मारिएकाहरूको घाउ कोट्याएझैं आभास हुन्छ । श्रीमान् गुमाउँदाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।’

आयोगमा जिल्लाका नौ सय उजुरी

द्वन्द्वमा अंगभंग तथा बेपत्ता पारिएका र मारिएका परिवारबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरीका चाङ छन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘आयोगमा जुम्लाबाट नौ सय बढी द्वन्द्वपीडितका उजुरी छन् । जसले कि राहतको कि सासको माग गरेका छन् ।’ सरकारले पीडितका लागि राहत पनि नपठाएको होइन । तर लक्षित वर्गसम्म पुग्न नपाई राहत पाउनबाट उनीहरू वञ्चित भएको हुन सक्ने प्रजिअ पौडेलको भनाइ छ । उनका अनुसार कतिपय प्रक्रियागत रूपमा नआएकाले पनि राहत पाउनबाट छुटेको हुन सक्ने बताइएको छ । स्थानीय शान्ति समितिले पीडितहरूको यकिन तथ्य संकलन गरी केन्द्रमा पठाएकाले राहतबाट कोही नछुट्ने आश्वासन दिएको छ । यसअघि राहत नपाएको विषयमा छलफल गरी बुझ्ने प्रजिअ पौडेलले बताए ।

तपाईको प्रतिक्रिया