दाताको सहयोगमा वडा कार्यालय र विद्यालय भवन निर्माण


मानदत्त रावल, कर्णाली पोष्ट, जुम्ला

दाताको सहयोगमा वडापालिकाको कार्यालय र विद्यालयको भवन निर्माण गरिएको छ । संघिय संरचनापछि जुम्लाका अधिकांश वडा कार्यालय, गाउँपालिक र विषयगत कार्यालय स्वास्थ्य, शिक्षा, कृषि लगायतका कार्यालयहरु भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् । आठ वटा स्थानीय तहका गाउँपालिका कार्यालय र ६० वटा वडा कार्यालयहरु मध्ये ३० वटा वडा कार्यालय साविकका गाविस भवनबाट दैनिक सेवा प्रवाह गरिरहेका छन् । अरु ३० वटा वडा कार्यालय सात वटा गाउँपालिकाका कार्यालयहरुले भाडाकै घरबाट सेवा दिईरहेका छन् ।


जिल्लाका अधिकांश स्थानीय तहका कार्यालयहरु भाडाको घरबाट सेवा प्रवाह भईरहेको अवस्थामा तिला गाउँपालिका ४ नम्बर वडामा भने दाताले वडापालिकाको भवन निर्माणका लागि सहयोग गरिरहेको छ । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित नेपाल ग्रामीण पुननिर्माण संस्था संचालित सामुदायिक विकास कार्यक्रम अन्र्तगत वडा कार्यालय भवन निर्माण हुन लागेको हो ।
तिला गाउँपालिका वडा ४ को निर्माणाधिन भवनमा वडापालिका ३ लाख ७० हजार र सामुदायिक विकास कार्यक्रमको १ करोड ७९ लाख ७९ हजार ५ सय २८ रुपैया गरी १ करोड ८३ लाख ४९ हजार ५ सय २८ रुपैयाको लागत रहेको छ । सामुदायिक विकास कार्यक्रमका प्रमुख दिपक बोहोराका अनुसार तिला गाउँपालिका ४ मा वडापालिकाको कार्यालय भुकम्प प्रतिरोधी र अपांग तथा बालमैत्री भवन निर्माण हुदै गरेको छ । साढे दुई तलाको भवन अहिले निर्माणाधिन अवस्थामा रहेको र भदौ पहिलो सातामा सम्पन्न हुने उनले बताए ।


त्यसैगरी दाताको सहयोगमा सामुदायिक विद्यालयको भवन निर्माण गरिएका छन् । तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँमा कालिका प्राविको दुई कोठे भवन १५ लाख २६ हजार १ सय ९९ रुपैया निर्माण सम्पन्न भएको हो । पातारासी २ तल्फीगाउँमा सरस्वती प्रावि तल्फीको दुई कोठे भवन १४ लाख ९९ हजार ६ सय ३३ रुपैया निर्माण सम्पन्न भएको प्रधानाध्यापक बासुदेव शाहले बताए । उनले भने बालबालिकालाई बस्नका लागि भवनको अभाव थियो, सामुदायिक विकास कार्यक्रम मार्फत दुई कोठे भवन निर्माण भएपछि सहज भयो ।
त्यसैगरी सामुदायिक विकास कार्यक्रमको सहयोगमा देउराली मावि जुम्लाकोटमा दुई कोठे भवन १७ लाख ९ हजार २ सय ६० रुपैया, मालिका मावि लोडचौर दुई कोठे भवन १६ लाख ४३ हजार ३ सय ८१ रुपैया, मालिका मावि टोप्ला दुई कोठे भवन १७ लाख १० हजार ७ सय ८६ रुपैया, महादेव निमावि घोडेसिम १६ लाख ४६ हजार ३४ रुपैया, सरस्वती प्रावि हुरी दुई कोठे भवन १६ लाख २१ हजार ९ सय २१ रुपैया, सुर्यदय निमावि राँसा दुई कोठे भवन १७ लाख ९० हजार ६ सय ५ रुपैया, तिनमासे प्रावि दुई कोठे भवन गडिगाउँ १६ हजार ३६ हजार ८ सय ६० रुपैया र ओग्रेनी इसिडी भवन कुडि १७ लाख ५ हजार २ सय ८८ रुपैयामा भवन निर्माण सम्पन्न भएको सामुदायिक विकास कार्यक्रम जुम्लाका प्रमुख दिपक बोहोराले बताए ।
चैत बैशाखको हावाहुरीले विद्यालयका छाना उडाएर बालबालिकालाई बस्न पढ्न असज भएका सामुदायिक विद्यालयको छाना मर्मत समेत गरिएको छ । मालिका निमावि आर्चायवाडा छाना मर्मत २ लाख १२ हजार ३ सय ७७ रुपैयामा भएको छ । त्यसैगरी देउराली निमावि, जनता प्रावि, पुजकाल बालविकास केन्द्रको छाना मर्मत गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया