नन्दराम जैशी
जुम्ला ः जुम्लामा नेपालकै स्याउ उत्पादनमा सबै भन्दा अग्रस्थानमा रहेको मानिन्छ, तर यहाँ पनि जलवायु परिवर्तनसँगै स्याउ उत्पादनमा अनेक समस्याहरुले सताएका छन् । तिनै समस्याहरु मध्ये स्याउको बोटमा लाग्ने भुवादार लाहीकिरा र सिंचाईको असुविधालाई मुख्य समस्याको रुपमा लिईन्छ । यिनै समस्यालाई मध्यनजर गरी स्याउमा लाग्ने रोगकिरा नियन्त्रण तथा उत्पादन बृद्धि गर्न नेपालकै नमुनाको रुपमा पहिलो पटक जुम्ली स्याउ खेतीमा नयाँ (कटिङ) हाईटेक नर्सरी प्रविधि अनुसन्धानपछि सफल भएको छ । यो प्रविधिबाट उत्पादन गरिएका स्याउ विरुवा रोगकीरा प्रतिरोधी र सुख्खा ठाउँहरुमा पनि सजिलै हुर्कन सक्ने भएकोले अन्य विरुवा भन्दा यिनी विरुवाहरुले दोब्बर उत्पादन दिने विज्ञहरुको भनाई छ ।
जिल्लामा इडिमेलको बिउ रोपी १÷२ बर्षपछि मात्र त्यसमा स्याउ कलमी(ग्राफ्टिङ) गरी विरुवा उत्पादन गर्ने गरिन्थ्यो, तर यस प्रविधिमा स्याउको डाला (रुटस्टक) काटेर त्यसलाई व्याडमा रोपेर हर्मन अक्जिनद्धारा जरा निकालिसकेपछि पुन ः त्यसैमा आफुले इच्छाईएको स्याउ कलमी गरी विरुवा उत्पादन गरिएका छन् । यसरी निकालेका रुटस्टकको वंशाणुगत गुण लामो पुस्तासम्म पनि कायम रहने र बिरुवामा रोगकिरा प्रतिरोधी हुने मुख्य अनुसन्धान कर्ता प्रेम कृष्ण उपाध्यायले बताए । अन्य विरुवा भन्दा यिनि विरुवाबाट उत्पादित फल गुणस्तरिय हुने उनको भनाई छ । इडिमेलको बिउबाट उत्पादन गरिएका स्याउ विरुवामा प्रति बर्ष ५० प्रतिशित उत्पादन तथा रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ, तर नयाँ (कटिङ) हाईटेक नर्सरी प्रविधिबाट उत्पादित विरुवामा ५० औँ बर्षसम्म कुनै रोगकिरा तथा उत्पादन क्षमतामा ह्रास आउने समस्या नहुने उनले बताए ।
‘हाम्रो अनुसन्धान स्याउको रुटस्टक कटिङ विधिद्वारा प्रसारण गर्दा जरा निकाल्ने हर्मन अक्जिन आईबिए मात्र वा अक्जिनसँगै रूटस्टकको तल्लो भागमा घाउ लगाउँदा कस्तो असर देखियो भन्ने हो । अनुसन्धानपछि, यो प्रविधि सफल हुनु जुम्लाका लागि मात्र नभई देशभरकै स्याउ कृषकको सौभाग्यको कुरो हो ।’ उनले भने, ‘उक्त अनुसन्धानमा एमएम १ सय ११ जातको रुटस्टक प्रयोग गरिएको हो ।’
?
चन्दननाथ नगरपालिका –९ उमगाडका दुई जना कृषकहरुको स्याउ नर्सरीमा गएको यहि फागुन १५ देखि जेठ २२ सम्म उक्त अनुसन्धान गरिएको थियो । सफल (कटिङ) हाईटेक नर्सरी प्रविधिमा २ सय १६ रुटस्टकबाट अनुसन्धान शुरु भएको हो । स्याउ उत्पादनमा देखिएका प्रमुख समस्यामा आधारित रहेर, यसको अनुसन्धान तातोपानी गाँउपालिका –४ गौतमबाडा घरभई हाल कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर चितवनमा ८ औं सत्रान्त कृषि सङ्कायमा विएसि एजीमा अध्ययनरत विद्यार्थी प्रेम कृष्ण उपाध्यायले आफ्नो अध्ययनको सिलसिलामा लिई.कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, स्याउ सुपरजोन जुम्लामा ६ महिने कृषि ईन्टनको रुपमा कार्यरत हुँदा गरेका हुन् । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५ प्रतिशत र नर्सरी धनीको १५ प्रतिशत लागत खर्चमा अनुसन्धान गरिएको हो ।
यो प्रविधि सफल देखिएपछि खुशि ब्यक्त गर्दै आगामी बर्ष सोही प्रविधिबाट उत्पादित स्याउका विरुवा आफ्नो बाँझो जग्गामा लगाएर स्याउ खेती गर्ने यहाँका कृषकहरुले बताएका छन् । विस्तारै यो प्रविधि देशका स्याउ फल्ने सबै जिल्लामा विस्तार हुने भएको छ । मुख्य अनुसन्धानकर्ता प्रेम कृष्ण उपाध्यायका अनुसार उक्त अनुसन्धामा ३ वटा रेप्लिकेशन र ८ वटा उपचार विधिहरु प्रयोग गरिएको थियो । भने हर्मनको घोल तयारी गर्दा ५० प्रतिशत इथानोल रक्सीमा आवश्यक अनुसारको हर्मनको तौल घोली बिभिन्न कडापनका घोल तयार गरिएको थियो । त्यसपछि प्रत्येक घोलमा उक्त रुटस्टकहरुलाई १५ सेकेन्ड डुबाइ रुटस्टक प्रसारण व्याडको अनुपातमा ३ वटा आँखा उक्त व्याडमा डुब्नेगरी रोपिएको थियो ।
यो प्रविधिबाट फाईदा
जुम्ला जिल्लामा विद्यमान इडिमेलको बिउ रोपी १÷२ बर्षपछि मात्र कलमी गरी निकालिएका स्याउका बिरुवामा बर्षौ देखि हुँदै आएको इडिमेलको बिउमा भइरहेको क्रसले उक्त बिरुवा कमजोर भइ रोगकीराले सजिलै आक्रमण गर्न सक्छ तर कटिङ विधि यस प्रविधिबाट प्रसारण गरी निकालेका रुटस्टक विरुवाको वंशाणुगत गुण लामो पुस्ता सम्म पनि कायम रहने भएकोले उक्त रूटस्टकमा कलम गरी निकालीएका बिरुवा रोग किरा प्रतिरोधि हुन्छन । भने, यो विधिबाट छोटो समयमा कम क्षेत्रफलमा थोरै स्टक बिरुवा बाट धेरै नयाँ बिरुवा निकाल्न सकिन्छ । अनुसन्धानकर्ताका अनुसार आर्थिक रुपले यो विधि अत्यन्त लाभदायक छ । उक्त एमएम १ सय ११ रुटस्टक लाहिकिरा प्रतिरोधि भएको र सुख्खा स्थानमा समेत राम्रो उत्पादन दिनेछ । त्यस्तै इडिमेलको बिउ उमारी त्यसमा कलमी गर्दा जमिन देखि १०–२० से.मि माथि मात्र प्रयोगमा आउने र बाँकी माथिल्लो ८० प्रतिशत खेर जाने भएकोले त्यो प्रविधि खर्चिलो हुन्छ, तर कटिङ प्रविधिमा उक्त रुटस्टकको जमिन देखि १०–२० सेमि माथि प्रयोगमा आउने र बाँकी माथिल्लो ८० प्रतिशतलाई काटेर पुन अर्को बर्षको लागि रोप्न सकिन्छ । त्यसैले यो प्रविधि फाइदाजनक छ ।
प्रविधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
यो प्रविधि कालो पोलिब्याग भन्दा जमिनमा धेरै उत्कृष्ट देखिएकोले किसान वर्गहरुलाई जमिनलाई नै प्रयोग गर्न विज्ञहरुको अनुरोध छ । यो प्रविधि प्रयोग कर्ताहरुले सापेक्षित आद्रता ७०–८० प्रतिशत, तापक्रम २०–३० डिग्री सेल्सियस कायम गर्नुपर्दछ र चिस्यानमा विशेष ध्यान दिर्ने बताईएको छ । अनुसन्धान अनुसार २ हजार पिपिएम आइबिए (जरा निकाल्ने हर्मन) को घोलमा रुटस्टकको तल्लो भागमा घाउ लगाइ उक्त घोलमा १५ सेकेन्ड डुबाइ रोप्दा सर्वोउत्कृष्ट देखिएकोले सो अनुसारको विधि अपनाउन सुझाब छ । यदि आइबिए हर्मन उपलब्ध नभएमा रुटेक्स हर्मनको धुलो प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताए । विरुवा कटिङ लिँदा १–२ बर्षको मदर बिरुवा र काण्डबाट लिनुपर्नेछ, भने जसको साइज पेन्सिल जत्रो हुनुपर्ने बताईएको छ ।