डाक्टर केसीलाई जुम्लामा प्रशासनद्धारा अनसन बस्न रोक


जुम्ला ः चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै शुक्रबारबाट आमरण अनशन बस्न लागेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ ।
डा केसीले अनशनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई रोजेका हुन् । तर डा केसीले अनशन सुरु गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ ।


डा केसीको अनशन बिथोल्ने गरी प्रशासनले अनसन बस्ने दिन नै शुक्रबार प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला प्रशासनले यो सँगै थप दुई स्थानलाई पनि निषेधित क्षेत्र तोकेको छ । प्रशासनले जारी गरेको पत्र अनुसार प्रतिष्ठान परिसर सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय देखि को २ सय मिटर वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
अनशनका लागि डा केसी शुक्रबार बेलुकी जुम्ला सदरमुकाम खलंगा पुगेका थिए । डाक्टर केसी अनसन बस्नु भन्दा पहिले नै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोकिसकेको थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको हस्ताक्षर भएको विज्ञप्तिमा जुम्लामा रहेको ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल’ तथा प्रशासन कार्यालय वरिपरि प्रदर्शन गर्न रोक लगाइएको सूचना जारी गरिएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि म जुम्लामा अनसन बस्न लागेको हुँ । तर संविधानमै लेखिएको अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा प्रशासनले प्रतिबन्ध लगाउँछ भने त्यसको नतिजा राम्रो नहुने डाक्टर केसीले प्रतिक्रिया दिए । डाक्टर केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर ल्याउन लागेपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा निर्णायक आन्दोलनको रुपमा १५ औँ अनसनको घोषणा गरेको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोमा आपत्ति जनाउँदै जुम्लामै अनसन बस्न लागेको बताए ।

तपाईको प्रतिक्रिया