जुम्लामा कालिमार्सी धान गोड्ने चटारो


जुम्ला । देशभर धान रोपाई चलिरहेको बेला जुम्लामा भने धान गोडाईको चटारो छ । असार १५ मा देशभरका किसानले धान दिवस मनाउँदै रोपाई गरीरहेका बेला जुम्लाका किसान धान गोडाईमा ब्यस्त देखिन्थ्ये । विश्वकै उच्च धान फल्ने स्थान जुम्लाको छुमचौर ज्युलोदेखि (खेतहरु) खसभाषको उद्गम स्थल सिंजा क्षेत्र लगाएतका सबै धानखेतहरुमा यतिखेर जुम्ली महिलाहरु धान गोड्न ब्यस्त छन् । सामान्यतया अन्य जिल्लामा असारमा धान रोपाई गरी साउनमा धान गोड्ने गरीन्छ । तर जुम्लामा भने जेठमै धान रोपेर असारको पहिलो हप्तामै धान गोड्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरीएको हो । जुम्लाका कृषि विज्ञ धनप्रसाद देबकोटाका अनुसार जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यँहा धान पाक्दैन । उनले भने, ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १ सय ५० देखि १ सय ६५ दिन हो । असारमा धान रोपे कार्तिकसम्म पाक्दैन । त्यसैले परम्परादेखि जेठमै धान पर्ने चलन जुम्लामा रहि आएको हो ।’ उनले थले, जलवायु परीवर्तनका कारण पहिल्लो समय तापक्रम बढ्दै जाँदा असारमा रोपेको धान पनि जुम्लामा पाक्छ, तर परम्परादेखि रहि आएको चलन जुम्लाका कृषकले जेठमै धान रोप्ने गरेका हुन् ।

यतिखेर धान गोडाईमा ब्यस्त रहेकी चन्दननाथ नगरपालिका ७ कि कृषक लक्ष्मी थापाले जेठमा रोपेको धान चिसो शुरु नहुदै पाक्ने भएकाले असिनापानी तथा तुसारोकोको क्षतिबाट जोगीन सहज हुने बताईन् । ‘बैशाखमा जौँ पाकीसकेपछि खेतहरु खाली हुन्छन् । जेठमै रोपाईसकेपछि समयमै गोडमेल गर्न पनि सहज हुन्छ’ उनले भनिन्, ‘त्यसको फलस्वरुप पछि धान उत्पापदन पनि बृद्धि हुन्छ ।’ उनिजस्तै यँहाका हजारौ महिलाहरु एका बिहानै उठेर दैनिकजसो खेतमा धान गोड्न ब्यस्त देखिन्छन् । जुम्लामा चैत ८ गते बीउ केलाउने, १२ गते भिजाउने, १६ गते सुकाउने र २० गते ब्याडमा छर्ने प्रचलन छ । त्यसपछि जेठ १ गते रोपाइँ गर्ने, असारमा पहिलो गोडाइ गर्ने र २० दिनपछि दोस्रो गोडाइ गर्ने गरिन्छ । सो धानबाली कात्तिक पहिलो साता काट्ने प्रचलन छ ।

लोप हुँदै मार्सी धान
पहिल्लो समय परापूर्वकालदेखि जुम्लामा रोपिदै आएको कालिमार्सी धान लोप हुँदै गएको छ । ब्लास्ट रोगको संक्रमण र असिना पानीले बढी झर्न थालेपछि उत्पादन घट्दा किसानले यो धान लगाउन छाडेका हुन् । यो धानबाली संसारको सबैभन्दा उच्च (२७ सय ९० मिटर) स्थान जुम्लामा फल्छ । कालीमार्सी धान खेतीप्रति किसानको आकर्षण घट्दै गएपछि अहिले चन्दननाथ ३ लगाएतका उन्नत जातको धान खेति हुन थालेको छ । बरीष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलका अनुसार जिल्लाको १ हजार ३ सय हेक्टरमा खेति हुदै आएको कालीमार्सी धान खेती विस्तारै घट्दो क्रममा छ । उनले भने, ‘यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिँदै आएको छ । यहाँको स्थानीय हावापानी सुहाउँदो बीउ भएकोले मार्सीधान उत्पादनमा पहिले किसानलाई समस्या थिएन । तर पछिल्लो समय धानमा हुन थालेको रोगको संक्रमणले बर्षेनि उत्पादन क्षेत्रफल घटिरहेको छ ।’

यता जिल्ला कृषि अनुसन्धान केन्द्रले मार्सीधान संरक्षणका लागि अनुसन्धान थालेको छ । मार्सीधानसँग उन्नत जातको धान क्रस गराएर नयाँ प्रकारको धान सिफारिस गर्ने तयारी भइरहेको छ । खेतियोग्य जमिन नासिनु, किसान तरकारी खेतीतर्फ आकर्षित हुनु र बसाइँसराइको क्रम बढ्नुले मार्सीधान संकटमा परेको हो । अर्कोतर्फ उन्नत जातको धान स्वादिलो, असिनाले बाली झार्न नसक्ने, बोट होचो र उत्पादन धेरै, जलवायु सुहाउँदो भएकाले किसानको रोजाईमा परेको कृषि प्राविधिक लक्षीराम महतले बताए ।

मार्सी धानको इतिहास
जुम्ली कालीमार्सी धानको उत्पति १२ औँ शताब्दीमा भएको उल्लेख छ । सन् १३०० सालमा गुरु चन्दननाथ स्वामीले भारतको कास्मीरबाट कालीमार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ । मार्सीधानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सीधानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ । यो धान खेतीले हुलाक स्थापना गर्न प्रेरणा दिइएको किम्बदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सीधानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जंगली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतविद रमानन्द आचार्यले बताए । जुम्लामा धान खेती बेसी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर) मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ ।

नन्दराम जैसी ले तयार पारेको रिपोर्ट ।

तपाईको प्रतिक्रिया