डा.गोविन्द केसीले पक्राउ परेपछि हिरासतमै अनसन बस्ने चेतावनी दिए


जुम्ला । डा. गोविन्द केसी जुम्लाबाट पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो। शनिबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जाँदै गर्दा बाटोमै रोकिएपछि केसी अनसनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका थिए।

प्रहरीले केसीको अनसनमा अवरोध गरेपछि उनले हिरासतमै अनसन बस्ने चेतावनी दिएका छन्। अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर अनसन तथा आन्दोलन गर्न नपाइने भनेपनि डा. केसीलाई प्रहरीले त्यहाँ नपुग्दै रोकेको थियो।

जुम्लाको स्नोल्यान्ड होटलमा बसेका डा. केसीलाई प्रतिष्ठानतिर जाँदै गर्दा बिहानै टुँडिखेलको माथिल्लो गेटमा प्रहरीले रोकेपछि तनावको स्थिति सिर्जना भएको थियो। डा. केसीको समर्थनमा सयौंँ युवा र नागरिक समाजका सदस्य सडकमा निस्केका छन्। संसदमा विचाराधीन चिकित्सा विधेयक तोडमोड गरिएको भन्दै केसी शुक्रबार अनसनका लागि जुम्ला आएका हुन्।

प्रहरीले बाटोमै रोकेपछि केसीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने,ˊओलीजी अस्पताल प्रवेशमा रोक लगाउन सक्छौँ। तर, मेरो मुख बन्द गर्न सक्दैनौँ। मेरो नागरिक अधिकार हनन् किन ओली जी ? कति दिन तानाशाही शासन चलाउँछौ ?ʼ

केसीको समर्थक स्थानीयवासीले अस्पताल जान दिनुपर्ने माग गरीरहेका छन्। केसीका समर्थकले पम्प्लेट जारी गर्दै विरोध जनाएका छन्।

‘डा. केसीको आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ। ओली सरकारको दमन बन्द गर। प्रतिष्ठानमा एमबीबीएस पढाई सुरु गर। डा। केसीमाथिको दमन कर्णालीमाथि हो ? निरंकुश ओली सरकार, नागरिक स्वतन्त्रता खोई ? जस्ता नारा प्रदर्शनकारीले लगाएका छन्।

तपाईको प्रतिक्रिया