जुम्ला ः स्वास्थ्य शिक्षा क्षेत्रमा विभिन्न माग राख्दै डाक्टर गोविन्द केसीले जुम्लामा १५ औँ अनसन सुरु गरेका छन् । डाक्टर केसी जिल्ला प्रशासन अगाडी धर्ना दिईरहेको अवस्थामा असार १६ गते प्रहरीले प्रक्राउ गरेपछि प्रहरीको हिरासत भित्र अनसन सुरु गरेका हुन् । हिरासत भित्र अनसन सुरु गरेपछि प्रहरीले डा केसीलाई पुन जिल्ला खेलकुद विकास समिति जुम्लाको कवड हलमा लिएको छ ।
खासगरी डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनसन बस्ने गरी जुम्ला पुगेका थिए तर प्रशासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रशासन र जिल्ला प्रहरी कार्यालय वरिपरिको क्षेत्र दुई सय मिटरमा कुनै पनि धर्ना जुलुल र अनसनका कार्यक्रम गर्न नपाईने घोषणा गर्यो ।
डाक्टर केसी पक्राउ परेपछि उनका समर्थकले बाहिर चर्को नाजाबाजी गर्दागर्दै प्रहरीले उनलाई कबल हल पुर्यो । त्यसपछि उनका समर्थक र उनका सहयोगी तथा भाई किशोर केसीले प्रहरीले पक्राउ गरेको समयमा डा. केसीले अनसन थालेको भन्दै उनको जिम्मा आफुहरुले नलिने दावी गरेका छन् । प्रहरीको सुरक्षा सहित निगरानीमा रहेका डा. केसीले अनसन शुरु गरेपनि उनलाई कहाँ बस्न दिने भन्ने बिषयमा टुंगो लागेको छैन । तर अनसन शुरुपछि उनलाई कडा सुरक्षाका साथ प्रहरीले कवर्डहलमा राखेको छ । त्यहाँ उनी अब्यवस्थित रहेको उनका भाई किशोर केसीले बताए ।
डाक्टर केसीले प्रेस विज्ञप्ती मार्फत माग यसरी सार्वजनिक गरे
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ ।
यसमध्ये पनि मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा अहिले भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि हामीले चलाएको वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो ।
तर विडम्बना अहिले सो अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना हामीलाई प्राप्त भएको छ । त्यस्तो कदम हामीलाई स्वीकार्य छैन ।
त्यसैले निःशुल्क पीजीपछिको सेवा अवधि हामीसँग समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुको गर्दर्छौं । त्यसो नगरिएको खण्डमा यही असार १५ गतेदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं ।
हामीसित बारम्बार सम्झौता भए बमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने खालको छ किनभने प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ । फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन सकेको छैन भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त छ । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने काम हुन सकेको छैन ।
डाक्टरी केसी सर्मथकद्धारा सरकार विरुद्ध नाराबाजी
डा.केसीको समर्थनमा यहाँका युवा र नागरिक समाजका सदस्य सडकमा निस्केका छन् । एकजना सहयोगी भाईको साथमा जुम्ला पुगेका उनलाई नागरिक समाजको नेतृत्वमा यहाँका युवाहरुले पुर्ण साथ दिएका हुन् । डा.केसीले थालेको आन्दोलन सकारात्मक र समग्र कर्णालीबासीको हितका लागि रहेको दावी गर्दै युवाहरु पनि आन्दोलित भएका हुन् । शनिबारको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षप भएको र बिना पक्राउ पुर्जी डा केसीलाई नियन्त्रणमा लिईएकोप्रति ध्यानाकर्षण पत्र समेत उनीहरुले जारी गरेका छन् । डा केसीको माग सम्बोधनका लागि भएका शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षप भएमा कडा संघर्षका आन्दोलन थाल्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । प्रतिष्ठानमा लामो समयसम्म एमबीबीएस पढाईको बाटो राज्यले खुला नगरेकोमा आपत्ति जनाउँदै माग सम्बोधन नभए केसीको अनसनसँगै आफुहरु पनि जोखिम मोल्न तयार रहेको उनको भनाई छ ।
प्रहरीले लाठीचार्ज गर्दा दर्जन बढीलाई चोटपटक
डाक्टर केसीलाई अनसन बस्न नदिएपछि प्रशासन विरुद्ध ओर्लिएको समर्थकहरुलाई प्रहरीलाई लाठीचार्ज गर्दा नागरिक समाजका अध्यक्ष राजबहादुर महत, त्यसैगरी डा केसीका समर्थक देवेन्द्र शाही, विरबहादुर कठायत लगायत दर्जन बढीलाई सामान्य चोटपटक लागेको छ ।
डा. केसी जुम्ला आएपछि कडा सुरक्षा व्यवस्था
डा केसीले जुम्लाको सिमानामा प्रवेश गरेको खबर पाएपछि सुरक्षाकर्मीहरु बाक्लो मात्रामा परिचालन गरिएको थियो । अघिपछि खाली हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल परिसर, मुख्य बजार खलंगामा सुरक्षार्थ खटिएका प्रहरीको धेरै चहलपहल छ ।