डा. केसी प्रतिष्ठानको सघन कक्षमा भर्ना, अनशनको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था ठप्प

जुम्ला ः अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘एक्कासि मिर्गाैलामा समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पु(याएका छौँ,’ डा. रोकायाले भने । केसीको जीवनरक्षाका लागि स्थानीय नागरिक समाजले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्ला र स्थानीय प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘डा. केसी प्रतिष्ठानमै अनशन बस्न जुम्ला आउनुभए पनि प्रशासनले रोक लगायो । जनदबाबकै कारण प्रशासन लचिलो भएर उपचारका लागि प्रतिष्ठान पु(याइयो ।’

 

गंगामायाको अवस्था बुझ्न पूर्वराष्ट्रपति वीरमा
३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति डा. रामवरण यादव बुधबार वीर अस्पताल पुगेका छन् । यादवले संवेदनशील विषयमा सरकारले चासो नदेखाएको बताए । गंगामाया र चार वर्षअघि मृत्यु भएका उनका श्रीमान्को जिम्मा सरकारले लिनुपर्ने यादवको तर्क छ । गंगामायाका श्रीमान् नन्दप्रसादको शव चार वर्षदेखि महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा छ । गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आइसियूमा राखिएको छ ।

डा. केसीका मागमा छलफल गर्न सरकार तयार
गृहमन्त्री रामबहादुर थापाले डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार रहेको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा बुधबार विपक्षी दलका सांसदहरूले सरकारको जवाफ मागेपछि थापाले छलफलका लागि तयार रहेको बताएका हुन् ।

डा. केसीका निश्चित मागमा विगतमा सहमति भएको र त्यसअनुसार नै सरकारले विधेयक अघि बढाउने थापाले स्पष्ट पारे । उनले भने, ‘प्रतिपक्षी दलले नर्मल प्रक्रियाबाट विधेयक पास गरौँ भनेपछि केही समयलाई रोकिएको हो । चिकित्सा शिक्षा विधेयक फेरि ल्याउछौँ ।’ तर, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा डा. गोविन्द केसी अनशन बस्दा अरू नागरिकको अधिकार कुण्ठित मन्त्री थापाले बताए । उनले भने, ‘अरू नागरिकको अधिकार कुण्ठित गर्ने कार्यलाई लोकतन्त्र मान्न सकिन्न । यसलाई अधिनायकवाद नभनौँ ।’

स्वास्थ्यकर्मी आन्दोलित, सेवा प्रभावित
अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुगु, कालिकोट, हुम्ला, डोल्पाका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

चिकित्सक संघले गुहारयो मानवअधिकार आयोग
डा. केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ । पटक–पटक आवाज उठाउँदा पनि केसीको जीवनरक्षाका लागि सरकार अग्रसर नदेखिएको भन्दै संघ आयोग र संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय पुगेको हो । संघका महासचिव डा. लोचन कार्कीले डा. केसीको जीवनरक्षाका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको बताए । ‘केसीको स्वास्थ्यमा प्रतिकूल असर देखापर्दै गएको छ । कुनै पनि वेला अप्रिय घटना हुन सक्नेतर्फ सरकार सचेत हुनुपर्छ,’ उनले भने ।

नयाँ पत्रिका दैनिकले कम्पाएर गरेको रिपोट

प्रतिक्रिया दिनुहोस