नन्दराम जैसी
जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले डा. केसीका माग सम्बोधन तथा जिबनरक्षाका लागि वार्ताको माध्ययमबाट समस्या समाधान गर्न संघिय सरकार समक्ष ध्यानाकर्षण पत्र जारी गरेकी छन् । केसीका माग सार्वजनिक सरोकारका बिषय भएकाले तत्काल माग सम्बोधन तथा जिबनरक्षाका लागि सरकार गम्भिर बन्नुपर्ने उनले बताईन् । केसीको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रीएकाले समस्या सुल्झाउन वार्ताको माध्ययम अरु विकल्प नरहेको उनको भनाई छ । सेजुवालले तत्काल वार्ता टोली जुम्ला पठाउन सरकारसँग माग गरिन् । आफ्नो नगरपालिकाभित्र कुनै व्यक्तिको अनशनमै बसेको अवस्थामा मृत्यु हुने अवस्था आउँदा टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताइन् ।
यस्तै केसीको समर्थनमा नेपाल मानवअधिकार संगठन काठ्माडौले उनको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ । बिहिबार जुम्ला पुगेर संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालले केसीको सत्याग्रहमा आफुहरुले पनि साथ दिने ऐक्यबद्धता जनाउँदै माग पुरा गर्न सरकारलाई दबाब दिने बताए । उनले सोहि अवसरमा अनशनरत डा. केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाको बिषयमा पनि बुझेका छन् ।
केसीले सरकारी पक्षसँग वार्ता चाहे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १४ दिनयता अनशनरत डा. गोविन्द केसीले सरकारी पक्षबाट वार्ता चाहेका छन् । चिकित्सा शिक्षा ऐन तत्काल यथा रुपमा जारीको माग गर्दै सत्याग्रह थालेका केसीले आफ्नो माग सम्बोधनका लागि सरकारी पक्षबाट वार्ता चाहेका हुन् । बुधबार काठ्माडौबाट उनलाई लिन सरकारले हेलिकप्टरमा जुम्ला चिकित्सक पठाउने तयारी गरेपछि काठ्माडौ जान अस्विकार गरेका केसीले सरकार पहिले वार्तामा आउनुपर्ने अडान राखेका छन् । ‘सरकार वार्तामा नआएर जवरजस्ती मलाई काठ्मार्डौ लिई मेरा माग तुहाउन खोज्दैछ, तर म त्यसो हुन दिन्न’ उनले भने, ‘सरकार पहिले वर्तामा आउनुपर्यो, अनि मात्र माग सम्बोधनको सहमतिपछि म आफै काठ्माडौ जान्छु ।’
डा. केसीका समर्थक तथा सहयोगी समेत रहेका निजि क्षेत्रका डा. जिबन क्षेत्रिका अनुसार सरकारी पक्षबाट वार्ताका लागि कुनै आधीकारीक जानकारी आएको छैन । ‘केसीको मागप्रति सरकार लचक बन्दै वार्तामा आए हामिपनि वार्तामा बस्न तयार छौ, तर त्यसो हुन सकेको छैन’ उनले भने, ‘सरकारले वार्ताबाटै माग सम्बोधन गरी केसीको जिबनरक्षा गर्नुपर्छ ।’ डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै जाँदा सरकार वार्ता भन्दा पहिले केसीको जिबनरक्षा गर्ने दाउमा छ, भने केसी वार्ता नभएसम्म काठ्माडौ नफर्किने होडमा छन् ।
डा. केसी पक्ष र समर्थकहरुले पनि सरकारलाई वार्ताको माध्ययमबाट केसीको माग गर्न दबाब दिईरहेका छन् । माग पुरा नभए कर्णालीमै मर्न तयार केसीको स्वास्थ्यलाई ध्यानमा राखि उनको जिबनरक्षा गर्न नागरीकहरुले माग गरेका छन् । सरकार र केसी पक्षबिच वार्ताका लागि आफुहरु मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेपनि सरकार लचिलो नबन्दा समस्या दोहोरीदै गएको नेपाल चिकित्सक संघका बरिष्ठ उपाअध्यक्ष ढुण्डीराज पौडेलले बताए । ‘केसी र सरकार संवादका लागि लचक देखिएपनि सरकारले वार्ता टोली गठन गरेको छैन, सरकारले वार्ता टोली गठन गरेको भए सहज हुने थियो’ उनले भने, ‘सरकारले केसीको ज्यानलाई मात्र नभई मागप्रतिपनि ध्यान देओस् ।’ सरकार डा. केसीका मागप्रति संवेदनशील बन्दै वार्तामा आउन चाहे केसी जुम्लामै रहेपनि काठमाडौंमा रहेका उनका पक्षधरसँग वार्ता गर्न सकिने उनले बताए ।
एअरलिफ्ट गर्न चिकित्सकको सल्लाह
डा. गोविन्द केसीको उपचारमा चिकित्सकहरुलाई कठिनाई भएपछि उनलाई एअरलिफ्ट गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । डा. केसीले आफ्नो उपचारमा चिकित्सकहरुको सल्लाह नमानेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचार टोलीमा संलग्न चिकित्सकद्धोय पुजन कुमार रोकाया, धिरज गुरुङ, सिद्धार्थ खाती र निराजन महासेठले एअरलिफ्ट गर्न सुझाब दिएका हुन् । केसीको जटिल स्वाथ्य अवस्थालाई हेर्दा आईसियुको आवाश्यता परेपनि प्रतिष्ठानमा भने आईसियु छैन ।
चिकित्सकहरुले केसीको स्वास्थ्यलाई मध्यजनर गरी आवाश्यकता अनुसारको औषधि प्रयोग गर्न खोज्छन्, तर उनले त्यो सल्लाह पनि मान्दैनन् । केहिदिनयता अक्सिजन र पानीको सलाईनको माध्ययमबाट चिकित्सकहरुले केसीको जिबनरक्षा गरेका छन् । चिकित्सकहरुका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा कम हुदै गएको छ, तर उनले ग्लुकोज पनि लिन मानेका छैनन् । ग्लुकोज नभएका अन्य औषधि प्रयोग गरीरहेको छ । त्यस्तै रगतमा म्याग्नेसियमको मात्रा कम भएको हुँदा मुटुको चालमा गडबडी भैईरहेको छ । जसले गर्दा मुटुले काम गर्न छोड्नसक्ने जस्ता खतरा देखिएका छन् ।