कर्णालीका किशोरीको फुटबल अनुभव, मुगुदेखि स्पेनसम्म


काठमाडौं । ‘खुब उल्टी आयो, चक्कर लागेर ज्वरै आउला जस्तो भयो,’ मुगुको ताल्चा विमानस्थलबाट जहाजमा नेपालगन्ज आइपुगेपछि पहिलो पटक काठमाडौंसम्मका लागि बस–यात्रा सम्झिइन् हिमाली शाहीले, ‘बसबाट झरेपछि मात्र सास आयो, नत्र उल्टी मात्रै भयो ।’

काठमाडौंको सपना जटिल छ । तर, विकट कर्णाली मुगुका यी १७ जना किशोरीको साझा र सरल सपना छ– गाउँ फर्केर फुटबल खेल्ने र साना नानीलाई फुटबल सिकाउने ।

स्पेनको अन्तर्रा्ष्ट्रिय ग्राउन्ड सान्सेबास्टियानमा जुलाई १ देखि ७ सम्म भएको अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिता ‘डोनास्टिक कप’मा खेलेर काठमाडौं फिरेका उनीहरूलाई अब छिट्टै घर पुग्ने हतारो छ । त्यो हतारो सबैको अनुहारमा देखिन्छ । स्पेनमा भएको त्यस फुटबल खेलमा ३४ देशका ६ सय ३० टिमका ७ सय खेलाडी सहभागी थिए । नेपालबाट अन्डर–१४ खेल खेल्न ‘टिम रारा’लाई स्पेनको आयोजकले निम्ता गरेको थियो । र, नेपालबाट १७ खेलाडी सहभागी थिए ।

यो यान्त्रिक सहरमा उनीहरूको बसाइ अब लम्बिनेछैन । उनीहरू त राराको पानी खेल्न छिट्टै मुगु पुग्नेछन् । उनीहरूलाई आफ्नो घर मुगु पुग्नु छ र सुनाउनु छ– स्पेनका अनेक किस्साहरू । बल्ल उनीहरूको फरक शैलीको जीवन सुरु हु“दै छ ।

घर छाडेपछि उनीहरूले जे गरे, त्यो जीवनमै पहिलो पटक गरे । जे देखे, त्यो पहिलो पटक देखे । उनीहरू पहिलो पटक जहाज चढे, पहिलो पटक काठमाडौं आए, पहिलोपटक जर्सी लगाए, पहिलो पटक विदेश पुगे, काठमाडौं राम्ररी नदेखीकनै उनीहरूले पहिलो पटक मेस्सी, रोनाल्डोले फुटबल खेल्ने बार्सिलोनाको ग्राउन्ड नोउ फुटबल स्टेडियम टेके । ती खेलाडीका गोल्डेन बुट र जर्सी पहिलो पटक देखे ।

मुगुको रेडियोबाट ६ महिनाअघि फुटबलको छनोट खेल हुँदै छ भनेर सूचना सुन्दा उनीहरू कसैले पनि फुटबलको एउटै खेल खेलेका थिएनन् । मुगुमा उनीहरूको फुटबलको एउटै आदर्श थिइन्– सुनकली । फुटबलमा उनीहरूले एउटै नाम सुनेका थिए– सुनकली ।

त्यो पहिलो पटकमै जोडिन्छन्– समुद्र, अन्डरग्राउन्ड रेल र अनेक थोक । उनीहरू समुद्र पुगे, पहिलो पटक र मुगुको राराको पानी सम्झिए । त्यस बेलासम्म उनीहरूलाई लाग्थ्यो– संसारकै सबैभन्दा धेरै पानी रारामा मात्रै छ । ‘तर, होइन रहेछ’, स्पेनबाट फर्केकी फुटबलकी टिम क्याप्टेन रीतादेवी रोकायाले भनिन्, ‘रारा तालमा भन्दा पनि धेरै पानी समुद्रमा पो रहेछ । राराको पानी मीठो थियो, समुद्रको पानीमा त नुन रहेछ ।’

आफ्नो गाउँबाहिर निस्केर हि“डेको अनुभव थिएन रीतादेवीलाई । सहर आइपुगेपछि पहिलो पटक उनी पसल पुगिन् र क्याडबरी किनिन् । पहिलो पटक काठमाडौंका ओसिला गल्लीतिर उनीहरूका फुटबल सुज खिइरहेका छन् । ६ महिनाअघि मात्रै फुटबल छोएका उनीहरू ‘फरक विश्वकप’मा भिडेर देश फर्किए । ‘डोनास्टिक कप’ खेलेर फर्केका उनीहरू फेरि फुटबल खेल्लान् ? जीवनमा अचानक आइपरेको अवसरलाई पछ्याउँदै यहाँसम्म आइपुगेका उनीहरूको जीवनमा अब फुटबल कसरी अघि बढ्ला ?

०००

‘शंखमूल टावर’को छतमा ओछ्याइएको प्लास्टिकको दुबोमा फुटबल प्राक्टिस गर्दै गर्दा १३ वर्षीया रोशनी कामीको आ“खा र मुहारमा सन्तोष र स्वतन्त्रताको भाव झल्किन्छ । त्यस्तै सन्तोष, उत्साह र स्वतन्त्रता हिमाली शाही, रीतादेवी रोकाया, रामकली बोहरा, भाग्यशाली भाम, यमुना चौलागाईं, सत्यलक्ष्मी बुढा, सुनमती बुढाहरूको मुहार र आ“खामा पनि देखिन्छ । उनीहरूको भावभंगिमा, गफको बान्कीलाई नजिकबाट नियाल्दा ‘कर्णाली’को असली अनुहार आँखामा टाँसिन्छ । सबैको घर मुगु भए पनि सबै फरकफरक गाउँका छन्– पिना, ताल्चा, थार्प, भामवडा, रोबा, बाम । तर, फुटबलले केही महिनादेखि उनीहरूलाई एकै ठाउँमा ल्याइदिएको छ । र, अहिले उनीहरूले नयाँ नाम पाएका छन्– हिमालयन मेस्सी ।

मुगुको रेडियोबाट ६ महिनाअघि फुटबलको छनोट खेल हुँदै छ भनेर सूचना सुन्दा उनीहरू कसैले पनि फुटबलको एउटै खेल खेलेका थिएनन् । मुगुमा उनीहरूको फुटबलको एउटै आर्दश थिइन्– सुनकली । फुटबलमा उनीहरूले एउटै नाम सुनेका थिए– सुनकली ।

महाकाली मावि रोबा पढ्ने रोशनी कामीको घर पुग्न मुगुको सदरमुकाम गमगढीबाट ६ घण्टा लाग्छ । आठ छोरीमध्ये उनी काँइली हुन् । ‘सुरुमा ममीले खेल्छु भन्दा मान्नुभएन’, रोशनी भन्छिन्, ‘धेरै जिद्दीपछि छानिएँ, पछि मान्नुभयो ।

छानिएर पासपोर्ट बनाउने कुरा हुँदा गाउँका मान्छेले भनेछन्, ‘हाम्रा छोरी–चेलीलाई खेल खेलाउनेले विदेशतिर लगेर बेच्छन् ।’ त्यो सुनेपछि ममीले झन् मान्नुभएन’, रोशनी थप्छिन्, ‘धेरै सम्झाइबुझाइ गरेपछि बल्ल मान्नुभयो ।’

रोशनी कामीलाई गाउँमा अनेक बन्देज छ । आफ्नो मिल्ने साथीको घर छिर्न निषेध, स्कुलमा साथीसँगै बसेर एउटै पानी खान निषेध, पँधेरामा पानी भर्न जान निषेध, बिहे, व्रतबन्ध, धार्मिक कार्य र मन्दिरमा प्रवेश गर्न निषेध । तर, अब उनमा गाउँमा गएपछि सम्मान पाउनेछु भन्नेमा आत्मविश्वास पलाएको छ । दलितलाई गरिने व्यवहारले उनी सानैदेखि आजित थिइन् । आमालाई गएर सोध्थिन्, ‘आमा मलाई किन घर छिर्न नदेका ? किन पँधेरामा पानी थाप्न नदेका ? ’ आमा भन्थिन्, ‘अहिले सानै छेस्, तँ पछि बुझ्छेस् ।’

फुटबलमा रोशनीको छनोटको कथा बेग्लै छ । आमाले छनोटका लागि लाग्ने २ सय ५० दिइनन् । आफू पनि खेलमा भाग लिन जान लागेकी साथीले दिइन् । तर, साथी सेलेक्ट भइनन् । ‘पछि खुब डाहा गरी साथीले’, रोशनी भन्छिन् ।

उनलाई स्पेन पुगेर आउनु जीवनमा निकै ठुलो सफलता लागिरहेको छ । ‘बाबु–बाजेले नदेखेको ठाउँ पुगेर आइयो, म त उतै छु कि जस्तो लागेको छ,’ उनी भन्छिन् ।

बामकी सत्यलक्ष्मी बुढालाई पनि फुटबलमा छनोट भएपछि गाउँका धेरैले ‘तिमेर्लाई काठमान्डु लगेर बेचिदिन्छन्’ भने । पछि गमगढी आएर विदेश जाने काजगपत्र मिलाएपछि मात्र विश्वास लाग्यो । भन्छिन्, ‘म भाग्यमानी रहेछु, सानै उमेरमा बाउबाजेले कहिल्यै नदेखेको देश पुगेँ ।’

बामकै सुनमती बुढाले ६ महिनाअघि छनोट खेल हुनुअघि नै मोजाको फुटबल बनाएर घाँस काट्न जाँदा साथीहरूसँग लुकेर खेलेकी थिइन् । ‘छोराले बल खेल्ने, छोरीले खेतीपाती सिक्ने भन्नुहुन्थ्यो आमा’, उनी भन्छिन्, ‘अब धेरै सिकें फुटबल । खेलाडी नै बन्छु भन्ने सोचेकी छु ।’

यमुना चौलागाईंको लक्ष्यचाहिँ गाउँमा पुगेर साथीहरूलाई फुटबल सिकाउने छ । ‘साथीहरू र जुनियर टिमलाई फुटबल सिकाउँछु,’ उनी भन्छिन् । ‘घरमा आमा–बाले फुटबल खेल्ने काम केटाहरूको पो हो, कहाँ तिमी खेल्ने भन्थिन्’, कर्णाली मावि टोप्लामा १० कक्षा पढ्ने रीतादेवी रोकायाले भनिन्, ‘पछि हाम्रो जिद्दीको अघि आमाको केही लागेन र पठाउनुभयो ।’ उनी फुटबलको छनोट खेल खेल्न टोप्लाबाट एक दिनको बाटो हिँडेर बाम पुगिन् । ‘त्यस बेलासम्म मैले फुटबलमा सुनकलीको मात्रै नाम सुनेकी थिएँ’, उनी भन्छिन्, ‘पछि सरले भनेपछि मात्रै मेस्सी, रोनाल्डोको नाम सुनेकी हुँ ।’

मुगुबाट आएकी चर्चित फुटबल खेलाडी सुनकलीकै गाउँ बाममा भएको थियो– फुटबल छनोट खेल । पहिलो पटक फुटबल खेल्दा उनीहरूले कुर्तासुरुवाल लगाएर, घुम्टो ओढेरै खेलेका थिए । अधिकांशको खुट्टामा जुत्ता थिएन । हिउँ परिरहेको थियो । ‘हामीलाई खेल्नै आउँदैनथ्यो, एउटै बलमा ७ जना झुम्मिन्थ्यौं ।’

सुनमती बुढाले काठमाडौं आएर एन्फाको ग्राउन्डमा प्राक्टिस गेम खेल्दा दूबो देखेपछि चुँडेर हेरिन्, प्लास्टिकको रहेछ । ‘भीर, माटो–ढुंगामा खेल्ने हामी दूबोमा खेल्न पाउँदा छक्कै प¥यौं ।’ पछि उनले बार्सिलोनाकै ग्राउन्ड पुगेपछि फुटबल ग्राउन्डमा रियल दूबो देखिन् । झन् छक्क परिन् ।

पिनाकी हिमाली शाहीले ६ महिनाअघि फुटबल पनि देखेकी थिइनन् । घरमा टीभी छैन, फुटबल गेम पनि हेरेकी थिइनन् । पहिलो पटक खुट्टामा बल परेको छनोट खेलमै हो । उनीसँग जर्सी थियो, जुत्ता थिएन । तर, अन्डर–१४ को छनोट खेलमा छानिएपछि र स्पेन पुगेर फर्केपछि उनमा आत्मविश्वास पलाएको छ– म निकै राम्रो खेल्न सक्छु भन्ने ।

थार्पकी रामकली बोहराको परिवारमा १० जना छन् । आठ भाइबहिनी । आमा–बाले अनुमति नदिए पनि उनले फुटबल खेलेरै छाडिन् । उनले पनि सुनकलीको मात्र नाम सुनेकी थिइन् । त्यसअघि कुनै पनि फुटबल खेल हेरेकी थिइनन् । ‘गाउँमा केटाहरूले खेल्थे, केटीलाई खेल्न दिँदैनथे’, रामकली भन्छिन्, ‘अब त खेल्ने आँट बढेको छ ।’

भाग्यलक्ष्मी भामले चाहिँ खुट्टामा कहिल्यै बल नपरे पनि टीभीमा आक्कलझुक्कल खेल हेरेकी थिइन् । उनले छनोट खेल खेल्नुअघि भलिबल खेलेकी थिइन् । ‘गाउँकै दाइहरूले खेलाउनुभएको थियो,’ भाम भन्छिन् ।

उनीहरूजस्तै विपना मल्ल, संगीता थापा, सतमा बुढा, घामदेवी बडुवाल, स्वस्तिका मल्ल, पुष्पादेवी शाही, सोचपुरा महतरा, राज्यलक्ष्मी बुढा, उर्मिला बडुवालहरूको पनि उस्तै कथा छ । सबै जनालाई एकबारको जीवनमा स्पेन पुग्नु सपना हो कि झैं लागिरहेको छ ।

बाममा आयोजना भएको छनौट खेलमा मुगुका भिन्न भिन्न ठाउँबाट आएका १० टिमले सहभागिता जनाएका थिए । तीमध्ये छानिएका १७ खेलाडी स्पेन पुगेका हुन् ।

स्पेनमा उनीहरूले ४ वटा खेल खेले । चारै वटामा हारे । एउटै गोल फर्काएनन् । गेम हार्दा रुनुभो कि ? ‘रोएनौं, तर दुःख लाग्यो,’ रोशनी भन्छिन् ।

नेपालबाट स्पेन पुगेको किशोरीहरूको ‘रारा टिम’ ४ वटा खेलमध्ये पहिलो खेलमा ३–०, दोस्रोमा ८–०, रियल मड्रिडसँग भएको तेस्रो लेखमा ११–० र चौथो खेलमा ६–० ले पराजित भएको थियो । ‘खेलाडी कति अग्ला थिए भने टाढाबाट देख्दै डर लाग्ने’, मिडफिल्डर रामकली बोहराले भनिन्, ‘हाम्रो तयारी पुगेकै थिएन अनि कसरी जित्नु ? ’

गाउँमा खेलेको सम्झ“दा उनीहरू टोलाए जस्ता हुन्छन् । रारा किनारमा फुटबल खेलेको, दौडेको, हिमपात हुँदा पनि जोसका साथ बलमा झुम्मिएका दिनहरू उनीहरूका आ“खामा नाच्छन् ।

अति भिरालो पाखाहरूमा मोजाका डल्लालाई फुटबल मानेर खेलिरहेका किशोरीहरूको अनुहारमा अहिले बेग्लै चमक छ । विशेष त विदेश घुम्न पाएकोमा उनीहरू खुसी छन् । फुटबलमा नजित्नुले खासै दुःख दिएको छैन । अब त उनीहरूलाई क्रिस्टियानो रोनाल्डो, मेस्सीको नाम मात्र होइन, उनीहरूका खेल कौशलबारे पनि थोरबहुत ज्ञान छ । अझ उनीहरूले खेलेकै मैदानमा फुटबल खेल्न पाउनुलाई जीवनकै सबैभन्दा महŒवपूर्ण अनुभव ठानेका छन् ।

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया