संमृद्धि सपना ः जुम्लीको मुहार फेर्दै तरकारी


नन्दराम जैसी
जुम्ला । बिहान उठ्नेबित्तिकै तरकारीबारीमा जान्छन्, दिनभरी तरकारी गोडमेल, बेचबिखन गर्दै थाकेका उनी साँझ निदाउँदा पनि तरकारीबारीकै चिन्ता गर्छन् । तरकारी बेचेर आम्दानी हातमा परेपछि मात्र उनलाई कामको थकाई मेटिएको महसुस हुन्छ । उनी हुन्, गाउँमै व्यावसायिक तरकारी खेती गरी मनग्गे आम्दानी गर्दै आएका जुम्ला तिला गाउँपालिका तीन कुडारीका ४२ वर्षीय कर्णबहादुर हमाल ।
पहिले पहिले घरमा खानका लागि मात्र तरकारी उत्पादन गरेका कृषक हमालले विगत पाँच वर्षयता तरकारी व्यवसायलाई नै आफ्नो मुख्य आयआर्जनको स्रोत बनाएका छन् । गाउँमै तरकारी व्यवसाय गरेर दिनचर्या बिताउने उनी अहिले समाजको एक उदाहरणीय कृषक बन्न सफल भएका छन्। उनी भन्छन्, ‘मेहनत गरे गाउँकै माटोमा पैसा फल्ने रहेछ, पैसाको खोजीमा कसैले विदेश भौतारिनु पर्दैन ।’

गाउँमै तरकारी उत्पादन तथा बिक्री गर्दै आएका उनले अहिले तरकारीबाट भएको आम्दानीबाट सहजै घरपरिवारको जीविकोपार्जन गर्दै आएका छन् । पाँच रोपनी जग्गामा लगाएको तरकारी बेचेरै उनी वार्षिक तीन लाखभन्दा बढीको आम्दानी गरिरहेका छन्। जुम्लामा हिउँदे सिजन चिसोका कारण तरकारी उत्पादन नहुने भएकाले हिउँदमा पोलिहाउसभित्र र वर्षामा बाहिर तरकारी उत्पादन गरी बाहै्रमास गाउँमा तरकारी फलाउने उनी एक उदाहरण कृषक पनि हुन् ।

होटल व्यवसाय छाँडेर तरकारी व्यवसाय अपनाएको उनको परिवार यसै पेसाबाट खुसी र सम्पन्न बन्दै गएको छ । ‘बजारको मागअनुसार अझैं तरकारी उत्पादन गर्न सकेको छैन । अब तरकारी खेतीका लागि जग्गा बढाएपछि बजारको माग पनि सम्बोधन हुन्छ । मेरो आर्थिक स्रोत अझैं वृद्धि हुन्छ’, उनले भने, ‘तरकारी बेचेरै छोराछोरी पढाएको छुँ । परिवारलाई लुगाफाटो भएको छ। कामका लागि भारत जानुपर्ने बाध्यता पनि हट्यो ।’

सामूहिक खेती सुरु
स्वदेशमा रोजगारी छैन, भन्दै लाखौं युवा रोजगारीको खोजीमा विदेश भौतारिएका बेला तरकारी कृषक कर्णबहादुर हमालको उदाहरण देखेर उनीसँगै गाउँका अन्य चारजना कृषक पनि सामूहिक तरकारी खेती गर्न थालेका छन्। स्वदेशमै उद्यम गरे मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने कुरा उनीहरूले बल्ल बुझेका हुन् ।

विदेशको मोटो रकम आँखा देख्ने बानीले गाउँको माटो बाँझो हुन थालेपछि सामूहिक तरकारी खेतीमा आबद्ध भएको कृषक पदम भट्टराईले बताए। जिल्लाका प्रमुख बजारहरूमा बढ्दो तरकारीको मागलाई मध्यनजर गरी उनीहरूले २० रोपनी जग्गामा सामूहिक तरकारी खेती गरेका छन् । उनीहरुले उत्पालन गर्ने काउली, आलु, गाजर, प्याज, काँक्रा, टमाटर, फर्सीलगायत सागपात तथा अन्य तरकारी जिल्लाका प्रमुख बजार नाग्मघाट कालिकोट, कुडारी, तातोपानी, रारालिहीलगायत सदरमुकाममा निकै खपत हुने गरेको छ ।

युरोपियन युनियनले विकास परियोजनाअन्तर्गत पार्टिकल एक्सनले तिला र तातोपानी गाउँपालिकामा तरकारी खेती गर्न कृषकलाई आवश्यक सामग्री, सिँचाइको व्यवस्था गरेर सघाइरहेको छ ।

युरोपियन युनियनको विकास परियोजनाअन्तर्गत पार्टिकल एक्सनले तिला र तातोपानी गाउँपालिकामा तरकारी खेतीका लागि कृषकलाई आवश्यक सामग्री, सिँचाइको व्यवस्था तथा प्राविधिक सल्लाह दिएर सघाइरहेको छ । ‘व्यवसाय सुरु गर्न, मसँग ठूलो पैसा थिएन, संस्थाबाट ऋण निकालेर तिर्ने स्रोत पनि थिएन’ कृषक दिपेन्द्र हमालले भने, ‘सामूहिक तरकारी व्यवसाय सुरु गर्दा विकास परियोजनाले पोलिहाउस र तरकारीको बीउसहित करिब पाँच लाख जतिका सामग्री सहयोग गरेपछि सहज भयो ।’

गाउँको बाँझो जग्गालाई सदुपयोग गरी तरकारी उत्पादन गरेर करोडपति बन्ने कृषकको सपना छ । स्वदेशमै श्रम गरे जीवन चलाउन समस्या नभएको कृषक देवीकन्या भट्टराईले बताइन्। गाउँमै सामूहिक तरकारी खेती सुरु गरेका उनीहरूले वार्षिक २५ लाखभन्दा बढीको कारोबार गर्ने योजना बनाएका छन् । हाल जुम्लाका कृषकले तरकारी खेतीबाट जीविकोपार्जनको स्रोत जुटाउन थालेका हुन् । उत्पादित तरकारीको बजारीकरण तथा गुणस्तरका विषयमा स्थानीय तहले पनि योजना बनाइरहेका छन् ।

सोलार लिफ्टबाट सिँचाइ
तिला गाउँपालिका ३ पाडा लुमसेरा र तातोपानी गाउँपालिका १ राँका गाउँका कृषकले सोलार लिफ्ट सिँचाइ प्रणालीबाट तरकारी खेती गरिरहेका छन्। बजारमा तरकारीको माग बढ्दै गएपछि तरकारी खेतीतर्फ आकर्षित भएका लुमसेरा र राँका गाउँका कृषकले सोलार लिफ्ट सिँचाइ प्रणालीबाट तरकारी उत्पादन गरिरहेका हुन्। तरकारी उत्पादनका लागि गाउँमा पानीको स्रोत नभएपछि तिला नदीबाट सोलार लिफ्टद्वारा पानी तानेर कृषक तरकारी उत्पादनमा लागेका छन् ।

पाडा लुमसेरामा नदीबाट १० मिटरमाथिको २५ रोपनी र राँका गाउँमा नदीबाट एक सय ७५ मिटरमाथि सुक्खा डाँडामा सोलार लिफ्टद्वारा पानी तानेर करिब ३० रोपनी जग्गामा तरकारी फलाउन थालिएको हो। यसअघि खेतीयोग्य जमिनमा जौ, कोदोलगायत अन्नबाली लगाउँदै आएका पाडा लुम्सेराका २० घरधुरी र राँका गाउँका ३० भन्दा बढी घरधुरीले सोलार लिफ्ट सिँचाइ प्रणालीबाटै तरकारी फलाउन थालेका हुन् ।

‘गाउँमा पानीको स्रोत नहुँदा बारीमा अन्नबाली लगाउँथ्यौ, तर विकास परियोजनाद्वारा सोलार लिफ्टबाट पानी आएपछि तरकारी फलाउन सजिलो भयो’ वरिष्ठ कृषक परान धरलाले भने, ‘एक रोपनी जग्गामा उत्पादन गरेको अन्नबालीबाट महिना दिन पनि खान पुग्दैनथ्यो, तर सोही जग्गामै फलाएको तरकारी बेचेर वर्ष दिन खाना पुग्छ।’ गाउँ नजिकैको खेतबारीमा केही वर्षयता व्यावसायिक तरकारी खेती गर्दै आएका उनले सोलार लिफ्ट सिँचाइ प्रणालीले तरकारी खेतीमा सबै गाउँलेलाई राहत पुगेको बताए । अहिले उनीजस्तै गाउँका ३० जनाभन्दा बढी कृषकहरू जीविकोपार्जनका लागि व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

तातोपानी ३ का कृषक कालिबहादुर बुढाले बेरोजगारका लागि तरकारी खेती आर्थिक समृद्धिको मुख्य पाटो बनेको बताए। उनी र उनीजस्तै लिताकोट गाउँका २५ जनाभन्दा बढी कृषकले सामूहिक तथा व्यक्तिगत रूपमा तरकारी उत्पादन गरेर स्थानीय बजारको माग पूर्ति गर्दै आएका छन् । कृषकले गाउँमै मौसमी तथा बेमौसमी तरकारी फलाएर बिक्री गर्दै आएपछि उनीहरूको जीविकोपार्जनमा पनि सहज भएको छ ।
अर्गा्निक तरकारीको सम्भावना
कर्णालीको खेतीयोग्य जमिनमा व्यावसायिक तरकारी खेती गर्ने प्रचुर सम्भावना भए पनि सिँचाइको समस्याले अधिकांश खेतीयोग्य जमिन बाँझो रहेको पाइन्छ । तसर्थ सिँचाइको अभावका कारण आकासेपानीको भरमा तरकारी खेती गर्दै आएका जुम्ली कृषकको खेतीयोग्य भूमिमा सिँचाइ नहुनु यहाँको मुख्य समस्या हो। तर पछिल्लो समय सरकारी तथा गैरसरकारी संघसंस्थाको पहलमा खेतीयोग्य जमिनसम्म सिँचाइ सुविधा पु¥याउने अभियानले यहाँको अर्गा्निक तरकारी उत्पादन पनि वृद्धि हुँदै गएको छ ।

हाल जुम्लामा अर्गा्निक काउली, आलु, गाजर, प्याज, काँक्रा, टमाटर, फर्सीलगायत तरकारी तथा सागपात उत्पादन भइरहेका छन्। अर्गा्निक तरकारीको बढ्दो माग र सुदृढ बजार व्यवस्थापनले तरकारीको बजार सम्भावना बढ्दै गएको छ । जिल्लाका सबै क्षेत्रमा अर्गा्निक तरकारी उत्पादन गर्ने कृषकको पनि आयस्रोत भरपर्दो बन्दै गएको छ ।

यहाँ उत्पादित अर्गा्निक तरकारी जिल्लाबाहिरबाट आयातित विषादीयुक्त तरकारी भन्दा हाइजेनिक र स्वस्थ्यकर भएकाले यसको सम्भावना बढेको हो। पछिल्लो समय जिल्लाका प्रमुख स्थानीय बजार र जिल्लाबाहिर पनि जुम्लामा उत्पादित अर्गा्निक तरकारीको माग बढी छ । विषादीयुक्त तरकारीभन्दा यहाँको अर्गा्निक तरकारीहरू उपभोक्ताले बढी रुचाउन थालेपछि तरकारीको बजार भविष्य उज्ज्वल रहेको कृषि विज्ञ धनप्रसाद देवकोटाले बताए । जिल्ला कृषि विकास कार्यालयका अनुसार कृषकहरूको ज्ञान, सीप र क्षमता वृद्धि हुँदै गएपछि उनीहरू स्वच्छ र स्वस्थ हाइजेनिक अर्गा्निक तरकारी फलाउन सफल भएको पाइन्छ । अर्गा्निक तरकारी फलाउने कृषकलाई आवश्यक पर्ने प्राविधिक सल्लाह तथा उपकरणहरू पनि संघसंस्थाले उपलब्ध गर्दै आएका छन् ।

आयात रोकियो, निर्यात बढ्दो
पछिल्लो समय जिल्लामा आयातित तरकारी रोकिएको छ । जिल्लामा बढ्दो अर्गा्निक तरकारी उत्पादन र बजार व्यवस्थापनले जिल्लाबाहिरका सुर्खेत, नेपालगन्ज, बाँके, बर्दिया, कैलालीलगायत जिल्लाबाट आयातित सबै प्रकारको तरकारी रोकिएको हो। यसअघि जुम्ला जिल्ला ६ महिना तरकारीमा पूर्ण आत्मनिर्भर र ६ महिना परनिर्भर हुदै आए पनि विगत एक वर्षदेखि बाँकी ६ महिना पनि आंशिक आत्मनिर्भर बन्दै गएको छ ।

तातोका कारण वर्षा सिजनको ६ महिना खेतबारीमा र हिउँदे सिजनको ६ महिनामा पोलिहाउसभित्र व्यावसायिक तरकारी उत्पादन हुन थालेपछि जिल्लाको माग धानेको हो । जुम्लाको अर्गा्निक तरकारी अहिले जिल्लाबाहिर निर्यात हुने क्रम बढेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले बताए। उनका अनुसार जुम्लाको आलु, सिमी, टमाटर, प्याजलगायत अर्गा्निक तरकारी सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत सहरमा व्यापारीहरूले निर्यात गर्न थालेका हुन् ।

‘विगतका वर्षमा कृषकहरूले जिल्लाको माग पूर्ति गर्न नसक्दा तरकारी आयात भइरहेको थियो, तर अहिले उत्पादन दोब्बर भएपछि जिल्लाबाहिर निर्यात भइरहेको छ, ‘जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले भने, ‘जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन अझैं अर्गा्निक तरकारी उत्पादन बढाउनुपर्छ।’ उनका अनुसार वर्षा सिजनमा तरकारी निर्यात बढे पनि हिउँदे सिजनमा निर्यात गर्ने अवस्था हुने छैन ।

हिउँदे सिजनमा पोलिहाउसभित्र उत्पादन गरेको तरकारी लागतअनुसार महँगो पर्ने भएकाले कृषकहरू निर्यात गर्ने गरी उत्पादन गर्न नसक्ने उनले बताए । हिउँदे सिजनमा अन्य जिल्लाले उत्पादन गर्ने विषादीयुक्त तरकारी प्रतिस्पर्धाको बजारमा प्रतिकेजी ३०र४० रुपैयाँसम्मले भित्रिने र यहाँको अर्गा्निक तरकारी त्योभन्दा महँगो पर्ने भएकाले निर्यात हुने गरी उत्पादनमा कठिनाइ भएको उनको भनाइ छ । अर्गा्निक तरकारी उत्पादनमा देखिएका सिँचाइ तथा रोगकीरा व्यवस्थापनजस्ता समस्या समाधानका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्ने कृषि प्राविधिकहरूको भनाइ छ। जुम्लामा वार्षिक १० करोडबराबरको तरकारी कारोबार हुने गरेको अनुमान छ ।

युवा आकर्षण बढाऊ
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने, ‘गाउँपालिकाले चालू आर्थिक वर्षबाट कृषि क्षेत्रको विकासका लागि विशेष बजेटको समेत व्यवस्था छ, त्यसै अनुसार विभिन्न प्रकारका कृषि कार्यक्रम सञ्चालन हुनेछन्।’ उनका अनुसार यस वर्षबाट गाउँपालिकाले पाँच जनाको समूहमा आउने कृषकका लागि व्यावसायिक खेती प्रवद्र्धनका लागि लोन दिने व्यवस्था गरेको छ । बजार मूल्य पनि निकै उच्च भएको र माग बढ्दै गएको अर्गा्निक तरकारी तथा स्थानीय रैथानेबाली खेती गर्न चाहनेलाई १० लाखसम्म लोन दिने व्यवस्था हुँदै छ । कृषि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न पालिकामा विकास परियोजनाजस्ता कार्यक्रमहरू भिœयाइने उनले बताए ।

जिल्लाका युवा, युवतीमा बढ्दो बेरोजगारी तथा विदेश पलायनको समस्या समाधान गर्न सबै पालिकामा व्यावसायिक रूपमा अर्गा्निक तरकारी खेती प्रणाली अवलम्बन गर्ने कार्यक्रम सञ्चालन हुन जरुरी छ । आवश्यक ज्ञान, सीप, उपकरण तथा सहुलियतमा ऋणको व्यवस्था गरेर युवा जनशक्तिलाई पनि कृषि पेसामा आकर्षित गर्नसके नेपालकै पहिलो अर्गा्निक जिल्ला जुम्लाले तरकारी र अर्गा्निक कृषिउपज उत्पादन गरी सजिलै स्वदेश तथा विदेश निर्यात गर्न सक्ने देखिन्छ । जसले गर्दा व्यक्ति मात्र नभई जिल्ला र देशको अर्थतन्त्रमा समेत टेवा पुग्नेछ। भने कृषि उत्पादनमा पनि युवा पुस्ताको आकर्षण बढ्नेछ ।

तपाईको प्रतिक्रिया