कर्णालीमा के छ भनेर होइन, के छैन भनेर खोज्नुस्


हरिकृष्ण कुमाई, जुम्ला

राजधानी वा काठमाण्डौंमा बस्ने विवेक शिल मानिसहरुको नजर र मानसिकतामा जुम्ला एक अशिक्षा, गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ हो, भन्ने बुझाईरहेको छ । तर जुम्लामा पुग्दा ति मानिसहरु नै एकछिन राम्रोसँग साचेर मख्ख पर्छन् । जुम्ला त एक प्राकृतिकको भूस्वर्ग नै रहेछ । यहाँ जतिको स्वच्छ हावापानी र मानव बास्तीको लागि अन्त कहाँ मिल्ला यहाँको जस्तो उपयुक्त वातावरण भनेर उनिहरुले व्याख्या र विश्लेषण गर्ने गरेको मैले धेरै पाएको छु । नेपाली समाजमा एउटा उखान छ, ‘यदि सहयोग गर्न सकिदैन भने, बाधा पनि नगरिदिनु होला’ यस उखानले भन्न खोजेको जुम्लाको बारेमा राम्रो बोल्न सकिदैन भने जुम्लाको बारेमा नराम्रो कुरा पनि नबोल्नु हो । जुन यो भन्दा माथि उल्लेख गरेका विभिन्न उपनामले कर्णालीलाई चिनाइयो र चिनाउने प्रयास भयो, यो कर्णालीको लागि दुभाग्य नै हो । त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओ र आईएनजीओहरू नै हुन । कर्णालीको भव्यता र सभ्यतालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने । प्रदेशको नामकरण प्रदेश सभाको दुईतिहाई बहुमतको निर्णयबाट गरिएपछि अहिल्यैै ‘कर्णाली प्रदेश’ नाम राखिहाल्नुको पछाडि कतै नियोजित र सुनियोजित रूपमा यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट पे्ररित भएको देखिन्छ ।

जुम्ला एक भूस्वर्ग जस्तै प्राकुतिकको देन भएको जिल्ला पनि हो । त्यसमा पनि जैविक विविधताको धनि जिल्लामा भाषा, संस्कृति र सभ्यताको केन्द्रका साथै गौरवपूर्ण वीरताको विगतको इतिहास बोकेको जिल्ला छ । हुन त हरेक क्षेत्रका आ–आफ्नै विशेषता, इतिहास र गौरवका गाथासँगैै पीडा र दुःख पनि हुन्छन् नै । यो क्षेत्र मध्यकालिन सिंजा साम्राज्यको गौरवको विरासतको इतिहास, वौद्ध र हिन्दु धर्मको अनुपम् संगम, नेपाली भाषाको जननी भूमिका साथै वर्तमान र भविश्यको आशा लाग्दो उज्यालो बोकेको नेपालको सवै भन्दा ठुलो भूगोल पनि हो ।
देशकै सबैभन्दा ठूलो ताल रारा यहि जिल्लाको शिरानमा पर्दछ । जहाँ पुग्न नेपाली भाषा, सँस्कृति र सभ्यताको केन्द्र सिंजा उपत्यका छिचोलेर मुगु पुग्न सकिन्छ । रारा तालको सौन्दर्यमा डुवुल्की मारेर बारौं शताब्दि तिर विश्कै उच्च स्थानमा फल्ने कालिमार्सि धानको खेति गर्न सिकाउने सिद्ध पुरुष चन्दनाथ बाबाको मन्दिर जुम्लाको खलंगा बजारमा सजिलै दर्शन गरेर फर्किन सकिन्छ । ऋतुहरूका राजा वसन्त त्यसमा पनि चैतको अन्तिम साता देखि वैशाखको २० सम्म यस धर्तिमा स्याउ, आरू र ओखर फुल्ने समय हो । यहाँका पाखोवारिमा यी विरुवाहरूका फुलहरूले सुगन्ध फैलाई रहेका दृश्यले निकै नै मनमोहक हुन्छन् ।

तिब्वतमा स्याउ र आरू फुल्ने समयमा तिब्वतीहरू ‘…Peach and Apple Blossoming festival: Smell the spring in TibetÚ’ सोलोगन दिएर उत्सव नै मनाउँने गर्दछन् । हामि जुम्लीले पनि यस्तै नारा दिएर उत्सव मनाउन सक्छौं । आन्तरिक र वाह्यि पर्यटक भित्राउन सक्छौं ।
२०२४ साल आसपास तिर जुम्लामा स्याउका विरुवाहरू भित्रियका कुरा यहाँका बुढापाकाहरूबाट बुझिन्छ । त्यो बेला खासगरी खलंगा बजार आसपास र केहि गाउँतिर केहि बाठा मान्छेहरूले घर आगनमा दुई चार स्याउका बोट लगाएका थिए । यसले विस्तारीतरुप लिएको थिएन । विशेषगरी जुम्ला सम्म २०६१ सालमा ट्रायाक रोड खुलेपछि मात्र यहाँका किसानहरूले ओखर र स्याउ लगाउन तिव्रता दिएको देखिन्छ ।
२०७३÷०७४ को जिल्ला कृषि विकास कार्यालयको रेकर्ड हेर्ने हो भने ३,४५० हेक्टर जमिनमा स्याउ खेति लगाएको पाईन्छ । वास्तवमा यो गणना प्राविधिक रुपमा मात्र गणाना गरेको देखिन्छ । यस जिल्लाको विभिन्न गाउँ र वस्तिहरूका पाखोबारीमा स्याउ लगाएको तिव्रता देख्दा यो रेकर्डमा भएको भन्दा दोब्वर जमिनमा लगाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । सोहि आर्थिक वर्षमा जुम्लाले ५,५०० मेट्रिक टन स्याउ उत्पादन गरेको र १६ करोडको ताजा र पाङ्गारिक २,३५० मेट्रिक टन स्याउ निर्यात गरेको छ ।

त्यस्तै १,९५५ मेट्रिक टन सिमि उत्पादन गरेर १७ करोड ५५ लाखको सिमि, १,३५७ मेट्रिकटन ३ करोड ३९ लाखको आलु, ७ टन काली मार्सिधानको चामल, १० लाख ५० हजार र २ लाख ४० हजारको ५ टन जौ पशुपतिनाथ मन्दिरमा निर्यात गरेको देखिन्छ ।
२६,४३५ हेक्टर जमिनमा खेति गरिएको भए पनि सिंचित क्षेत्रफल केबल ३,२६९ हेक्टर मात्र छ । यसबाट के देखिन्छ भने यहाँको भूगोलमा जता ततै नजिकबाट नदिहरू बगेर गएको भए पनि सिचाई पु¥याउन सकिएको छैन । २०६४ सालमा जिल्ला विकास समितिको १४ औं जिल्ला परिषद्ले रासायनिक मल र रासायनिक विषादि मुक्त जिल्लाको रुपमा नीतिगत निर्णय गरेको छ । यसै त उच्चस्थानमा फल्ने यहाँको स्याउ लगायत अन्य तरकारी लगायत खाद्यान्न स्वस्थ कोटीहुनुका साथै पोषणतत्व वढि नै हुने गर्दछ ।

जिल्ला कृषि विकास कार्यालयको एक घर एक वगैंचा स्थापना गर्ने उदेश्य र गत साल मात्र लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना संचालित छ । यसकोे प्रभावपकारी कार्यन्वयन र प्रयाप्त बजेट नभएको देखिए पनि यसले किसानहरूलाई स्याउ, ओखर र सिमि खेति गर्न पे्ररित गरेको देखिन्छ । तर उत्पादन गरेर मात्र हुँदैन । सरकार र सम्वन्धित निकायहरूले यस क्षेत्रमा सिंचाई, समयमा नै पाँङ्गारिक मलको उपलब्धता र बनाउने वैज्ञानिक तरिका सिकाउने, संकलन केन्द्रहरूको स्थापना, कृषि विमा, किसानले उत्पादन गरेको उत्पादनको उचित मूल्यमा विक्रि गर्न बजारिकरण व्यवस्थापन आदिको सुनिश्चता गरिदिनु पर्दछ ।

…Nothing goes right if Agriculture goes wrongÚ’ भन्ने भनाईले सार्थकता पाउन । यहाँका वस्तिहरुको विन्यास पनि गजबले मिलायर वसाइएको छ । घरहरू माटोको दाडा (छानो) समथर खालका छन् । तर आज–भोली राज्य र स्थानियको कमजोरीका कारण यो आफ्नो मौलिकपना हराउँदै जान थालेका छन् । आधुनिकताको नाममा केहि विकृतिहरू पनि निम्तिरहेका छन् । तल नदी, नदीको आसपास जिउलो (खेत) त्यसभन्दा माथि घर घरवरिपरी पाखो वारी, त्यसभन्दा वरपर जंगल र जंगलभन्दा माथि साना ठूला चिटिक्क मिलेका पाटन (घाँस मैदानी चरण क्षेत्र) भएको यो क्षेत्र जडीबुटी क्षेत्रको भण्डार पनि हो ।


‘पाँचआालौ घुच्ची च्याउ संगै धरुलौ पाइन्छ यार्सागुम्वा बस मायालु बस’
‘यी जडिजुटीले हाम्रा धरुलौ पाटन हरावरा बस मायालु बस’
‘चिनी राख जडिबुटी धरुलौ जीवन बचाईन्छ बस मायालु बस’
‘क्यान्सर दबाई लाउन्या लउठ साल्ला धरुलौ जुम्लामा पाइन्छ बस मायालु बस’

भन्ने देउडा गीतयोक्ति परापूर्वकाल देखि आजपर्यन्त चलनचल्तिमा छन् । यहाँका पाखोवारी र पाटन तिर च्याखुरा र डाँफेहरू वसन्तको ऋतुसँगै नाचि खेलि रहेका देखिन्छन् । तर दुःखको कुरा आजका लोभिपापी मानिसका कारण तिव्ररुपमा मासिदै गैरहेका छन् । कर्णालीमा हजारौं किसिमका जडीबुटी र झारपातहरू पाइन्छन् । हिजोका हाम्रा पूर्खाहरूले प्रयोग गदै आएका थिए । आज हामीले कति त विर्सि पनि सक्यौं । पुन पहिचान गरौं । चासो राखौं । खोजौं र प्रयोग गरौं र अरुलाई पनि गर्न लगाउँ । योगी नरहरिनाथले भन्नु भएको छ त्यस्तो कुनै बोट र बुट्टयान छैन, जसमा कुनै औषधिको गुण नभएको नहोस् ।

अमिलो वा चुक साँदेर खाएको त हामी सबै नेपालीले देखे सुनेकै होउँला तर हिउँ साँदेर खाएको सायदै कमैलाई थाहा होला । चैत वैशाखमा यहाँका मानिसहरू घर गाउँ भन्दा टाडा लेखका खोल्सा खोल्सिमा पुस–माघमा परेको त्यो वासी हिउँ ल्याएर नुन, खुर्सानी र गुलियो हालेर साँदेर खान्छन् । जुन हिउँ खाँदा औषधिको रुपमा काम गर्छ भन्ने मान्यता र विश्वास छ । पंतिकारले पनि यस पटक मजैले साँदेर खायो । खाद्यान्नमा– चौं, गहुँ, उवा, चिनु, कागुनु, फापर, कालिमार्सि धान पर्दछन् । तेलहनमा सायद यहाँको जस्तो परिकार अन्त छैन होला । तेलहनमा– तोरी, ओखर, आरु, ढँटेलो, भाँगोबाट तेल बनाइन्छ । खानमिल्ने र औषधिजन्य च्याउ – घुच्चि, फयात्का, पिर्य, नगे्र, रातो च्याउ, ख्रसु च्याउ, देखि लिएर यार्चागुम्बा लगायतका च्याउहरू पाइन्छ । जसको मुल्य हजार देखि लाखौं रुपियांसम्म पर्दछ । यस्तै अनेत्र नपाइने औषद्यिजन्य सयौं किसिमका तरकारी र जंगली सागपातहरू पाईन्छ । यी विभिन्नप्रकारका चिजहरूको उचित संरक्षणका साथै अनधिकृतरुपमा संकलनको कारण र वातावरणिय प्रभावले दिनप्रतिदिन कमहुँदैगैरहेका छन् । यस्तो भूस्वर्गमा वसेका जुम्ली भाग्यमानी नै हुन् मध्यकालिन सिंजा साम्राज्यको वैभव र विरासतलाई छोड्ने हो भने विगत र वर्तमानमा जुम्लीवासीले धेरै दुःख र पीडा भोग्नु प¥यो र परेको छ । जुम्लीका भावी दिन सुनौला नै देखिन्छन् तर हामीहरूले केहि आफैलाई सुधार्नु छ । सकारात्मक सोचको विकास गर्नुछ । आफ्नो त्यो गौरवमय विरासत र वैभवको इतिहासलाई सम्झना र अनुसरण गर्नु पर्छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले त्यो अनुरुपको उचित नीति निर्माण, योजना र बजेटकासाथ अभिभावकत्व निर्भाह गर्नु पर्नेछ ।

नेपालका प्राय वस्तिहरूका जमिनहरू वाँजा रुखा र सुखा हुँदै गैरहेको छन् । यूवाहरूमा वाध्यता र विवशताकाले विदेश वा खाडिमुलुक तिर जाने डरलाग्दो सँस्कृतिको विकास भएको छ । कर्णालीमा खासै १० वर्षपहिला सम्म खाडीमुलुक जाने भन्ने कुरा थाहानै थिएन भन्दा पनि हुन्छ । आज यो विवशता र सँस्कृति यतातिर पनि सरेको छ । हाम्रा केही राजनीतिक दलहरू प्रजातान्त्रित समाजवाद र खुला अर्थतन्त्रको नाममा विगतमा स्थापित र राम्रो नतिजा प्रधान गरिरहेका ठूला उद्योग (चीनि, चामल, कपडा, जुट, जुत्ता, कृषि औजार, वायू सेवा, ट्रलि बस) आदि उद्योगलाई निजिकरणका नाममा टाट पल्टाउने काम गरे । साना घरेलु उद्योगहरू क्रमश विस्तापीत हुँदै र विदेशी बस्तु र सेवाहरू स्थापित हुँदै गैरहेका छन् । विदेशि उत्पादन समक्ष टिक्न सकेनन् राज्य अभिभावक विहिन वन्दा । बढ्दो बेरोजगारी समस्याको समाधान कसरी निस्कने भयो । राष्ट्रअनि सक्षम र बलियो कसरी बन्छ । यस्तै केही राजनीतिक दलहरू माक्र्सवाद र माओवाद जिन्दावाद ! सम्राज्यवाद र विस्तारवाद मुर्दावाद ! भन्ने कोरा नारा लगाउँन मै मस्त छन् । माक्र्सले त आफ्नै माक्र्सवाद बनाउँने भनेका छन् । आफ्नै माक्र्सवाद भनेको आफ्नो देश, काल, परिस्थिति अनुरुपको आफ्नो पन र मन भएको, धरातल र जगमा खुट्टा अडायको समाजिक, आर्थिक राजनीति, अर्थ राजनीति, नीति, बजेट र योजना निर्माण गरेर लागु गर्नु हो ।

हामीले विश्व नियालौं, हेरौ, पढौं र प्रविधि सिकौं । अभिभावकहरूले आफना छोरा छोरीहरूलाई आफुलाई चिन्न, आफ्नो पनलाई माझ्दै नराम्रालाई हटाएर राम्रा कुराहरूलाई अंगाल्दै जान प्रेरित गरौं । आफ्नो देश बुझ्न र घुम्न प्रेरित गरौं । शिक्षालय र शिक्षकले जुम्ला जस्ता गाउँ ठाउँ भ्रमण गराउन हौसला प्रदान गरम् । प्राध्यापक र अनुसन्धान कर्ताले यस्ता ठाउँको सामाजिक, साँस्कृतिक, आर्थिक क्षेत्रको अनुसन्धान गर्न र गराउन पे्ररित गराउँ वा बाटो देखाईदिउँ । स्थानिय अनुभवको सिकाइलाई औपचारीक शिक्षामा ढाल्दै प्रविधिको विकास गरौं । राज्य पनि यता तिर दृण्ढ भएर लागोस् ।

जुम्ला जस्तै अन्य क्षेत्रहरूको भ्रमण गरौं दुइ–चार रात यतै विताउँ । केही सिकेर जाउँ । केही सिकाएर जाउँ । अलिकति छोडेर जाउँ । अलिकति जोडेर जाउँ । थोरै लिएर जाऔ । थोरै दिएर जाऔं । नापा सोधेर जानौ । नापा खोजेर जानौं । केही चिनेर जाउला । केही चिनाएर जाउला । नेपाली भाषाको उद्गम स्थलका साथै प्राकृतीक सौन्दर्यले भरिपूर्ण र जैविक विविधताको धनि क्षत्रेको घुमफिर गर्दै यस खुल्ला विश्वविद्यालयमा विचरण गरी ज्ञान आर्जन गर्दा जीवन उपयोगी नै होला ।
स्याउ, ओखर फुलि सेतै छन् जुम्ला, आरू फुलि मस्किगया
पाटनमा भरिभराउ भएका जडिबुढी पहिचान नभई थन्किया
मेरै जुम्ला जिल्ला हिउँ परेको चाँदी जस्तो
अन्त कहाँ मिल्ला हावापानी यहाँको जस्तो
सुन्दर प्राकृतिकको अनुपम उपहार जुम्ला जिल्लामा के को सम्भावना छैन ? केन्द्रमा वस्ने विवेक शिल ज्ञानले पोख्त राज सत्ता वा देश चलाउने उच्च त्यसको व्यक्तित्वहरुलाई एक पटक सवै जुम्लीले जुम्ला र कर्णालीमा आउनको लागि निमन्त्रणा गरेका छन् । जुम्ला आउ, जुम्लामा भएको सम्भावनालाई निहाल, अनुसन्धान गर र कर्णालीले देशलाई पाल्न सक्ने स्रोत वन, जल, जंगल र जडिबुढीको सदुपयोग र उपभोग गर्नु पर्ने समय हाम्रोे हातमा नै आएको छ । अव केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले कर्णालीमा के छ ? भनेर हेर्ने होईन । सम्भावनाको खानी कर्णालीमा के छ, भनेर होईन । कर्णालीमा सुनको अण्डा होइन, हिरा र मोति छ । अव यहाँको हिरा र मोतिलाई कसरी सदुपयोग र उपभोग गर्न सकिन्छ र कर्णालीलाई समृद्धि बनाउने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस