जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता अनुसार संशोधन हुँदै जाने बताएका छन् । शनिबार प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै उनले टर्चमा व्याट्री सक्किएपछि फेरिए जस्तै संविधान पनि आवश्यकता अनुसार फेरिँदै जाने बताएका हुन् ।
उनले कसैको बहकाउमा आएर संविधान संशोधन नहुने स्पष्ट पारे। उनले संविधान गतिशील दस्तावेज भएको बताए। उनले भने, ’हामी कसैको बहकाउमा लाग्नु हुँदैन। संविधान आवश्यकता अनुसार संशोधन हुँदै जान्छ।’ उनले विभेदकारी मानसिकताबाट उठेर विभेदमुक्त हुनुपर्ने बताए।
यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका युवा विदेश जान नपर्ने आश्वासन दिएका छन्। सरकार आकर्षक रोजगारीको अवसर ल्याउने तयारीमा रहेको बताए। उनले भने, ’अब ठगिएर वा चोरीबाट युवा विदेशिनु पर्दैन।’
यसैगरी उनले सम्बोधनका क्रममा चर्चित सुन काण्ड पनि बोलका छन्। उनले सुन तस्कारी र यातायातमा भएको सिन्डिकेट हटाएरै छाड्ने बताए।
१ घण्टा भन्दा बढी समय सम्बोधन गरेका प्रधानमन्त्री ओलीले करिव दुई वर्षअघि तराइमा भएको हिंसात्मक घटनामा आफू र तत्कालको आफ्नो पार्टी एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पारे। तर तराईमा आफू र आफ्नो पार्टीको बद्नाम गरिएको बताए। उनले भने, ’जनु घटनामा मेरो र त्यो बेला मेरो पार्टी एमालेको संलग्नता नै थिएन। हामीबारे नकारात्मक टिप्पणी गरेर घृणा फैलाइयो।’
@kantipur online