
एसइईपछि प्राविधिक शिक्षा अध्ययनका लागि सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जानुपर्ने जुम्लाका विद्यार्थीको झमेला सकिने भएको छ । चार स्थानीय तहका विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा पढ्न पाउने भएका छन् ।
‘हाम्रा बालबालिकाले आफ्नै घरकै मीठो–मसिनो खाएर प्राविधिक शिक्षा पढ्न पाउन् भन्ने उद्देश्यले पढाइ गर्न लागेका हौँ,’ गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले भने । यही शैक्षिक सत्रदेखि पढाइ सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
गुठिचौरसँगै तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाले पनि प्राविधिक शिक्षा अध्ययनका लागि तयारी गरिरहेका छन् । यसका लागि चारै गाउँपालिकाले बजेट विनियोजनसमेत गरेका थिए । प्राविधिक शिक्षातर्फ विद्यार्थीको मोह बढ्दै गएको र त्यसका लागि बाहिर जानुपर्ने बाध्यता रहेकाले गाउँमै पढाइ गर्न लागिएको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।
यहाँका चारै स्थानीय तहले मातहतका विद्यालयमा प्राविधिक शिक्षाको पढाइ गर्न लागेका हुन् । यसका लागि ती विद्यालयले सम्बन्धन लिइसकेका छन् । अन्यत्रभन्दा गाउँकै विद्यालयमा पढाइ शुल्क पनि सस्तो हुने अध्यक्ष बोहराले बताए ।
पातारासीमा आइएस्सी–एजी
पातारासी गाउँपालिकाले सरस्वती माविमा आइएस्सी–एजीको पढाइ सुरु गरेको छ । बिहीबार गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले आइएस्सी–एजीको उद्घाटन गरेका छन् । निम्न वर्गका विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने अध्यक्ष बोहराले बताए । पहिलो शैक्षिक सत्रमा ४० विद्यार्थी भर्ना गरिने विद्यालयले जनाएको छ ।
कुन तहमा के पढाइ ?
तातोपानी गाउँपालिकाले कालिका मावि, ताम्तीमा बालीविज्ञान र हिमशिखर माविमा ओभरसियरको पढाइ गर्न लागेको हो । यसका लागि ३७ लाखमा छुट्टै भवन निर्माण गरिसकिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
कनकासुन्दरी गाउँपालिकाले कनकासुन्दरी माविमा पशुविज्ञानको पढाइ गर्दै छ भने पातारासी गाउँपालिकाले सरस्वती मावि, रिनीमा बालीविज्ञानको पढाइको तयारी गरेको छ । त्यस्तै, गुठीचौर गाउँपालिकाले त्रिभुवन माविमा बालीविज्ञानको पढाइ सञ्चालन गर्ने भएको छ ।
http://www.nayapatrikadaily.com/2018/08/24/86611/