कर्णालीकै ठूलो र लामो जात्रा शुरु (फोटो फिचर)


नन्दराम जैसी
जुम्ला । कर्णालीकै ठुलो र लामो जात्रा सोमबारबाट जिल्लामा शुरु भएको छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिन देखि शुरु हुने यो कर्णालीकै ठुलो र लामो जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ । दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्माशान्तिको कामना गर्दै सोमबार गाईजात्रा पर्व मनाइएको हो । चन्दननाथ नगरपालिकाबासी बिर्ष सुनार, ईन्द्रलाल सुनार, विष्णु कुमारी श्रेष्ठको घरबाट दिवंगत परीवारको सम्झना जात्रा निकालीएको थियो ।

पहिलो दिन सोमवार गाइजात्रा निकालीएको छ, भने दोस्रोदिन रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष तोरनसिंह कठायतले जानकारी दिए । यसैगरी तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र रमाइला आइटम तथा चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उनले बताए । भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भइ यहि भाद्र १७ गते परेको कृष्ण अष्टमिसम्म लगातार आठ दिनसम्म जात्रा मनाउने चलन छ । जात्राको अन्तिम रातभर जाग्राम बसेर जिल्ला भित्रका तथा बाहिरबाट जात्रा हेर्न आउने व्यक्तिहरुले स्थानिय देउडा खेल मार्फत वर्तमान परिवेश अनुसारको निकै सवाल जबाफ हुने गर्दछ ।

जात्रा समितिका उपाअध्यक्ष महेन्द्र कार्कीका अनुसार एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवरका सदस्यहरुको सम्झनामा प्रतिकको रुपमा मानिसलाई गाईको रुपमा सृंगारेर बजार परिक्रमा गराईएको हो । बजार परिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफुल दही, चिउरा दान गरेका थिए । यस्तै यो लाखे जात्रा अवधीभर लाखे नाच पनि नाच्ने चलन छ ।

लिच्छविकालमा मल्ल राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर सोमबार गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको पनि आयोजना भएका छन् ।

तपाईको प्रतिक्रिया