आर्थिक समृद्धिका लागि जुम्ला लगानी सम्मेलन हुदै

मानदत्त रावल

जुम्ला, जुम्लाको आर्थिक समृद्धिको लागि जुम्ला लगानी सम्मेलनको तीव्र तयारी भइरहेको छ । ‘विकास सामथ्र्यको उजागार’ भन्ने नाराका साथ भदौ २९ गते चन्दननाथ नगरपालिकाको पहलमा कर्णाली प्राविधिक शिक्षालयको हलमा लगानी सम्मेलनको तयारी भइरहेको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चन्दननाथ नगरपालिकाको संयुक्त आयोजनामा लगानी सम्मेलन हुन लागेको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् । लगानी सम्मेलनको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने छन् ।

जुम्ला लगानी सम्मेलनका विषयमा जानकारी गराउदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई

मेयर सेजुवालले भनिन्, अर्थमन्त्री ज्यूले दिएको समय अनुसार जुम्लामै पहिलो पटक लगानी सम्मेलन गर्न लागेका हो, यो नै यहाँको विकासको प्रतिबिम्ब सावित हुनेछ । लगानी सम्मेलन जुम्ला विकासको आधार हुनेछ, त्यसै आधारमा टेकेर यहाँको विकास अघि बढ्ने छ । अर्थमन्त्री खतिवडा सहित मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोग, विभिन्न देशका राजदुत, उद्योगी, व्यवसायी सबैलाई निमन्त्रणा गरिएको छ ।
आर्थिक समृद्धिका लागि लगानी सम्मेलन गर्ने योजना बनाएका छौँ, थोरै लगानीले धेरै काम गर्ने मनसायका साथ जुम्ला लगानी सम्मेलनको योजना भएको मेयर सेजुवालले बताईन्, ‘यो सम्मेलन मार्फत लगानी कर्ताको वेसलाइन सर्भे हुनेछ, जुम्लालाई चिनाउने एक संम्यन्त्रको रुपमा लिईन छ र संघिय सरकारले जुम्लालाई समान दृष्टिकोणले हेर्न सक्ने वातावरणको सिर्जना हुने छ ।’

जुम्लामा धेरै पर्यटकिय गन्तव्य छन, विभिन्न किसिमका जडिवुटी पनि छन, उनले भन्नि, ‘यिनै पर्यावरणीय बस्तुको प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन्, यो लगानी सम्मेलनको माध्यमबाट पर्यटकिय गन्तव्यको पहिचान गर्ने र यहाँ उत्पादित औषधीजन्य जडिवुटीको प्रशोधन र बजारीकरणमा सहयोग पुग्ने छ ।’ यहाँ आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय दृष्टिले धेरै सम्भावना छन, तिनै सम्भावनाको उजागार गर्ने केन्द्रका रुपमा जुम्ला लगानी सम्मेलनलाई लिइएको छ । लगानी सम्मेलनमा यहाँको यथार्थ बस्तुस्थितिलाई समावेश गरिएको कार्यपत्र प्रस्तुत गरिने छ । कार्यपत्र निर्माणका लागि जिल्लाका विशेषज्ञलाई परिचालन गरिएको छ ।

लगानी सम्मेलनमा ३ सय बढीको उपस्थिति रहने छ । सम्मेलनमा सहभागिताका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र उद्योगी व्यवसायीलाई निमन्त्रणा गरिएको छ । जुम्लामा एक नगरपालिका सहित ७ वटा गाउँपालिका छन् । सबै स्थानीय सरकारले यहाँको सम्भावना र विकासको खाका तयार गरेर प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस