लामो समयदेखि वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा


मानदत्त रावल

जुम्ला ः  हिमा गाउँपालिकाको -३ नम्बर वडामा लामो समयदेखि तालाबन्दी हुँदा सेवाग्राही मारमा परेका छन् । वडाको केन्द्र विवादका कारण गत साउन २५ गते स्थानीयले तालाबन्दी गरेका हुन् ।

वडा कार्यलयमा तालाबन्दी भएपछि स्थानीयले पाउने सेवासुविधा सिफारिस देखि अन्य विकास निर्माण कामकाज ठप्प भएको जोगीवडाका लालुनाथ योगीले बताए । वडा कार्यालयमा लामो समयसम्म तालाबन्दी हुँदा पनि गाउँपालिका प्रमुख तथा उपप्रमुखको ध्यानाकर्षण समेत नभएको उनले गुनासो गरे । सेवाग्राही सेवाबाट वञ्चित छन् तर पनि गाउँपालिका विवाद सुल्झाउने तर्फ कुनै चासो नदेखाएको काँग्रेसका युवा नेता लक्ष्मण शाहीले बताए ।

हिमा गाउँपालिका वडा नम्बर ३ अन्तर्गतका जोगीवाडा र च्यामा गाउँका नागरिकलाई बेवास्ता गरी मनोमानी ढंगले मोफ्ला गाउँबासीलाई मात्र सेवा सुविधामा पहुँच हुने गरी वडापालिका सारिएको भन्दै स्थानीयले तालाबन्दी गरेका थिए । तिन गाउँको केन्द्र विन्दु पर्ने च्यामा गाउँमा रहेको कार्यालय बहुमतको बलमा मोफ्ला सारिएको र सेवासुविधामा पक्षपात गरिएको च्यामा र जोगीवाडाका नागरिकहरुको आरोप छ ।

वडापालिकाको भवन निर्माणका लागि च्यामा गाउँमा जग्गा वडा पालिकाको नाममा रजिष्टेसन गरी नागरिकहरुकै पहलमा सिलान्यास गरिने संघर्ष समितिका सचिव राजेन्द्रनाथ योगीले बताए । पक्षपातपुर्ण व्यवहार त्यागी न्यायोचित व्यवहार गर्न र पारदर्शी र दिगो विकास गर्न वडा तथा गाउँपालिकाका पदाधिकारीहरुलाई उनले आग्रह समेत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले वडापालिकामा तालाबन्दी गर्नुपर्ने समस्या नहरेको बताए । यस विषयमा समस्या समाधानका लागि छलफल भईरहेको उनले जानकारी दिए । च्यामा गाउँको पोलाम भन्ने स्थानमा वडापालिकाको केन्द्र पर्छ र त्यही स्थानमा दुई तिहाई मतले केन्द्र छनौट गरी जग्गा पनि पास भएकोले च्यामा नै वडापालिकाको केन्द्र हुने प्रमुख शाहीले बताए । उनले भने व्यक्ति स्वार्थका कारण आम नागरिकले दुख दिने काम भएको छ च्यामा र जोगीवाडाका स्थानीय सहि माग राखेर तालावन्दी गरेका हुन् यो समस्या समाधान हुन्छ ।

तपाईको प्रतिक्रिया