
कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारले यस बर्ष बजेट कार्यन्वयनलाई पहिलो प्राथमिक्ता दिएको बताएका छन् ।
हुम्लामा मंगलबारदेखि सुरु पर्यटन महोत्सव उद्घाटन गरी बुधबार गृहजिल्ला कालिकोट आएका मुख्यमन्त्री शाहीले सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुखसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका मुख्यमन्त्री शाहीले कालिकोटलाई मुलुककै नमुना जिल्ला बनाउने गरी जनप्रतिनिधि र कर्मचारीहरुले काम गर्न आग्रह गरे ।
उनले गरिब, विकट र अभावको परिचयले चिनिने कर्णाली प्रदेशलाई धनी, समृद्ध, सम्पन्न प्रदेश बनाउन प्रदेश सरकारले विभिन्न योजनाहरु बनाइरहेको बताउँदै प्रदेश सरकारले यस बर्ष अध्यायन, अनुसन्धान र कानुन निर्माणको बर्षका रुपमा लिइएको बताए ।
उनले अहिलेको संरचना, कर्मचारी व्यवस्थापनको समस्या लगायतका कारण यस बर्ष बजेट कार्यन्वयनमा ठुलो चुनौती रहेको बताउँदै भएको बजेटलाई सफल कार्यन्वयन गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
उनले नगरपालिका प्रमुख, उपप्रमुख र गाँँउपालिका अध्यक्ष, उपाध्यक्षलाई लक्षित गर्दै भने, ‘तपाईँहरु विकास गर्नुस, बजेट जति सक्दो छिटो खर्च गर्नुस । विकासका लागि बजेट अभाव भए प्रदेश सरकारसँग माग्नुस’, उनले भने, ‘विकासका लागि बजेटको व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ ।’
उनले अहिले भइरहेको डोजर आंतकलाई लक्षित गर्दै नागरिकलाई थप गरिब हुने गरी स्थानीय सरकारललाई विकास नगर्न आग्रह गरे । उनले तराईका जिल्लाहरुमा समेत सबै घरहरुमा सडक पुर्याउन नसकिने बताउँदै पहाडी जिल्लामा सबैको घर आँगनमा सडक लान खोज्दा अन्य विपत्ति आउने सक्ने संकेत गरे ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढासहितको टोलीसहित कालिकोट आएका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशकै विकट कालिकोटलाई मुलुककै नमुना बनाउनुपर्ने बताए ।
‘स्थानीय सरकारका प्रमुखहरु सचेत हुनुस । अरुले मुख्यमन्त्रीको जिल्ला हो भन्छन्’, शाहीले भने, ‘केही फरक परिचय दिन आवश्यक छ ।’