जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा सुरु


जुम्लाका आठै स्थानीय तहमा बैंकिङ सेवा सुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा सुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पुराउने सरकारको योजना अनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् ।

अहिले सबै स्थानीय तहका योजना देखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ । पहिला दिनौँ पैदल हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता टरेपछि संघीयताको महसुश बैंकिङ सेवाले पनि गराएको तातोपानी गाउँपालिका स्थानीय रामकृष्ण न्यौपाने बताए ।

 

उनले भने, ‘सिंजाबाट सदरमुकाम पुग्न बास बस्नु पथ्र्याे तर, अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।’ सचिव सुरबहादुर रावतका अनुसार, लाखौँको रकम झोलामा बोक्नु पर्ने स्थिति स्थानीय तह आएपछि छुटेको छ । ‘ज्यानको जोखिम पनि घट्यो, गाउँमै बैकिङ सेवामा मिल्यो ।’ सबै कुराले सहज भएको उनको भनाई छ ।

कुन स्थानीय तहमा कुन बैंक
सदरमुकाम भन्दा सबै भन्दा टाढा रहेको कनकासुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा संचालनमा रहेको छ । जसले गर्दा पहिलेको योजना देखि आर्थिक कारोबारका लागि बास बस्नु पर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताए ।

त्यस्तै सिंजा गाउँपालिकामा नेपाल बंगालादेश बैंक, हिमा गाउँपालिकामा नेपाल ईनभेष्टमेन्ट बैंकका शाखा संचालनमा छन् । तिला गाउँपालिमा नविल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराईज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाडौँको शाखा संचालन भएको छ ।

पातारासी गाउँपालिकामा भने केही सामाग्रीहरु जोड्न बाँकी रहेकाले सेवा संचालनमा आउन सकेको छैन । नमुना गाउँपालिका बनाउने योजना अनुसार बैंकको स्थापनालाई पहिलो प्रथामिकता दिइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

तपाईको प्रतिक्रिया