जुम्लाका १० गाउँ छुईगोठ मुक्त

जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका दुई सय १८ गाउँबस्ती मध्ये १० गाउँबस्ती छुईगोठ मुक्त भएका छन् । तातोपानी गाउँपालिका– ५ को लाम्रा गाउँलाई मंगलबार छुईगोठ मुक्त घोषणा गरिएको छ । तातोपानी गाउँपालिकाको लाम्रा गाउँलाई १० औँ गाउँको रुपमा छुईगोठ मुक्त घोषणा गरिएको हो ।

यस अघि सोही गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छुईगोठ मुक्त घोषणा गरिसकेको छ । त्यसैगरी तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका – ५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ छुईगोठ मुक्त घोषणा भइसकेका छन् ।

लाम्रा गाउँका विभिन्न महिला समुह, संजाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन वक्स जस्ता गैरसरकारी संस्थाको विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै जाँदा अन्ध विश्वास न्युनिकरण हुदै गएको छ । तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याकाअनुसार अहिले महिलामा केही सचेतीकरणको विकास भएको छ, अझै पनि यस विषयमा स्थानीय तहदेखि सरोकारवाला निकायहरुले जोड दिनु खावश्यक छ ।

महिलाको सुरक्षादेखि रहेक विषयमा विशेष सहयोग गर्ने श्रीमान तथा परिवारलाई स्थानीयले तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी गाउँपालिका – ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताए । तीन सय ५० घरधुरी रहेको लामामा गाउँ मंगलबार औपचारिक रुपमा छुईगोठ मुक्त घोषणा गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँबासीले छुई नमान्ने प्रतिज्ञा गरेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस