चन्दननाथ, भैरवनाथ मन्दिरमा – ७५ फिटे नयाँ लिङ्गा

नन्दराम जैसी

जुम्ला  । कर्णाली प्रदेशको प्रशिद्ध धार्मिक पर्यटनको उद्गम स्थल जुम्लाको चन्दननाथ, भैरबनाथ मन्दिरमा धार्मिक परम्परा अनुसार नँया लिङ्गा खडा गरीएको छ । घटस्थापनाको अवसर पारी बुधबार चन्दननाथ मन्दिरमा खडा गरीएको ५२ हाते तथा करीब ७५ फिटको लिङ्गामा ५२ हातकै ध्वजा तथा नेजा बेरीएको छ । चन्दननाथ मन्दिरमा लिङ्गा खडा गरिसकेपछि मात्रै कर्णाली क्षेत्रमा घटास्थापना गर्ने प्रचलन अनुसार मन्दिरमा नँया लिङ्गा हालीएको हो । यो मन्दिरमा वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंङ्गा निकालेर नयाँ लिंङ्गा खडा गर्ने प्रचलन प्राचिन कालदेखि चलिआएको छ ।

एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा पनि ५२ हातको करीब ७५ फिटे लिंङ्गा र ५२ हातकै ध्वजा तथा नेजा राख्ने चलन रहेको सस्कृतविद् रमानन्द आचार्यले बताए । उनका अनुसार घटास्थापनाकै दिन चन्दननाथसँगै भैरवनाथ मन्दिरमा पनि ४८ हाते तथा करीब ७० फिटे लिङ्गामा ४८ हातकै ध्वजा तथा नेजा बेरेर नँया लिङ्गा खडा गरीएका छन् । सस्कृतविद् आचार्यले भने, ‘मन्दिरमा विजय स्तम्भसहित २ वटा लिङ्गा खडा गरिन्छ, चन्दन्नाथ मन्दिरमा लिंङ्गा खडा गरि सकेपछि मात्रै घरघरमा जमरा राखिन्छ ।’

नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गा खडा गरीएका हुन् । बुधबार बिहान ७ बजेपछि शुरु भएको पुराना लिङ्गा ढाल्ने र नयाँ लिङ्गा खडा गर्ने काम दिउसो चारबजे सकिएको छ । नयाँ लिङ्गा खडा गरीसकेपछि मन्दिरमा नवदुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गर्ने चलन छ । बुधबार रातिनै जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने प्रचलन अनुसार कालिमार्सि धानको नँया चामलको नुवागी बनाएर खाने गर्दछन् । स्थानीय धार्मिक अगुवा चित्रलाल श्रेष्ठका अनुसार जुम्लाको कालीमार्सी धान पनि घटस्थापनाकै दिनदेखि काट्न सुरु हुन्छ । विश्वकै अग्लो स्थानमा फल्ने कालीमार्सी धान पनि चन्दननाथ मन्दिरमा सिख चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने गरीन्छ । साथै घटस्थापनाकै दिनमा जिल्लाका सरकारी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, अदालत लगायतका कार्यालयहरुमा बोकाको बली दिएर नयाँ झण्डा फेर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस