दसैंमा मासुका परिकार बनाउने तरिका


दसैंलाई हर्ष र उल्लासको चाड मानिन्छ। विशेषगरी मासुका परिकारहरू दसैंमा धेरै पाक्ने गर्छन्। धेरैलाई पाककला आउँदैन। यहाँ मासुका परिकार बनाउने केही तरिका दिइएको छ । दसैंमा पकाइने मासुको परिकारअन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटनलगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। नेवारी समुदायमा हाँसको छोयला अत्यन्तै लोकप्रिय रहेको छ। सहरी क्षेत्रमा बफ छोयला नै बढी बिक्री हुन्छ। बफ, चिकन नचल्नेहरूका लागि मटन छोयला रोजाइमा पर्ने गरेको छ। जुनसुकै मासुको भएपछि छोयला बनाउने विधि भने एउटै रहेको छ।

आवश्यक सामग्री

मासु ः एक केजी

लसुन र अदुवाको पेस्ट ः १०० ग्राम

जिरा र धनियाँको धुलोः एक÷एक चम्चा

मरिचको धुलो ः आधा चम्चा

टिमुरको धुलो ः स्वादअनुसार

तोरीको तेलः ५० ग्राम

नुन, बेसार, हरियो खुर्सानी र हरियो लसुन, हरियो धनियाँ आवश्यकताअनुसार

बनाउने तरिका

मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने। तर डढाउनु भने हुन्न ।

पोलेर तयार भएको मासुमा उपलब्धै मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनियाँ, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वादअनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ।

मटन तास

आवश्यक साम्रगी

खसीको मासुः १ केजी

जिराको धुलोः २ चम्चा

बेसारः एक चम्चा

नुनः एक चम्चा

च्याख्ला खुर्सानीः ३ चम्चा

गरम मसलाः ३ चम्चा

अदुवा लसुनको पेस्टः एक पाउ

तोरीको तेलः १०० ग्राम

बिरेनुनः आधा चम्चा

बनाउने बिधि

आफ्नो रुचिअनुसारको साइजमा मासुको पिस बनाउने। मसला, तेल खुर्सानी, नुन, अदुवा र लसुनको पेस्टमा मासु मोलेर एक घन्टासम्म फ्रिजमा राख्ने। त्यसपछि तोरीको तेलमा फ्राई गर्ने। मासु रातो हुँदै गएपछि मसला र मासु छुट्टिन्छ। त्यसपछि मसला मात्रै निकाल्ने। मसला निकालिसकेपछि मासु मात्रै करिब १० मिनेट पुन फ्राई गर्ने। मटन तास तयार भयो। मूला, काँक्रो, गाजरको सलाद तयार पार्ने। टमाटरका अचार मिसाएर भुजासँग पनि तास खान सकिन्छ।

चिकेन सुकुटी

आवश्यक साम्रगी

चिकेन ब्रेस्टः १ केजी

तेलः १५० ग्राम

सुकेको खुर्सानी, नुन, टिमुरः स्वादअनुसार

बनाउने तरिका

कुखुराकोे छातीको मासुलाई मसिनो गरी लामो लामो साइजमा काट्ने। एकदेखि दुई दिनसम्म आगोमा सुकाउने। यसरी सुकाएको एक केजी मासु चार सय ग्राम जति मात्र सुकुटी तयार हुन्छ। सुकुटीलाई सानो सानो पिस बनाएर तोरीको तेलमा दुई तीन मिनेट मात्र फ्राई गर्ने। तयार भएको सुकुटीलाई आवश्यकता अनुसारको नुन, खुर्सानी र टिमुरको धुलो राखेर मोल्ने। स्वादअनुसार हरियो धनियाँ, खुर्सानीको टुक्रा र हरियो लसुन काटेर मिसाउन पनि सकिन्छ। यसलाई टमाटरको अचारसँग पनि खान सकिन्छ।

चाडबाडमा छिटो तयार गर्ने परिकारको रूपमा चिकेन सुकुटी फ्राई बनाउन सकिन्छ। सुकुटी बनाएर फ्रिजमा राखेर आवश्यकताअनुसार प्रयोग गर्न पनि सकिन्छ। रातो मासु खान नहुने र सुकुटी मन पराउनेहरूका लागि चिकेन सुकुटी उपयुक्त हुन्छ ।

तपाईको प्रतिक्रिया