डोजरको कमाई, जनप्रतिनिधिको रजाइँ


डोल्पा : त्रिपुरा सुन्दरी नगरपालिकाले डोजर चलाएर भएको आम्दानीबाट जनप्रतिनिधिलाई तलब खुवाएको छ ।

नगरपालिकाले नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा खरिद गरेको डोजरको कमाईबाटै जनप्रतिनिधिहरुलाई तलब दिइएको हो ।नगरका विकास आयोजनाहरुको काम गर्ने भनेर एक करोड रुपैंयामा खरिद गरिएको डोजर जनप्रतिनिधिको तलब खाने माध्यम बनेको हो ।

नगरको बिकासकालागि खरिद गरिएको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको भन्दै ब्यापक आलोचना समेत भएको छ ।

प्रदेश सरकारले स्थानीय निकायहरुको आन्तरिक स्रोत ब्यवस्थापन गर्न सकेमात्र जनप्रतिनिधिहरुलाई तलब खुवाउन सकिने निर्णय गरेको थियो । आफ्नो नगर क्षेत्रमा प्रभावकारी कर असुली तथा ब्यवस्थापनको स्थायी बाटो पहिल्याउन नसकेपनि नगरले डोजरको आम्दानीबाट जनप्रतिनिधिलाई तलब खुवाएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाले ०७५ साउनबाट लागु हुने गरि निर्वाचित जनप्रतिनिधिहरुलाई तलब खुवाएको हो ।
०७५ साउन देखि असोज सम्म तीन महिना र दशै पेश्की समेत गरेर चार महिनाको तलब खुवाइएको नगरपालिकाले जनाएको छ । ०७५ असार २३ मा सम्पन्न दोस्रो नगरसभाले भरपर्दो स्थायी आन्तरिक स्रोत भएमा तलब खुवाउने निर्णय गरेको थियो ।

नगरपालिकाले ११ वार्ड अध्यक्षलाई मासिक १९ हजारका दरले ८ लाख ३६ हजार ३९ सदस्यलाई मासिक ६ हजारका दरले ९ लाख ३६ हजार कार्यपालिकाका ८ जना सदस्यलाई मासिक ११ हजारका दरले ३ लाख ५२ हजार मेयरलाई ३४ हजारका दरले चार महिनाको १ लाख ३६ हजार र उपमेरलाई ३० हजारका दरले १ लाख २० हजार रुपैया निकासा गरि सम्बन्धित जनप्रतिनिधिहरुको खातामा जम्मा गरि दिएको नगरपालिका वार्ड १ का अध्यक्ष कर्मसिहँ थापाले बताए ।

वडा अध्यक्ष, मेयर, उपमेयर, सदस्य र कार्यपालिका सदस्य समेत गरि ६० जना जनप्रतिनिधिहरुले चार महिनाको तलब बापत २३ लाख ८० हजार रुपैंया लिईसकेका छन् ।

नगरपालिकाको वडा नम्बर ६ मा पर्ने खदाँग देखि ल्हाँ गाउँ सम्मको मोटरबाटो खने बापत प्रतिघन्टा दश हजारका दरले उठेको झण्डै २४ लाख रुपैंया नगरले जनप्रतिनिधिहरुलाई पारिश्रमिक भनेर खुवाएको हो ।

आन्तरिक स्रोतको राम्रो ब्यवस्थापन नभएको र जनताहरुले अत्यावश्यकीय योजनाहरुको माग गरिरहँदा बजेट छैन भनेर पन्छाई रहेको नगरले डोजर खरिद मूल्यनै नउठिरहेको अवस्थामा जनप्रतिनिधिहरुले तलब लिनु लज्जास्पद भएको कांग्रेसका महासमिति सदस्य गौरीशंकर उपाध्यायले बताए ।

डोजरको कमाई, जनप्रतिनिधिको रजाइँ

 

तपाईको प्रतिक्रिया